रौतहटस्थित सीमा प्रहरी चौकीमा ‘भारतीय’द्वारा बम विस्फोट, एक प्रहरी जवान घाइते

सीमाक्षेत्रमा उच्च सतर्कता
शिव पुरी

रौतहट — रौतहटको इशनाथ नगरपालिका–४ मा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो साढे १२ बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चौकीमा सेन्ट्री बसेका प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनलाई बमको छर्राले समान्य चोट लागेको छ । 

बम प्रहार गरेर बीआर०५एच६५०९ नम्बरको मोटरसाइकलमा भाग्दै गरेका भारतीय नागरिक चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट गराएर भाग्दै गरेका भारतको विहार राज्यस्थित ढाकाका कुमारलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई सोही चौकीमा कार्यरत सुरक्षाकर्मीले पक्राउ गरेको हुन् ।

चौकीमा बम विस्फोट भएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले पुष्टि गरेका छन् । ‘चौकीमा बम प्रहार गर्दा एक जवान घाइते भए,’ उनले भने, ‘बम फालेर भागेका भारतीय नागरिकलाई पक्रन सफल भएका छौं । उनी बारे अनुसन्धान भइरहेको छ ।’ एसपी खत्रीका अनुसार विस्फोटमा संलग्न अर्का एकजना भने फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

घटना पछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनास्थलतर्फ जिल्लाबाट थप मद्धत टोली पठाइएको छ । चौकीमा प्रहरी सहायक निरिक्षक (असई) को कमाण्डमा ११ जना सुरक्षाकर्मी तैनाथ थिए ।

प्रकाशित : कार्तिक २६, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सरकारले पठाएको फिजिसियनबाट डा‍. केसीले उपचार गराउन मानेनन्, डडेलधुरा अस्पतालका मेसु भन्छन्- 'तत्काल सुविधासम्पन्न अस्पतालमा लानुपर्छ'

डीआर पन्त

(डडेलधुरा) — १७ औं अनसनको नवौं दिनमा डा. गोविन्द केसीले थप उपचार गर्न अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयले डा. केसीको उपचारका लागि पठाएको चिकित्सबाट थप उपचार नगर्ने भन्दै उनले विरोध गरेका छन् । 

डडेल्धुरा अस्पतालका मेसु डा. जितेन्द्र कँडेलका अनुसार स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालबाट फिजिसियन डा. राजेश मण्डललाई थप उपचारका लागि भनि पठाएको भएपनि डा. केसीले उनीबाट उपचार गराउन मानेका छैनन्।

‘स्वास्थ्य अवस्थामा अत्यन्तै कमजोर भएर पनि अन्यत्र उपचार गर्न जान मान्नु भएको छैन,’ डडेल्धुरा अस्पतालमा मेसु डा. कँडेलले भने, ‘स्रोतसाधान भएको ठाउँ तत्कालै स्थानान्तरण गर्नुपर्छ। यहाँ नै राखियो भने कुनैपनि बेला ज्यान जानै जाने खतरा रहन्छ।’

आफ्ना माग पुरा नहुँदासम्म कुनैपनि उपचार नगर्ने भन्दै सरकारले आफ्ना मागका विषयमा उदाशिन भएको आरोप लगाएका छन्। अनशनको नवौं दिनमा आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्थामा अत्यन्तै नाजुक भएको उनको रेखदखमा संलग्न डा. तोसिमा कार्कीले बताइन्।

‘उहााको शरिरमा पानी र चिनीको मात्रै अत्यन्तै कम भइसकेको छ,’ डाक्टर कार्कीले भनिन्, ‘कुनैपनि बेला डाक्टर केसीको स्वास्थ्यमा गम्भिर समस्या आउन सक्छ।’

हिजो सोमबार डा. केसीलाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा लानका लागि आएको सेनाको हेलिकोप्टर रित्तै फर्किएको थियो। डा. केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयले पनि उनको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको थियो।

प्रकाशित : कार्तिक २६, २०७६ १५:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT