कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘आलमलाई जिल्ला प्रहरीकै टोलीले पक्राउ गरेको हो’

शिव पुरी

रौतहट — राजपुर फरदहवा बमकाण्डको मुद्दा अदालतमा थुनछेक बहस चलिरहेको अवस्थामा केही अनलाइन र न्यूज पोर्टलले अत्यन्त भ्रामक तथ्यहीन, कपोकल्पित समाचार सम्प्रेषण गरी विचाराधीन मुद्दालाई प्रभावमा पर्ने मनसाय राखेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले विज्ञप्ति निकाली खण्डन गरेको छ ।

‘आलमलाई जिल्ला प्रहरीकै टोलीले पक्राउ गरेको हो’

प्रहरीले १२ वर्षअघि पहिलो संविधानसभा निर्वाचनका बेला घटेको बम विस्फोट प्रकरणमा मुछिएका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको पक्राउको विषयलाई लिएर केही मिडियाले भ्रामक, तथ्यहीन र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।


‘यति गम्भीर मुद्दामा आधारहीन समाचार प्रकाशित गरेर ती अनलाइनले सम्मानित जिल्ला अदालत रौतहटमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने कुत्सित मनसाय राखेको देखिन्छ,’ शनिबार निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘गैर जिम्मेवारी बनेर भ्रमपूर्ण समाचार प्रकाशित गर्ने कार्य जारी रहेमा त्यस्ता सचारमाध्यम वा व्यक्ति विरुद्ध सम्बन्धित निकाय मार्फत् कानुनी उपचार खोजिने छ ।’


बहाल कानुन र विभागीय नीति, निर्देशन बमोजिम जिल्ला प्रहरीको क्षेत्राधिकारभित्र रहेकाले आलमलाई पक्राउ गरेको घामजत्तिकै छर्लंङ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


आलम विरुद्ध मंगलबारदेखि अदालतमा थुनछेक बहस चलिरहेको छ । गत असोज २६ गते आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको थियो ।


आलमलाई रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले नभएर प्रहरी प्रधान कार्यालयको टोलीले पक्राउ गरेको दाबी गर्दै उनीमाथि विभिन्न आरोप लगाउँदै समाचार सम्प्रेषण भएपछि रौतहट प्रहरीले त्यसको खण्डन गरेको हो ।

प्रकाशित : कार्तिक २४, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?