२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

नेपाल–भारत सचिवस्तरीय बैठकको पहल सुरु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले अघिल्लो साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल र भारत दुवै पक्षले सचिवस्तरीय बैठक बस्ने तयारी थालेका छन् ।

नेपाल–भारत सचिवस्तरीय बैठकको पहल सुरु

परराष्ट्र सचिव शंकर बैरागीका अनुसार केही साताभित्रै बैठक गर्ने गृहकार्य थालिएको छ । ‘यस विषयमा हामीले भारतीय पक्षसँग कुरा गर्नैपर्ने हुन्छ । कुराकानीका लागि छिट्टै टुंगो लाग्नेछ,’ उनले भने ।


बंगलादेशका राष्ट्रपतिको भ्रमणपछि भारतीय पक्षसँगको छलफलले गति लिने र मिति पनि तय हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं ओर्लंदै छन् ।


मन्त्रालय स्रोतका अनुसार बैठकका लागि भारतीय पक्ष पनि सकारात्मक छ ।


गत शुक्रबार नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजयशेखर गोखलेबीच भएको भेटमा पनि कालापानीमा सीमा विवादका बारे छलफल भएको थियो । भारतको विदेश मन्त्रालयमा भएको उक्त नियमित भेटमा सचिव गोखलेले पनि विवाद समाधानका लागि छिट्टै सचिवस्तरीय बैठक गर्नुपर्ने आवश्यकता औंल्याएको स्रोतले जनायो ।


त्यसअघि बिहीबारको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सीमा निर्धारणको काम विद्यमान दुईपक्षीय सयन्त्रबाट भइरहेको र त्यससम्बन्धी समस्याको समाधान दुई देशबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको भावनाअनुसार आपसी संवादबाट खोज्न भारत प्रतिबद्ध रहेको जनाएका थिए । ‘राजदूत आचार्यसँगको भेटमा विदेशसचिव गोखलेले विदेश मन्त्रालयका तर्फबाट दिइएको औपचारिक प्रतिक्रियाअनुरूप नै द्विपक्षीय संवाद अघि बढाउनेमा जोड दिएका थिए’ स्रोतले भन्यो ।


गत २ नोभेम्बरमा भारतले उत्तर जम्मु–कश्मीरलाई दुई केन्द्रशासित राज्यमा विभाजन गरेपछि नयाँ नक्सा जारी गरेको थियो ।


उक्त नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतले समेटेपछि नेपालमा चर्को विरोध भइरहेको छ । भारतले यसअघि जारी गरेका नक्सामा पनि कालापानी क्षेत्रलाई एकपक्षीय रूपमा आफ्नो भूभागमा समावेश गर्दै आएको थियो । नेपालले त्यसलाई विगतदेखि नै ठाडै अस्वीकार गर्दै आएको छ ।

प्रकाशित : कार्तिक २४, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?