बंगलादेशबाट अधिकतम लाभ लिनुस् : राष्ट्रपति हमिद

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाललाई बंगलादेशबाट अधिकतम लाभ लिन आग्रह गरेका छन् ।

बंगलादेशबाट अधिकतम लाभ लिनुस् : राष्ट्रपति हमिद

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा मंगलबार काठमाडौं उत्रिएका राष्ट्रपति हमिदले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्तामा नेपाल र बंगलादेश घनिष्ठ मित्र भएको उल्लेख गर्दै त्यसको अधिकतम फाइदा लिन आग्रह गरेका हुन् ।


मन्त्री ज्ञवालीले राष्ट्रपति हमिदसँग व्यापार प्रवर्द्धन, पर्यटन लगायतका विषयमा कुरा भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति हमिदले नेपाल सरकारको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ मा बंगलादेश सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

‘बंगलादेश र नेपाल मिलेर सार्क र बिमस्केट जस्ता क्षेत्रीय संगठनसहित संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थामा घनिष्ठता बढाउनुपर्ने उहाँले बताउनुभयो,’ ज्ञवालीले कान्तिपुरसित भने ।


मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति हमिदले बंगलादेशको स्वतन्त्र संग्राममा नेपालले पुर्‍याएको सहयोगलाई धन्यवाद दिएका थिए । बंगलादेशलाई नयाँ मुलुकको रुपमा मान्यता दिने सातौं मुलुक नेपाल रहेकामा पनि उनले खुसी व्यक्त गरेका थिए । मन्त्री ज्ञवालीले राष्ट्रपति हमिदलाई नेपाल सरकारले अप्रिलमा गर्न लागेको सगरमाथा संवादमा जलवायु परिवर्तनजस्ता साझा मुद्दामा सहकार्य गर्न अनुरोध गरेको बताए ।


मन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुदन ज्ञवालीकाअनुसार दुई पक्षीय भेटमा राष्ट्रपति हमिदले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न बंगलादेशले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । उनकाअनुसार हमिदले नेपाल सुन्दर मुलुक र बुद्धको जन्मभूमि भएको उल्लेख गर्दै धेरै बंगलादेशीहरूले नेपालको भ्रमण गर्ने बताएका थिए ।


राष्ट्रपति हमिदलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् । लगतै हमिदलाई विमानस्थलमा नेपाली सेनाको टुकडीले गार्ड अफ अनरसहित सम्मान दिएको थियो । नक्सालस्थित मरियट होटलमा बसेका राष्ट्रपति हमिदले मंगलबार काठमाडौं आएपछि भक्तपुरको दरबार क्षेत्रको पनि भ्रमण गरे । उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


उनी बिहीबार पोखरा र शुक्रबार चन्द्रागिरी जाने कार्यक्रम रहेको छ । बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए । ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रही आएका थिए ।


राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा राष्ट्रपति हमिद मंगलबार विमान बंगलादेशबाट विशेष उडानबाट काठमाडौं उत्रिएका हुन् ।

प्रकाशित : कार्तिक २६, २०७६ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?