गुमेको नेपाली भूमि फिर्ता लिने ऐतिहासिक अवसर आएको छ : दाहाल

‘उपचुनावले पार्टीको राप र ताप देखाउँछ’
कान्तिपुर संवाददाता

चितवन — सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘लिम्पियाधुरा नै काली नदीको मुहान हो’ भनेर राष्ट्रिय सहमति बन्नु खुसीको विषय भएको बताएका छन् । मंगलबार भरतपुरमा आयोजना भएको पार्टीको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा चितवन–३ का सासंदसमेत रहेका दाहालले भने, ‘जुन राष्ट्रिय एकता र सहमति बन्यो यसले गुमेको भूमि फिर्ता लिने ऐतिहासिक अवसर आएको छ ।’

भारतले औपचारिक रुपमा नै आफ्नो नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी क्षेत्र र काली नदीको मुहान लिम्पियाधुरा राखेपछि नकारात्मक र चुनौतीपूर्ण स्थिती देशभक्त नेपाली सामु खडा भएको उनले बताए । ‘नकारात्मक कुरालाई सकारात्मक बनाउने चुनौतीलाई हामीले स्वीकार गरेका छौं । लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली पूर्व नेपाल र पश्चिम भारत हो । हामी अरु कुरा मान्दैनौं,’ दाहालले भने ।

उनले १८१६ को सुगौली सन्धी, त्यसपछिका चिठ्ठीपत्र र सुगौली सन्धीपछि छापिएको औपचारिक र वैधानिक नक्समा लिम्पियाधुरालाई नै काली नदीको मुहान मानिएको बताए । ‘काली नदी नै सीमा नदी भनेको हुँदा ऐतिहासिक तथ्य, तर्क र दस्तावेजले नेपालको भुमि र भारतको भूमि कुन हो र कति हो भन्ने कुरा प्रमाणित गरेको छ,’ दाहालले भने । यस तथ्यमा राष्ट्रिय सहमति र एकता हुनु खुसी र गर्वको कुरा भएको उनले बताए ।

नेपाल र भारतमा शक्तिशाली सरकार भएको र सिंगो नेपाल एकजुट भएको बेला नेपाली भूमि फिर्ता लिने अवसर निर्माण भएको उनले बताए । ‘यही समय हो हामीले हाम्रो राष्ट्रको एकतालाई, भौगोलिक अखण्डतालाई र नेपालीको सार्वभौमसत्तालाई सम्मानित गर्ने । यति राम्रो अवसर फेरी प्राप्त हुँदैन,’ दाहालले भने ।

भरतपुर महानगरपालिकाका वडा कमिटिका पदाधीकारीहरुको सपथ ग्रहण कार्यक्रममा भाग लिन उनी भरतपुर आएका छन् ।

‘उपचुनावले पार्टीको राप र ताप देखाउँछ’
मंसिर १४ गते हुने उपनिर्वाचनमा चितवनमा पनि खैरहनीका दुईवटा वडा र भरतपुर महानगरपालिकाको एउटा वडामा चुनाव हुँदैछ । चुनावका बेलामा पार्टी कार्यकर्ताहरु एकजुट भएर लाग्न उनले निर्देशन दिए ।

‘यो चुनाव चानुचुने हो भन्ने नठान्नु होला । यो चुनाव थर्मामिटर र ब्यारामिटर जस्तै हो । यसले हाम्रो पार्टीको ताप र चाप कस्तो छ भन्ने नाप्दै छ । हाम्रो पार्टीको लोकप्रियता घट्दो बढ्दो के छ, त्यो पनि टेस्ट गर्छ,’ दाहालले भने ।

यो चुनावले आउने चुनावका लागि पनि ठुलो सन्देश दिने उनले बताए ।

‘आउँदो दुई तीन वर्षपछि स्थानीय तह, प्रदेश र संघीय चुनाव हुन्छ । त्यो निर्वाचनका लागि यो उपचुनावले बलियो सन्देश दिँदै छ । हाम्रो पार्टी एकताको तागतलाई यसले राम्रोसँग प्रतिविम्बित गर्नेवाला छ,’ दाहालले भने । एकतावद्ध भएर रात दिन खटे चुनाव जित्ने सम्भावना रहेको उनले बताए ।

प्रकाशित : कार्तिक २६, २०७६ १५:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रौतहटस्थित सीमा प्रहरी चौकीमा ‘भारतीय’द्वारा बम विस्फोट, एक प्रहरी जवान घाइते

सीमाक्षेत्रमा उच्च सतर्कता
शिव पुरी

रौतहट — रौतहटको इशनाथ नगरपालिका–४ मा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो साढे १२ बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चौकीमा सेन्ट्री बसेका प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनलाई बमको छर्राले समान्य चोट लागेको छ । 

बम प्रहार गरेर बीआर०५एच६५०९ नम्बरको मोटरसाइकलमा भाग्दै गरेका भारतीय नागरिक चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट गराएर भाग्दै गरेका भारतको विहार राज्यस्थित ढाकाका कुमारलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई सोही चौकीमा कार्यरत सुरक्षाकर्मीले पक्राउ गरेको हुन् ।

चौकीमा बम विस्फोट भएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले पुष्टि गरेका छन् । ‘चौकीमा बम प्रहार गर्दा एक जवान घाइते भए,’ उनले भने, ‘बम फालेर भागेका भारतीय नागरिकलाई पक्रन सफल भएका छौं । उनी बारे अनुसन्धान भइरहेको छ ।’ एसपी खत्रीका अनुसार विस्फोटमा संलग्न अर्का एकजना भने फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

घटना पछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनास्थलतर्फ जिल्लाबाट थप मद्धत टोली पठाइएको छ । चौकीमा प्रहरी सहायक निरिक्षक (असई) को कमाण्डमा ११ जना सुरक्षाकर्मी तैनाथ थिए ।

प्रकाशित : कार्तिक २६, २०७६ १५:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT