पूर्वप्रधानमन्त्री दाहालले गरे विश्व रेञ्जर सम्मेलन उद्घाटन

रमेशकुमार पौडेल

चितवन — नेपाल सरकार र अन्तर्राष्ट्रिय रेन्जर फेडेरेसन (आईआरएफ)को आयोजनामा मंगलबारदेखि सौराहामा नवौं विश्व रेञ्जर सम्मेलन सुरु भएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले गरे विश्व रेञ्जर सम्मेलन उद्घाटन

५ दिनसम्म चल्ने सम्मेलन उद्घाटन पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरे । सम्मेलनमा ७२ देशका ५५० जना सहभागी भएको कार्यक्रमका संयोजक रहेका वन मन्त्रालयमा कार्यरत सहसचिव महेश्वर ढकालले जानकारी दिए ।


वन्य, वन्यजन्तु र प्राकृतिक स्रोतहरुको संरक्षणका लागि अघिल्लो पंक्तिमा कार्यरत रेञ्जरहरुको विश्वव्यापी साझा मुद्दाहरुमा छलफल गर्न ३ वर्षको अन्तरालमा यस्तो भेला हुने गरेको छ । सन् १९९५ मा पहिलो पटक आयोजना भएको काँग्रेस एसिया महादेशमा पहिलो पटक भएको सहसचिव ढकालले बताए । वन वन्यजन्तु संरक्षणमा नेपाल र चितवनमा उदाहरणीय कामहरु भएका छन् ।


बढ्दो जनसंख्या, आर्थिक गतिविध र पूर्वाधार निर्माणको तिब्रताका कारण वन र जैविक विधिधतामा संरक्षणमा चुनौतीहरु बढ्दै गएको पूर्वप्रधानमन्त्री दाहालको धारणा थियो । वन्यजन्तु र वन पैदावरको चोरी सिकार र अवैध व्यापार पनि समस्याको रुपमा रहेको उनले बताए ।


जलवायु परिवर्तनले पर्यावरण र प्रजातिमा संकट थपेको पनि दाहालले बताए । यस्ता यावत समस्या निराकरण गर्ने उपाय निकाल्न अनुभव आदनप्रदान हुनु पर्ने बताए । ‘यो काँग्रेसमा सहभागी सबै रेञ्जरहरु, अन्य विज्ञ, व्यवस्थापक, नीति निर्माता तथा अनुसन्धानदाताहरुलाई आफ्ना उत्कृष्ट कार्यहरुको अनुभव आदनप्रदान गर्न म आग्रह गर्दछु । यसले प्रकृति संरक्षण गर्ने हामी सबैको लक्ष्यमा योगदान गर्ने छ’ दाहालको भनाइ थियो । नेपालले सामुदायिक वन र चोरी सिकार नियन्त्रणमा ठूलो सफलता पाएको अधिकारीहरुले बताए । यस्ता विषयहरु विश्वका अरु सहभागिलाई पनि ज्ञानवर्द्धक हुने छ ।


‘हामीले प्रविधि र अनुसन्धानको क्षेत्रमा धेरै कुरा सिक्न आवश्यक छ । यो काँग्रेसले यसमा सहयोग गर्ने छ’ वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले भने । संरक्षित क्षेत्रसँग र स्थानीय तथा रैथाने बासिन्दा जोडिएर बसेका छन् ।

संरक्षणले सबैलाई फाइदा पुर्‍याउने विषयमा सम्मेलनमा छलफल गरेर चितवन घोषणापत्र जारी हुने छ । आईआरएफका अध्यक्ष सन विलमोरले चोरी सिकार नियन्त्रणमा नेपालले पाएको सफल्ता विश्वका रेञ्जरहरुका लागि सिक्नयोग्य काम भएको बताए ।

प्रकाशित : कार्तिक २६, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?