२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नेपाल–भारत सीमा विवाद : सचिवस्तरीय बैठकबाट समाधान खोजिने 

सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल–भारत सचिवस्तरीय बैठक बोलाइने भएको छ । बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणपछि बैठकको मिति तय हुने परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

नेपाल–भारत सीमा विवाद : सचिवस्तरीय बैठकबाट समाधान खोजिने 

बंगलादेशी राष्ट्रपति अब्दुल हमिद तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं ओर्लंदै छन् ।


‘यो विषयमा हामीले भारतीय पक्षसँग कुरा गर्नैपर्ने हुन्छ,’ परराष्ट्र सचिव शंकरदास बैरागीले काठमाडौंमा कान्तिपुरसँग भने, ‘कुराकानीबारे छिट्टै टुंगो लाग्नेछ ।’ मन्त्रालय स्रोतका अनुसार बैठकका लागि भारतीय पक्ष पनि सकारात्मक छ ।


भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजयशेखर गोखलेबीच शुक्रबार भएको भेटमा सीमा विवादबारे छलफल भएको थियो । भारतको विदेश मन्त्रालयमा भएको उक्त नियमित भेटमा सचिव गोखलेले पनि विवाद समाधानका लागि छिट्टै सचिवस्तरीय बैठक गर्नुपर्ने बताएको स्रोतले जनायो ।


त्यसअघि बिहीबारको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सीमा निर्धारणको काम दुईपक्षीय संयन्त्रबाटै भइरहेको र दुई देशबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धको भावनाअनुसार आपसी संवादबाट समाधान खोज्न भारत प्रतिबद्ध रहेको बताएका थिए । राजदूत आचार्यसँगको भेटमा गोखलेले विदेश मन्त्रालयका तर्फबाट दिइएको औपचारिक प्रतिक्रियाअनुरूप नै द्विपक्षीय संवाद अघि बढाउने धारणा व्यक्त गरेको स्रोतले बतायो ।


गत २ नोभेम्बरमा भारतले उत्तर जम्मु–कश्मीरलाई दुई केन्द्रशासित राज्यमा विभाजन गरेपछि नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सामा नेपालको कालापानी क्षेत्रसमेत समेटिएपछि त्यसको तीव्र विरोध भइरहेको छ । भारतले यसअघि जारी गरेका नक्सामा पनि कालापानी क्षेत्रलाई एकपक्षीय रूपमा आफ्नो भूभागमा समावेश गर्दै आएको थियो । नेपालले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।


प्रकाशित : कार्तिक २५, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?