कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रेमिकाले घाँटी कस्दा ज्यान गयो

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — प्रेमिकाको एकछिनको झोँकले ३३ वर्षे युवकको ज्यान गएको छ । बाह्रबिसे नगरपालिका–४ पलातीका जीवनकुमार थापाको घाँटीमा प्रेमिकाले सुरुवालले कस्दा मृत्यु भएको रहस्य बाहिरिएको हो ।

प्रेमिकाले घाँटी कस्दा ज्यान गयो

विवाहित थापा र अविवाहित २० वर्षकी प्रतिमा विकबीच डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । एक हप्तापछि उनीहरूबीच मोबाइल नम्बर साटासाट भयो । पछि खुलेरै घुम्न–रमाउन थाले । थापा लामोसाँघु चरीकोट सडक सुधार आयोजनाको ठेकेदार कम्पनी गौरीपार्वतीको एक्स्काभेटर चालक हुन् ।


फिल्डमा रहँदा उनी प्रायः स्वाँरातिर हुन्थे । गएको कात्तिक १ गते साँझ पनि उनीहरूबीच भेट भयो । घन्टौं लामोसाँघु–चरीकोट सडक चहारिरहे । रात परेपछि सुनकोसी–७ स्वाँरास्थित जुना कार्कीको टहरामा बास बस्न पुगे । भूकम्पपछि नयाँ घर बनेपछि कार्कीको टहरा खाली थियो । अघिपछि अनुमति लिएर त्यहीँ बस्ने उनीहरू त्यो दिन भने कार्कीलाई नसोधी टहरामा छिरे र मदिरा पिउन थाले ।


जिस्किरहने थापाले ‘म अब मर्छु’ भन्दै जबर्जस्ती विकको सुरुवाल फुकाले र घाँटीमा बेरे । सुरुवाल कस्दै धम्क्याएजस्तो गरे । सुरुवाल तानेको रिस र मातेकी विकको मन कठोर बन्यो । दुई छोराका बुबासमेत रहेका थापा र विकबीच समाजले अस्वीकार गर्ने विषयलाई लिएर झगडा हुन थाल्यो ।


‘ल मर न’ भन्दै विकले झोँकले घाँटीमा बेरिएको सुरुवाल झनै कस्सिदिइन् । ‘ऊ हाँस्दै सुत्यो, म जंगिँदै पल्टिएँ,’ प्रहरीसँगको बयानमा विकले भनेकी छन् । झैझगडाले विकराल रूप लिएपछि आवेशमा सुरुवालले घाँटी कस्दा घटना भएको उनले प्रहरीसमक्ष स्विकारेकी छन् । माथिको घटनाक्रम पनि उनले दिएको बयानका आधारमा प्रहरीबाट प्राप्त भएको हो ।


१० बजेसम्म वादविवाद गरेर उनीहरू सुतेका थिए । बिहान सबेरै उठेर विकले थापालाई घचघच्याइन् । जत्ति बोलाउँदा पनि नउठेपछि आत्तिँदै उनले कार्कीलाई गुहारिन् । थापाको मृत्यु भएको निश्चित भएपछि घटना लुकाउन दुवैले शवलाई मलखादछेउको बारीमा गाडे । छोपछाप पारेर घरछेउकै जंगलमा गएर लुके ।


कात्तिक २ गते चालक थापा काममा नआएपछि सँगै कार्यरत साथीहरूले खोजी सुरु गरे । लगत्तै प्रहरीले घटनास्थलमा अनुसन्धान बढाएर थापाको खोजी थाल्यो । ‘३ गते नै बारी उत्खनन गर्दा थापाको शव फेला परेपछि विक र कार्कीलाई पक्राउ गरेका हौं,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने, ‘पछिल्लो बयानमा आरोपी विकले सुरुवालले घाँटी कसेको हामीसमक्ष स्विकारेकी छन् ।’ प्रहरीले दुवैमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित : कार्तिक २५, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?