१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आलम प्रकरण : साक्षीलाई बन्धक बनाई बयान फेर्न लगाइयो

शिव पुरी

रौतहट — राजपुर बमकाण्डको मुद्दा अदालतमा थुनछेक बहस चलिरहेको बेला घटनाका साक्षीहरुलाई अपहरण र त्रासमा पारेर बयान फेर्न लगाइएको खुलासा भएको छ । राजपुर घटनाका घाइते भारतीय नागरिक गौरशंकर रामलाई आलम पक्षका 'मानिस' ले बन्धक बनाई बयान फेर्न लगाईएको मंगलबार खुलासा भएको हो । अन्य साक्षीलाई समेत धम्की दिइन थालिएको प्रहरीले जनाएको छ । राम अहिले प्रहरीको शरणमा पुगेका छन् ।  

आलम प्रकरण : साक्षीलाई बन्धक बनाई बयान फेर्न लगाइयो

भारतको बिहार सितामाढी घर भएका रामको बयान फेरिएको निवेदन बोकेर सोमबार अभिवक्ता श्रीवास्तव न्यायाधीश दिपक ढकालको इजलासमा पुगेका थिए । उनी प्रहरीको अनुसन्धानमा दह्रो साक्षीको रुपमा छन् । आलमका मानिसले अपहरण शैलीमा लगेर बयान फेर्न लगाएको रामले बताए । घटनाको यथार्थ बताउँदा आफूले आलम पक्षका मानिसबाट धम्की र अपहरणको शिकार बन्नु परेको सुनाए । ‘आलमका मानिस आएर घरबाट लगेर चार दिनसम्म धम्क्याए । बयान फेर्न भने । पैसाको लोभ देखाए,’उनले भने, ‘अदालतमा बयान फेरेको सत्य होइन । म स्टोभ पड्केर घाइते भएको होइन । राजपुर घटनामै परेर घाइते भएको हुँ ।’


घरमा बसिरहेको बेला चारजना गाडी लिएर रामको घर पुगेका थिए । केही कुरा गर्नुछ भनेर गाडीमा राखेर भारतकै सिमर लगे । चार दिनसम्म बन्धक बनाए । केही कागजमा सही गराए । ‘मेरो आधार कार्ड पनि लगे । सितामढीबाट केके कागज बनाएर ल्याए मलाई थाहा छैन,’ त्रासको त्यो दिनबारे सुनाउँदै रामले भने, ‘विस्फोटमा परेको होइन भनेर लेखिएको कागजमा हस्ताक्षर गराए ।’


घटनाबारे सुनाउँदा उनी अहिले पनि डराउँछन् । आलमका मानिसले मोटरसाइकलमा राखेर रौतहट ल्याएका थिए । उनलाई बन्धक बनाई बयान फेर्ने सर्त गरिएको रहेछ । उनले सर्त कबुले । बयान फेरिएको कागजमा सही गर्न लगाएर अदालतमा लगे । रामको तर्फबाट अदालतमा पेश भएको निवेदनमा आफूलाई बम विस्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । बम विस्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको झुठो विवरण लेखाई उनलाई त्रासमा सही गर्न लगाइएको खुलेको छ ।


२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा कांग्रेस नेता आलम पक्राउ परेका हुन् । उनीविरुद्धको कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको तीनवटा कसुरमा मुद्दा चलि थुनछेक बहस भइरहेको छ । थुनछेक बहस सकिन नपाउँदै आलम पक्षका मानिसले साक्षीहरुलाई धम्क्याएर बयान फेर्न लगाएका छन् ।


आफूलाई असुरक्षित महसुस गरेका राम अहिले जिल्ला प्रहरीको शरणमा छन् । उनले आलम पक्षका मानिसबाट ज्यान खतरामा परेको भन्दै प्रहरीमा निवेदन समेत दिएका छन् । दुई साताअघि रामले अनुसन्धानको क्रममा आफू राजपुर फरदहवामा चैत २७ गते साँझ बम विस्फोट हुँदा घाइते भएको लिखित बयान दिएका थिए । जुनसुकै मुद्दामा साक्षी होस्टाइललाई आरोपीले आर्थिक प्रलोभन, डर, त्रासलगायत विभिन्न हतकण्डा अपनाएर आफू जोगिने हतियारको रुपमा प्रयोग गर्न खोज्छन् । राजपुर बमकाण्डको घटनाको पछिल्लो घटनाले यही देखाएको छ । जिल्ला न्यायाधिवक्त खडिन्द्रराज कटवालले अदालतमा थुनछेक बहस चलिरहेको बेला साक्षीले दबाब गरेको होस्टाइल निवेदनले कुनै अर्थ नराख्ने बताए ।

प्रकाशित : कार्तिक २६, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?