‘सिमलको रुख’ नै जंगे पिलर

कतिपय स्तम्भ बाढीमा बगेका छन् त कति सारिएका छन् । नेपाली कृषकहरू आफ्नै जग्गामा जान पाउँदैनन् । एसएसबीका आडमा त्यहाँ भारतीयले खेती गर्छन् ।
प्रदेश ५ ब्युराे

बुटवल — पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका–५ को भारतीय सीमावर्ती क्षेत्र अहिले घनाजंगल बनेको छ । यहाँ दशगजा कहाँ छ भन्ने न राज्यलाई थाहा छ न त स्थानीयलाई ।

‘सिमलको रुख’ नै जंगे पिलर

भारतीय पक्षले एउटा सिमलको रूखलाई सीमास्तम्भ भन्छ । सुरक्षाकर्मीले त्यहीँसम्म गस्ती गर्छन् । दुवैतर्फका किसानले त्यही रूखलाई आधार मानेर भूमि उपभोग गर्छन् ।


तर, सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ रूखलाई सिमाना मान्न तयार छैनन् । ‘त्यहाँभन्दा धेरै परसम्म नेपाली भूभाग हो । भारतले अतिक्रमण गरेर विवाद बढेपछि रूखलाई काल्पनिक स्तम्भ मानिएको छ,’ उनले भने, ‘राज्यको बलियो उपस्थिति र कूटनीतिक पहल नहुँदा आफ्नै भूमि जोतभोग गर्न पाएका छैनौं ।’


केही स्थानमा कुलेसोलाई सिमाना मानिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आडमा सीमापारिकाले नेपाली भूमिमा खेती गरिरहेका छन् ।


भारतीय सीमा सुरक्षा बलले लगाएको काँडेतारभित्र जंगे पिलर


भारतीय पक्षले अहिले धनैया क्षेत्रमा नेपालीलाई खेती गर्न रोक लगाएको छ । जबकि आफूहरूसँग उक्त जग्गाको लालपुर्जा रहेको स्थानीय बताउँछन् ।


अभियानका उपाध्यक्ष आदम खाँका अनुसार सुस्ताको ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार हेक्टर अतिक्रमणमा परेको छ । एसएसबीले ०६२ सालदेखि विवादित भूमि भन्दै १९ हजार ९ सय ८० हेक्टरमा खेती गर्न रोक लगाएको छ ।


‘द्वन्द्वकाल थियो, सुरक्षाकर्मीको उपस्थिति थिएन । हामी भूमि बचाउन भारतीय एसएसबीसँग जुधेका थियौं,’ उनले भने, ‘विडम्बना, पछि दुवै देशका सुरक्षा अधिकारीले नेपाली लालपुर्जा भएको भूमिलाई पनि विवादित भन्दै खेती गर्न रोक लगाए । अहिले सुस्ता जम्मा ७ हजार हेक्टरमा खुम्चिएको छ ।’


स्थानीयका अनुसार यहाँ सरकारले ०२२ सालमा बस्ती बसालेको थियो । तर ०३४ सालमा नारायणी बाढीले डुबानमा पारेपछि उनीहरूलाई त्रिवेणी क्षेत्रमा लगियो । त्यही मौकामा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको ६५ वर्षीया दीपरानी हरिजनले बताइन् । ‘बाढी आएपछि ज्यान जोगाउन गएका थियौं,’ उनले भनिन्, ‘फर्केर आउँदा हाम्रो जमिन भारतले कब्जा गरेको थियो ।’


सुस्ता–५ का ओमप्रकाश चौधरीले आफ्नै साढे तीन बिघा जग्गा भोगचलन गर्न पाएका छैनन् । ‘नापी कार्यालयमा हाम्रो नाममा रहेको जग्गा अहिले भारतीयले आफ्नो बनाइसके,’ अर्की स्थानीय माधुरी भरले भनिन् ।


सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक भरत खनियाँले सिमलको रूखबाट वारि र पारि भन्ने गरिए पनि त्यो आधिकारिक सिमाना नरहेको बताए । ‘भारत सिमलको रूखसम्म आएपछि अतिक्रमण रोकिएको थियो,’ उनले भने, ‘अहिले त्यसैलाई आधार मानिएको छ । दुई देशबीच उच्चस्तरमा नापनक्सा गरेपछि मात्र सिमाना तय हुनेछ ।’


जग्गा भारतमा

पाँच वर्षअघि गुलरिया–१० थपुवा गाउँको सीमास्तम्भ एसएसबीले सारिदियो । यसबाट आफ्नो जग्गा भारततिर परेपछि चार स्थानीयले प्रशासनमा हारगुहार गरे । तर केही लागेन । नेपाली लालपुर्जा भएको नम्बरी जग्गा भारतमा गाभियो । त्यहाँ भादा नदीको कटानका कारण सीमा छुट्याउन समस्या छ । स्थानीय फत्ता थारूको १० कट्ठा , विश्राम थारूको २ बिघा ७ कट्ठा, खटिक थारूको १४ कट्ठा र रामदत्त थारूको १४ कट्ठा जग्गा गुमेको हो । उनीहरूसँग अझै पनि त्यसको लालपुर्जा छ ।


तीन वर्षअघि पनि गुलरिया–६ खैरापुरका हरिकृष्ण, विशेश्वर र सियाराम यादवको ३ बिघा २ कट्ठा जग्गा खनजोत गर्न एसएसबीले रोक लगायो । उनीहरूले लालपुर्जा देखाउँदा पनि एसएसबीले भारतीय भूमि भएको दाबी गर्‍यो । कित्ता नम्बर ४३० को उक्त जग्गा मालपोत कार्यालय गुलरियाको स्रेस्तामा कायम छ । ‘पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा एसएसबीले खोसे,’ सियारामले भने, ‘प्रशासनमा हारगुहार गर्दासमेत उपाय लागेन ।’


गुलरिया–७ चौगर्जीका साहादात अली धोबीले दुई दशकदेखि आफ्नो २ बिघा १० कट्ठा जग्गा खनजोत गर्न पाएका छैनन् । उक्त जग्गा भारत, बहराइचका राजदेव गौडले मिचेका हुन् । राजापुर नगरपालिका क्षेत्रमा पनि नेपाली भूमि मिचिएको स्थानीयको भनाइ छ ।


बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भारततिर गाभिएका नेपाली भूमिबारे जानकारी लिन नापी र मालपोत कार्यालयसँग समन्वय गरिरहेको बताए । ‘सीमास्तम्भको अवस्था पनि बुझिरहेका छौं । बुझिसकेपछि समस्या समाधान गर्न सरकारलाई पत्राचार गर्छौँ,’ उनले भने ।


बर्दियाको पूर्व मानखोलादेखि पश्चिम राजापुर नदीसम्म ८३ दशमलव ८ किमि सीमा भारतसँग जोडिएको छ । भारततर्फ एसएसबीको बाक्लो उपस्थिति छ । करिब २७ वटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । नेपालतर्फ भने सशस्त्र प्रहरीका जम्मा चारवटा पोस्ट छन्, बढैयाताल गाउँपालिकाको फुटहा, कालाबन्जड, मधुवन नगरपालिका र राजापुरमा । एउटा पोस्टले २०/२५ किलोमिटरसम्म गस्ती गर्नुपर्ने अवस्था छ ।


हराउँदै सीमास्तम्भ

बर्दियाको सीमाक्षेत्रमा मुख्य र सहायक गरी २ सय ४५ सीमास्तम्भ छन् । अहिलेसम्म ७ मुख्य र ९३ सहायक सीमास्तम्भ हराइसके । सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले आफूहरूले स्थलगत अध्ययन गरी सरकारलाई जानकारी दिने गरेको बताए । ‘हरेक सीमास्तम्भको फोटो पनि खिचेर राख्छौं,’ उनले भने, ‘हामीले जानकारी दिने हो, बाँकी काम सरकारले नै गर्नुपर्छ ।’


बाढीले मुख्य र सहायक गरी ३२ सीमास्तम्भ बगाइसकेको छ । बबईको कटानले ३ वटा सीमास्तम्भ जोखिममा छन् । कटान भएको ठाउँमा सबैतिर बालुवा हुने भएकाले दसगजा चिनिँदैन । स्थानीय प्रशासनका अनुसार आव ०७०/७१ मा १६, ०७१/७२ मा ६ र ०७३/७४ मा ५ सीमास्तम्भ हराएका छन् । फेरि सीमास्तम्भ राख्न लामो प्रक्रिया पार गर्नुपर्छ । दुवै मुलुकको सहमति र सहभागिता हुनुपर्छ ।


केही हराए, केही ढले

कपिलवस्तुमा गत असारको बाढीमा हराएका स्तम्भ अझै फेला परेका छैनन् । ढलेका स्तम्भ ठड्याइएका छैनन् । चिरई खोलामा ७ वटा स्तम्भ हराएका छन् । अर्रा खोलामा एउटा स्तम्भ क्षतिग्रस्त अवस्थामा छ । विजयनगर गाउँपालिकामै थुप्रै स्तम्भ ढलेका छन् । गेडुवाजोतस्थित स्तम्भ पानीमा धसिएको अवस्थामा आधा मात्र देखिन्छ । ‘त्यहीँ नजिक रहेको ‘५७७/७ नं. पिलर देखिएको छैन,’ डालपुरस्थित बीओपीका सशस्त्र प्रहरी निरीक्षक अनिरुद्ध हजाराले भने, ‘बाढीले बगाएको हुन सक्छ ।’


कपिलवस्तुको सुदुर पश्चिम विजयनगर गाउपालिका वार्ड नं. ६, गेडुवाजोत स्थित चिरई खोलामा पुरिएको सीमा स्तम्भ । ४ महिना हुन लाग्दा पनि स्तम्भ उठन सकेको छैन् । तस्बिरः मनोज पौडेल/कान्तिपुर


विजयनगर–१ को चमर वनस्थित स्तम्भको टुप्पो भाँच्चिएको छ । बोल्डर लगेर भाँचिएजस्तो लाग्ने उक्त स्तम्भ केही सरेजस्तो देखिने स्थानीय बताउँछन् । जिल्लाकै विकट मानिने जुवाबैराठ गाउँबाट त्यहाँ पुग्न एक घण्टा लाग्छ । कृष्णनगर नगरपालिका–१२, भगवानपुरमा पनि दुई सीमा स्तम्भ हराएका छन् । विजयनगर–५ ठकुरापुरका रामबहादुर थापा ढलेका स्तम्भ छिट्टै पुनःस्थापित गर्न लागिहाल्नुपर्ने बताउँछन् । ‘पानीको भेलले सार्दै लगेको छ,’ उनले भने, ‘पछि यही कुराले विवाद नबढोस् ।’


(परासीबाट नवीन पौडेल, बर्दियाबाट ठाकुरसिंह थारू र कमल पन्थी, कपिलवस्तुबाट मनोज पौडेल)

प्रकाशित : कार्तिक २४, २०७६ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?