१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दाहालले राज्य व्यवस्था समितिको बैठकमा भने- 'कालापानी हाम्रै हो'

ऋषिराम पौड्याल

काठमाडौँ — सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै समितिका सदस्य एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भारतले कालापानीमा सीमा मिचेको बताउँदै त्यसको कुटनीतिक समाधान खोजिनुपर्ने बताएका छन् ।

दाहालले राज्य व्यवस्था समितिको बैठकमा भने- 'कालापानी हाम्रै हो'

'नेपालको पश्चिमी सिमाना भनेको महाकाली नदी नै हो । त्योभन्दा पूर्वको सबै भूभाग नेपालकै हो,' उनले भने, 'अहिले नेपालमा र भारतमा दुवैतर्फ स्थायी र बलियो सरकार छ । त्यसैले दुवै पक्ष बसेर टुंग्याउन सकिन्छ ।'


उनले लिपुलेकका बारे चिनियाँ पक्षसँग पनि आफूले कुरा गरेको दाबी गरेका थिए ।

राज्य व्यवस्था समितिले भारतले जारी गरेको नयाँ नक्साका बारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई बोलाएको थियो । तर आजको बैठकमा ओली भने उपस्थिति भएनन् । उनको प्रतिनिधित्व गर्दै भूमिसुधार मन्त्री पद्मा अर्याल बैठकमा सहभागी भएकी थिइन् ।


यस्तै गृहमन्त्री रामबहादुर थापाले सरकारले सीमा सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न लागेको जानकारी दिएका थिए । उनले भारतसँग सीमाका बारे सचिवस्तरीय वार्ताको तयारी पनि भइरहेको बताएका थिए ।


'सीमामा सुरक्षाकर्मी नभएकोले मिचिकएको भन्ने कुरा आइरहेको छ,' उनले भने, 'हामीले थप बल सीमामा तैनाथ गर्ने तयारी गरेका छौं ।'


यस्तै भुमिसुधार मन्त्री पद्मा अर्यालले नेपालको सीमा महाकाली नदी भएको र भारतले नै पहिला जारी गरेको नक्सामा पनि त्यही देखिएको उल्लेख गरेकी थिइन् ।


'हाम्रो सिमाना महाकाली नदी नै हो । त्यसलाई भारतले पनि मानेकै छ,' उनले भनिन्, 'भारतसँग सिमाना सार्ने बारे कुनै सन्धी पनि भएको छैन ।'

प्रकाशित : कार्तिक २५, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?