अतिरिक्त रकम फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको पुनः अल्टिमेटम

सुदीप कैनी

काठमाडौँ — विद्यार्थीसँग उठाएको अतिरिक्त रकम फिर्ता गर्न सरकारले निजी मेडिकल कलेजलाई पुनः १५ दिनको म्याद दिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तोकिएको समयभित्र रकम नफर्काए कलेज सञ्चालकलाई कारबाही गरिने बताए ।

यसअघि पनि मन्त्रालयले कलेजहरूलाई पटकपटक ताकेता गरिसकेको छ । शुल्क फिर्ता वा समायोजनको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय र चिकित्सा शिक्षा आयोगमा पत्राचार गरिएको मन्त्री पोखरेलले जानकारी दिए । ‘अब पनि शुल्क फिर्ता नगरे विद्यार्थी–अभिभावकले जिल्ला प्रशासनमा उजुरी गर्नेछन्, उजुरीउपर प्रशासनले कारबाही अघि बढाउनेछ,’ उनले भने ।

मन्त्रिपरिषद्ले २०७५ असोजमा बढी शुल्क लिने कलेजविरुद्ध सम्बन्धित प्रशासन कार्यालयमा उजुरी गर्न र ठगी मुद्दा चलाउन निर्देशन दिएको थियो ।

झन्डै डेढ महिनाअघि गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री पोखरेलको उपस्थितिमा बसेको बैठकले पनि कलेजहरूलाई एक महिनाभित्र शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । कलेज सञ्चालकले भने निर्देशन अवज्ञा गर्दै उल्टै आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिँदै आएका छन् ।

केसीलाई अनशन तोड्न आग्रह
शिक्षामन्त्री पोखरेलले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । चिकित्सा शिक्षा ऐन बनेर आयोग गठनले पूर्णता पाउने क्रममा रहेको उनको भनाइ छ । डा. केसी ८ दिनदेखि डडेलधुरामा १७ औं अनशनमा छन् । पोखरेलले देश कालापानी र लिपुलेकका विषयमा एकजुट भएका बेला अनशन बस्न उपयुक्त नहुने धारणा राखे । केसीले अनशन बस्नुभन्दा ऐन कार्यान्वयनमा जोड दिनुपर्ने उनको तर्क छ ।

छात्रवृत्तिका लागि २८ सय ९९ आवेदन
छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनका लागि २ हजार ८ सय ९९ विद्यार्थीले आवेदन दिएका छन् । आयोगले सार्वजनिक शिक्षण संस्थामा सिट संख्याको कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन मन्त्रालयमार्फत आवेदन आह्वान गरेको थियो । ऐनले सार्वजनिक शिक्षण संस्थामा ७५, निजीमा १० र विदेशी लगानीका कलेजमा २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको महाराजगन्ज शिक्षण अस्पताल, बीपी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन शिक्षा मन्त्रालयले आवेदन मागेको हो ।

डा. केसी नेपाली सेनाको मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित स्कुल अफ मेडिकल साइन्सेजमा पनि ७५ प्रतिशत छात्रवृत्ति कायम गरिनुपर्ने माग राखेर अनशनमा छन् । सेनाको कलेज र साइन्सेज पनि सार्वजनिक शिक्षण संस्था हुन् ।

प्रकाशित : कार्तिक २५, २०७६ २०:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डा. केसीसँग वार्ता गरी समस्या समाधान गर : चिकित्सक संघ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गरी समस्या सामाधान गर्न सरकारसित माग गरेको छ ।

चिकित्सक संघले सोमबार विज्ञप्ती जारी गरी सरकार र डा.केसी तथा चिकित्सक संघबीच विगतमा भएका सम्झौता अक्षरशः कार्यान्वयन गर्न समेत सरकारलाई आग्रह गरेको छ।

यसैबीच चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीले विज्ञप्ती जारी गरी डा.केसीको स्वास्थ्यप्रति संवेदनशील भई तत्काल संवाद सुरु गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित : कार्तिक २५, २०७६ २०:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×