खै त जहाज आएको ?

आश गुरुङ

(लमजुङ) — गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भदौ २७ गते मनाङको हुम्डेमा पुगी असोज १० गतेदेखि मनाङमा नियमित हवाई उडान हुने भाषण गरे । समिट एयरको जहाज चढेर आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सबै फर्किए । मनाङ ङिस्याङ गाउँपालिका ४, हुम्डेकी छ्युङदा गुरुङले भने मन्त्रीको भनाईलाई पछ्याइरहिन् ।

खै त जहाज आएको ?

‘असोज १० गते जहाज आउँछ होला भनेर दिनभरी पर्खियौं । आउँदै आएन,’ उनले भनिन्, ‘अर्को साता हेर्‍यौं, आएन । फेरी अर्को साता हेर्‍यौं, आएन । खै त जहाज आएको ?’


उनीमात्रै होइन, मन्त्री, मुख्यमन्त्रीले भनेपछि धेरैले असोज १० गतेदेखि नियमित जहाज आउँछ भन्ने ठानेका थिएन । तर, मन्त्रीले आश्वासन दिएको करीब २ महिनामा पनि मनाङमा जहाज उड्न सकेको छैन ।


परीक्षण उडान भनिएको उक्त समयमा मन्त्री लम्सालले पर्यटन व्यवसायीको समन्वयमा असोज १० गतेदेखि मनाङमा जहाज उडान नियमित गरिने बताएका थिए । उनले मनाङमा ४ दिने प्याकेज बनाउने समेत घोषणा गरेका थिए । आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गर्न थालिएको मन्त्री लम्सालले बताएका थिए ।


‘मन्त्रीको कुरा भाषणमै सीमित भयो । खै फ्लाइट भएन ?’ मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले भने । उनका अनुसार नियमित उडानको खबर सुनेपछि स्थानीय उत्साहित थिए । तर, उनलाई भने भित्रभित्रै पत्यार लागेको भने थिएन । ‘यो भन्दा अगाडि पनि २/३ पटक आउँछ भनेर जहाज आएन । मन्त्रीले भनेपछि पत्याउनै पर्‍यो । तर, जहाज आएन,’ उनले भने ।


पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले जहाज उडान नहुँदा मनाङवासी समस्यामा परेको बताए । उनले सरकारी उदासिनताका कारणले मनाङीलेमात्रै नभएर पर्यटकले जहाज चढ्न नपाएको बताए । ‘जहाज आउने खबर आउने । तर, नआउने । सरकारी निकाय, मन्त्रीले जहाज आउँछ भन्ने तर, नआउने हुँदा यसले राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘बरु नसक्ने कुरा नगर्दा नै राम्रो हुन्छ ।’


अहिले मनाङमा दैनिक २ सय ५० बढी पर्यटक आउने गरेका छन् । अधिकांश पर्यटक पोखराबाट आउने गरेका छन् । ‘जहाज उडान हुन सके कम समय भएकाहरु उडानबाटै मनाङ आउँथे,’ उनले भने, ‘लामो समय भएकाहरु हिँडेरै आएका छन् । छोटो समय भएकाहरु सडकबाटो धेरै खर्च र समय लगाएर आउने गरेका छन् ।’


उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मनाङमा जहाज लाने पहल भइरहेको बताए । ‘असोज १० गतेदेखि नियमित उडान गर्ने योजनामा थियौं । विविध कारणले भएन । हामी छलफलमै छौं,’ उनले भने । उनले हरेक शुक्रबार जहाज उडानको कार्यतालिकासहित छलफल अघि बढाएको बताए ।


‘उडाउने भन्यौं । प्यासेन्जरकै समस्या भयो । कसरी गर्ने भनेर हामी हान, टान सबैसँग छलफल गरिरहेका छौं,’ उनले भने । उनका अनुसार पाइलटको समस्याले पनि ढिलाई भइरहेको छ । उनले मनाङमा ४ दिने प्याकेजसहित जहाज उडाउने योजना रहेको मनाङ आउँदा बताएका थिए । उनले यसअघिको समिट एयर र राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको जहाजसँग छलफल चलाएको बताएका थिए ।


नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरेर यसअघिको ६ सय मिटरको धुले धावनमार्गलाई विस्तार गरी ९ सय मिटर कालोपत्रे गरेको थियो । त्यतिबेला तत्कालीन मन्त्री तथा प्राधिकरणका आिधकारीहरुले मंसिरमा नयाँ धावनमार्गमा परीक्ष अवतरण र उडान गरिएको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ आएको छैन ।


कालोपत्रे भएको २ वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरेपनि निरन्तरता दिन सकेन । १ वर्षअघि एउटा ट्वीनअटर जहाजले चार्टर्ड उडान भरेको थियो ।


धावनमार्ग विस्तार र कालोपत्रे हुनुअघि साताको २ पटक उडान हुन्थ्यो । त्यति नै समय मनाङसम्म सडकको ट्रयाक खुलेपछि हवाइजहाजले उडान नगरेको स्थानीयको भनाइ छ ।


मनाङमा नेपाल वायु सेवा निगमको ट्वीनअटर जहाजले मात्रै उडान भर्दै आएको थियो । नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक एटीसी (एयर ट्राफिक कन्ट्रोलर) सूर्यबहादुर खत्रीका अनुसार हिमपात र पानी परेको समय मनाङको आकासमा उडान भर्न सकिँदैन । मौसम खुला रहँदा भने उडान भर्न सकिन्छ । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा करीब २५ मिनेट लाग्छ । ३ हजार ३ सय ३० मीटर (११ हजार १ सय ४५ फिट) उचाइको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो ।


प्रकाशित : कार्तिक २४, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?