भारतसँग परिणाममुखी वार्ता थाल्न कांग्रेसको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले कालापानी क्षेत्रमा अतिक्रमित नेपाली भूभाग फिर्ता लिनका लागि भारतसँग तत्काल परिणाममुखी वार्ता गर्न सरकारसँग आग्रह गरेको छ ।

भारतसँग परिणाममुखी वार्ता थाल्न कांग्रेसको आग्रह

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक र कूटनीतिक माध्यमबाट भारतसँग वार्ता गर्नुपर्नेमा जोड दिए ।


कालापानीको विषयमा मुलुक एक ढिक्का बनिरहेका बेला भारतसँग सीमासम्बन्धी विवाद समाधानका लागि प्रधानमन्त्री तहको वार्तामा ढिलाइ गर्न नहुने कांग्रेसको धारणा छ । गत शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले उच्च कूटनीतिक क्षमता प्रदर्शन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।


राष्ट्रियतासँग जोडिएका विषयमा सरकारले गर्ने हरेक पहलकदमीलाई साथ र सहयोग दिने प्रतिबद्धता दोहोर्‌याउँदै कांग्रेसले प्रधानमन्त्रीको पहल व्यवहारमा हेर्न चाहेको उल्लेख गरेको छ । ‘सरकारले गर्ने पहललाई हामी सतर्कतापूर्वक नियालिरहेका छौं,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता निर्माण भएको यो कालखण्डमा परिणाममुखी पहल गर्न सरकार समर्थ हुनुपर्ने र हुने विश्वास नेपाली कांग्रेसले लिएको छ ।’


कांग्रेसले कालापानीमा भएको भारतीय अतिक्रमण, चिकित्सा शिक्षा सुधारको माग राखेर डडेलधुरामा अनशन बसेका डा. गोविन्द केसी र आसन्न उपनिर्वाचनको विषयमाथि पत्रकार सम्मेलन गरेको थियो । प्रवक्ता शर्माले सबै राजनीतिक दलले बल पास दिइसकेको अवस्थामा प्रधानमन्त्री कसरी अघि बढ्छन् भनेर कांग्रेसले नियालिरहेको बताए । ‘अब जिम्मेवारी प्रधानमन्त्रीको टेबुलमा छ, बल प्रधानमन्त्रीको खुट्टामा छ,’ उनले भने, ‘प्रधानमन्त्रीले बल कसरी अघि बढाउनुहुन्छ भनेर सबैले हेरिरहेका छन् ।’


प्रवक्ता शर्माले राष्ट्रियता, संघीयता, लोकतन्त्र र समृद्धिको सवालमा कांग्रेस कहिल्यै विपक्षी नहुने बताए । ‘कालापानीको विषयमा पनि कांग्रेसले प्रतिपक्षभन्दा माथि उठेर आफ्नो जिम्मेवारी प्रदर्शन गरेको छ,’ उनले थपे, ‘भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कांग्रेसको प्रस्ट विमति थियो, छ र रहनेछ ।’


कांग्रेसले डा. केसीले उठाएका माग सम्बोधन गर्नलाई तत्काल वार्ता टोली गठन गर्न माग गरेको छ । कांग्रेसले डा. केसीको जीवनरक्षाप्रति संवेदनशील नभएको भन्दै सरकारको आलोचना गरेको छ । अनशन तोडिनअघि नै पत्रकार सम्मेलन भएको थियो । साँझ डा. केसीले अनशन स्थगित गरेका छन् । शुल्कको विषयलाई लिएर मेडिकल कलेजका विद्यार्थीले उठाएको मागप्रति संवेदनशील हुन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । ‘विद्यार्थीको आन्दोलनलाई गम्भीरतापूर्वक लिई समस्या समाधान गर्न सरकार असफल हुनु दुःखद छ,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘समस्याको विवेकसम्मत हल खोज्न र तनावमुक्त वातावरणमा पढ्ने व्यवस्था मिलाउनका लागि तत्काल प्रभावकारी पहल गर्न सरकारलाई आग्रह गर्छौं ।’


‘आचारसंहिता उल्लंघन’

कांग्रेसले प्रदेश प्रमुख हटाएर सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको दाबी गरेको छ । सरकारको यो निर्णयप्रति निर्वाचन आयोगले समेत निरीहता प्रकट गरेको कांग्रेसको आरोप छ । ‘निर्वाचन आयोगसँग पूर्वसहमति लिएर अत्यावश्यक निर्णय लिन मिल्ने आवश्यकताको सिद्धान्त आकर्षित भएको नदेखिनु तर निर्वाचन आयोग जस्तो साझा संवैधानिक निकायले निरीहता प्रकट गर्नुलाई आगामी दिनको लोकतान्त्रिक अभ्यासका लागि सुखद संकेत मान्न सकिन्न,’ कांग्रेसले विज्ञप्तिमा भनेको छ ।


निर्वाचन आयोगको प्रस्टोक्तिसमेत निर्वाचन आचारसंहितविपरीत रहेको कांग्रेसको भनाइ छ । ‘आचारसंहिता आचार र व्यवहारसँग सम्बन्धित नैतिक दायराको बन्दोबस्त हो,’ विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता लागू भएपछि रिक्त पदसमेत पूर्ति गर्न नपाइने प्रस्ट व्यवस्था उल्लेख हुँदाहुँदै निर्वाचन आयोगले प्रदेश प्रमुखहरू बर्खास्त प्रकरणमा एकांगी धारणा सार्वजनिक गर्नु आपत्तिजनक छ ।’


यसबारे पार्टीका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको उपनिर्वाचन अनुगमन समितिले निर्वाचन आयोगको नेतृत्वलाई भेटेरै ध्यानाकर्षण गराउने कांग्रेसले जनाएको छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?