उम्मेद्वारी फिर्ता गराउन नेकपाले घर्तीलाई हेलिकोप्टरबाट सदरमुकाम झिकाएपनि उम्मेद्वारी कायमै- समाचार - कान्तिपुर समाचार

उम्मेद्वारी फिर्ता गराउन नेकपाले घर्तीलाई हेलिकोप्टरबाट सदरमुकाम झिकाएपनि उम्मेद्वारी कायमै

प्रकाश बराल

(बागलुङ) — आगामी उपनिर्वाचनका लागि बामगठबन्धनका उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी दिएका शेरमान घर्तीको उम्मेद्वारी फिर्ता गराउने नेकपाको प्रयास असफल भएको छ । बागलुङ क्षेत्र नं. २ (ख)को उपनिर्वाचनका लागि घर्तीले बागी उम्मेद्वारी दिएका थिए । 

सो क्षेत्रमा नेकपाको सचिवालय बैठकले राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको थियो । नेकपाको निर्णयपछि राजमोबाट खिमबिक्रम शाहीले उम्मेदवारी दिएका छन् । तर, केन्द्रको निर्णय विपरित घर्तीले उम्मेद्वारी दर्ता गराएपछि नेकपाका जिल्ला नेताहरुले उनको उम्मेद्वारी फिर्ता गराउन प्रयास गरेका थिए । उनीहरुको प्रयास भने सफल हुन सकेन ।


नेकपाले घर्तीलाई उम्मेद्वारी फिर्ता गराउन बुर्तिवाङदेखि सदरमुकासम्म हेलिकोप्टरमा ल्याएको थियो । घर्ती सदरमुकाम आइपुग्दा उम्मेद्वारी फिर्ता लिने समय घर्किएपछि उनलाई सिधै पार्टी कार्यालय लगिएको छ ।


आइतबार दिउँसो १ बजेसम्म उम्मेद्वारी फिर्ताको निवेदन दिनुपर्नेमा नदिएकोले उनको उम्मेद्वारी कायम रहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए ।


‘शेरमानजी हामी सँगै हुनुहुन्छ, चुनावी सहयोगबारे छलफल गरेका छौं,’ नेकपाका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले भने, ‘बागी उम्मेद्वारी कायमै रहेपनि सहयोग गर्ने कुरा भएको छ ।’


ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले चढ्ने गरेको हेलिकोप्टरमार्फत घर्ती आइतबार सदरमुकाम आएका थिए । निर्वाचन प्रकृया शुरु भैसकेकोले हेलिकोप्टर चढ्ने काम समेत आचारसंहिता विरुद्ध भएको अधिवक्ता राम शर्माले बताए ।


‘खर्चिलो र भड्किलो निर्वाचनको विषयले यो आचारसंहिता विपरित हो,’ शर्माले बने । जिल्ला निर्वाचन अधिकारी पौडेलले भने अन्तिम नामावली प्रकाशन हुनु पूर्व हेलिकोप्टर चढेकोले आचारसंहिता उल्लंघन भन्न नमिल्ने बताए ।


‘उहाँको अन्तिम उम्मेद्वारी कायम रहेको सूचना टाँस्नु अघि हेलिकोप्टर चढेकोले उल्लंघन गरेको भन्न मिल्दैन,’ पौडेलले भने, ‘चुनावको प्रचारमा प्रयोग भएको हो की हैन छानबिन हुन्छ ।’


घर्तीलाई अपहरण गरेर राखेकोले उम्मेद्वारी फिर्ता गर्ने काम ढीला भएको चर्चा चलेपछि प्रहरीले समेत खोजी गरेको थियो । घर्तीलाई बुर्तिवाङका नेकपाका नेता तुलसी अर्यालको घरमा भेटेपछि बागलुङ पठाइएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक सुरज खड्काले बताए ।


‘उहाँहरु पार्टीको बैठकमा बसेको भन्नुभयो, अपहरण वा जवरजस्ती गरेको थाहा भएन,’ खड्काले भने, ‘सकुशल बागलुङ जानु भएको हो ।’ घर्ती र नगरप्रमुख नेपाली बागलुङ बजारमा आइपुग्दा साँढे १ बजेको थियो । त्यतिबेला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले उमेदवारी फिर्ताको निवेदन नपरेको निर्णय गरेर फर्किसकेको थियो ।


कांग्रेसले भने जित शेरचनलाई उम्मेद्वार बनाएको छ ।


प्रकाशित : कार्तिक २४, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने

कान्तिपुर संवाददाता

संखुवासभा — निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने बताएका छन् । 

जिल्ला निर्वाचन कार्यालयले आइतबार खाँदबारीमा आयोजना गरेको विपद निरुपण सम्बन्धि कार्यक्रममा थपलियाले विवाद रहित र उपनिर्वाचन नमूना बनाउने पनि दाबी गरे । यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि यो पटक घटाएको बताए ।

उनले प्रचार अवधि लम्बिदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताए ।

मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका ३ का लागि वडाध्यक्षका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : कार्तिक २४, २०७६ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×