नेपाली भू-भाग भारतले मिचेको विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री ओलीलेसाझा धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएकोबालुवाटार स्रोतले बतायो।

बैठक सुरु हुनुअघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छुट्टै छलफल गरेका थिए।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै दलहरुले विरोध गरिरहेका छन्।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु,सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन्।

प्रकाशित : कार्तिक २३, २०७६ १६:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राज्य पक्षकै कारण चुरे दोहन : पूर्व राष्ट्रपति यादव

सन्तोष सिंह, श्यामसुन्दर शशि

(धनुषा) र (जनकपुर) — पूर्वराष्ट्रपति डा.रामवरण यादवले राज्य पक्षकै कारण चुरे दोहनले मधेसमा आपतको अवस्था आएको बताएका छन् । चुरे फँडानी तथा माटो–ढुंगा उत्खनन जोगाउन सरकारले कुनै भूमिका खेलेको छैन,’ उनले भने, ‘वन र चुरे विनाशले मधेसमा सुक्खा र खडेरीको समस्या बढेको छ । पानीको मुहान, कल र इनार सुक्नुको मुख्य कारण चुरे दोहन नै हो । पहाडमा डोजर आतंक छ । पहाडलाई भत्काउने क्रम जारी छ । यस्तालाई संरक्षण दिइरहने ?’

जनकपुरमा जारी नेपाल साहित्य महोत्सवमा ‘चुरेको चिन्ता’ विषयक बहसमा पूर्वराष्ट्रपति यादवले जनताको सहभागितामा चुरे संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘राजनीतिक दलसँग आबद्ध ठेकेदारले चुरेमा उत्खनन गरेका छन्,’ यादवले भने, ‘दलका नेताले क्रसर खोलेका छन् । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि चुरेसँग जोडिएका नदीमा उत्खनन गर्दै छन्, चुरिया माताको पूजा गरेर मात्रै संरक्षण हुँदैन ।’

वैज्ञानिक अध्ययनबिनै चुरेमा डोजर चलाउँदा प्रत्यक्ष असर मधेसमा परिरहेको उनले बताए । चुरेको पेट चिरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग विस्तार, निजगढ विमानस्थल निर्माण र पहाडी राजमार्गका लागि रूख कटानको योजनाले चुरेको छाती र पेट चिरिएको छ,’ उनले भने, ‘जंगल र चुरेमा संरचना निर्माण गर्नुअघि दीर्घकालीन अध्ययन गर्नुपर्छ ।’

चुरे संरक्षणको गुरुयोजना बने पनि सरकारले कानुन नबनाउँदा काम अगाडि बढ्न नसकेको उनले बताए । ‘२० वर्षको गुरुयोजना बनेको छ तर कानुन बनाउने कोही माई बाप छैन,’ उनले भने । विज्ञहरूसँग गहन छलफल गरेर चुरे संरक्षणका लागि आवश्यक कानुन बनाउन उनले संघ र प्रदेश सरकारलाई सुझाव दिए ।

विश्लेषक चन्द्रकिशोरले चलाएको बहसमा पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले मानवबस्तीलाई निरुत्साहित गरी भूसंरक्षण गरे मधेसका लागि चुरे वरदान सावित हुने बताए । नेपाली राजनीतिमा विकासका लागि अल्पकालीन सोचले गर्दा चुरे संरक्षण चुनौतीपूर्ण बनेको उनले जनाए । ‘सगरमाथादेखि चुरे र चुरेबाट मधेस आउँदासम्म अवस्था भयावह छ’, उनले भने, ‘वरदान भएको चुरेलाई अभिशाप बनाउने काम भएको छ । यसलाई वरदान बनाइराख्न सबै लाग्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री नेपालले मेचीदेखि महाकालीसम्म कतिवटा राजमार्ग चाहिन्छ भन्ने अध्ययन नहुँदा जंगल र चुरे फाँडिएको बताए ।

परदेशको अनुभूति भइरहेछ : मुख्यमन्त्री राउत
कार्यक्रमको अर्को सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नभई परदेशको अनुभूति गरिरहेको बताए ।

‘शासकीय इकाई (प्रदेश) प्रमुख (मुख्यमन्त्री) को कि परदेश प्रमुखको अनुभूति गरिरहनुभएको छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘मुलुकमा भौगोलिक एकीकरण भयो तर भावनात्मक एकीकरण हुन सकेन । हामी (मधेसी) अझै पनि नेपाली बन्न सकेका छैनौं । परदेशकै अनुभूति गरिरहेका छौं ।’

रामजानकी विवाह मण्डपको खुला आकाशमुनि सयौं पर्यवेक्षक र स्थानीयवासीबीच मुख्यमन्त्रीलाई अर्को प्रश्न राखियो– ‘अनि तपाईंले मुख्यमन्त्री भएयता के के उल्लेखनीय कामहरू गर्नुभयो ?’

मुख्यमन्त्री राउतले आफ्ना कामको फेहरिस्त सुनाए, ‘विकास निर्माणसँगै सामाजिक रूपान्तरण अभियान सञ्चालन गरेका छौं । बेटी पढाऊ, बेटी बचाऊ अभियानले समाजमा तरंग ल्याएको छ ।’

बुक वर्म फाउन्डेसनको आयोजनामा शुक्रबारदेखि सुरु तीन दिवसीय साहित्य महोत्सवको दोस्रो दिनको तेस्रो सत्रमा मुख्यमन्त्री राउतसँग थिए, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा । विषय थियो– प्रदेश वा परदेश । मुख्यमन्त्री राउतले विद्यालय पढ्ने किशोरीलाई साइकल वितरण गर्नुलाई सामाजिक परिवर्तन अभियानका रूपमा बुझ्न आग्रह गरे ।

शनिबार विभिन्न सात शीर्षकमा विमर्श भएको थियो । रामजानकी विवाह मण्डपमा ‘चुरेको चिन्ता’, ‘प्रदेश वा परदेश’ सँगै ‘मधेसको हिमाल’ शीर्षकमा पनि मन्थन भएको थियो, जसमा कनकमणि दीक्षित, विराजभक्त श्रेष्ठसँग धीरेन्द्र प्रेमर्षिले बहस चलाएका थिए । मधेसको भोजन विषयक सत्रमा केदार शर्मा, इम्तियाज वफा र गायत्री मिश्रसँग गणि अन्सारीले कुरा गरेका थिए ।

शनिबारै जनकपुर रेलवे स्टेसनमा आयोजित ‘अध्यात्मको राजधानी’ शीर्षकमा पत्रकार चारु चढ्ढा, प्रदेशसभा सदस्य रामाशिषसँग पत्रकार तथा साहित्यकार नित्यानन्द मण्डलले वार्तालाप गरेका थिए । ‘कस्तो साहित्य, कसको साहित्य’ विषयक विमर्शमा रामभरोस कापडी, आन्विका गिरी र मनु मञ्जिलसँग अभिनेता ब्रजेश खनालले तथा ‘स्वाभिमान, सम्मान र अभिमान’ विषयक विमर्शमा प्रदेशसभा सदस्य रानी शर्मा, नारायण वाग्ले र प्रदेश २ का मुख्यन्यायाधिक्ता दीपेन्द्र झासँग कांग्रेस सांसद गगन थापाले बहस चलाएका थिए ।

प्रकाशित : कार्तिक २३, २०७६ १६:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT