१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भान्सामा वायुपंखी

राजबहादुर शाही

(मुगु) — छानोमा सोलार प्यानल । त्यसबाट ब्याट्रीमा आएको तार भान्सामा एउटा स्विच हुँदै चुलोमा जडित सानो पंखामा पुगेको छ । स्विच थिच्दा पंखा घुम्छ र चुलोमा हावा दिन्छ । काठको भुस बाल्ने जस्तो फलामे चुलोमा दाउरा नै हालिन्छ । फरक यति छ, अरू घरेलु चुलो जसरी ढुंग्रोले फुकेर आगो सल्काउन बल गर्नु पर्दैन । थोरै झिक्रामिक्रा हाल्दा पनि चुलो मज्जाले बल्छ । भान्सामा ‘वायुपंखी चुलो’ जडान गरिएपछि खत्याड गाउँपालिकाको सुकाढिककी कला कार्की मक्ख छिन् । सुधारिएको विधिको उक्त चुलो प्रयोग गर्न थालेपछि धूलो र धूवाँबाट मुक्ति पाएको उनले बताइन् । 

भान्सामा वायुपंखी

‘दाउरा धेरै नचाहिने, हामीले मुखले फुक्नु नपर्ने चुलोले आराम पायौं,’ उनी भन्छिन्, ‘यसमा भात पकाउँदा छिटो हुन्छ । भान्सा सुकिलो भएको छ ।’ उस्तै अनुभव छिमेकी अमृता कार्कीको पनि छ । भन्छिन्, ‘खाना छिटो पाक्छ । धूवाँ हुँदैन । हामीलाई योभन्दा सुख के चाहियो ।’ कला र अमृताका घरमा मात्रै होइन, गाउँका अधिकांश घरमा अहिले ‘वायुपंखी चुलो’ भित्रिएको छ । स्थानीयका अनुसार आधुनिक प्रविधिको चुलोको प्रयोग बढ्दा सामुदायिक वनमा दाउरा खोज्न जानेको भीड घटेको छ । दाउराकै लागि रूखबिरुवा फँडानीको क्रम मत्थर भएको छ ।


परम्परागत चुलोमा खाना पकाउँदा एक घण्टा बढी समय लाग्नेमा आधै समय बचत भएको अमृताको अनुभव छ । ‘धूलो र धूवाँले महिनामा कोही न कोही बिरामी परिरहने समस्या थियो,’ उनले भनिन्, ‘खाना पनि ढिलो पाक्ने र कहिलेकाहीँ काँचै खाना खानुपर्ने बाध्यता थियो । वायुपंखी चुलो हाम्रा लागि बरदान जस्तै भएको छ ।’ स्विच थिच्दा चुलोमा जोडिएको पंखा घुमेर दाउरा बल्ने गरेको हेरिरहन पनि रमाइलो लाग्ने उनले बताइन् । यो प्रविधिमा थोरै दाउरामा पनि खाना पकाउन सहज भएको छ ।


अहिले सुकढिकका १ सय १८ घरधुरीमा वायुपंखी चुलो बल्न थालेको छ । फाइदा थाहा पाएका आसपासका गाउँमा समेत प्रयोग बढ्दै गएको छ । आधुनिक प्रविधिको चुलो गाउँलेलाई कसैले सित्तै बाँडेको भने होइन । स्थानीयले आफ्नै लगानीमा खरिद गरेर प्रयोग गर्न थालेका हुन् । १२ देखि १५ सयमा चुलो, त्यसका लागि सोलार प्यानल, ब्याट्री र पंखाका लागि ५ हजार रुपैयाँ खर्च लाग्ने स्थानीय राजबहादुर कार्कीले बताए ।


‘खर्च परे पनि एकपटक जडान गरेपछि सुबिस्ता भएको छ,’ उनले भने, ‘दाउरा थोरै लाग्ने भएकाले पनि धेरै सजिलो भयो ।’ दाउराको अभाव र कामको व्यस्तताले यो चुलो प्रयोग गर्नेको संख्या बढिरहेको उनले बताए । ‘पहिले पहिले एक भारी दाउरा चार/पाँच दिनमै सकिन्थ्यो,’ उनले भने, ‘वायुपंखी चुलो बाल्न थालेपछि एक भारी दाउराले १५ दिन पुग्छ ।’ आधुनिक चुलोमा दाउराका झिँजाको समेत सदुपयोग भएको अनुभव उनले सुनाए ।


रिघा, आम, हयाङलु, थामलेख र रातापानीलगायत गाउँमा पनि यस्तो चुलोको प्रयोग बढेको छ । स्थानीय स्वास्थ्यकर्मी टक्क डाँगरले घरमा शौचालयको प्रयोगसँगै सौर्य ऊर्जामार्फत बत्ती र चुलो बाल्न थालेपछि गाउँले बिरामी पर्ने दर पनि घटेको बताए । ‘धेरै समस्या भान्सा, खानेकुरा र शौचालयबाटै सुरु हुने हो,’ उनले भने, ‘चुलोले सरसफाइ पनि सिकायो ।’ जिल्ला समन्वय समितिका अनुसार मुगुमा १० हजार घरधुरी छन् । यिनमा सात हजार घरले आधुनिक चुलो प्रयोग गरिरहेका छन् ।


प्रकाशित : कार्तिक २४, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?