कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समाजवादी पार्टी दोधारमा

बबिता शर्मा

काठमाडौँ — नेकपासँग सत्ता साझेदार समाजवादी पार्टीले सरकारले बस्ने वा बाहिरिने लगायतका विषयमा टुंगोमा पुग्न संघीय परिषद् र केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकारमा बसेर पनि राम्रो भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टीभित्र बढिरहेको आलोचना एवं एकीकरण प्रक्रियामा जोडिन खोजेको राजपाले समेत सरकारबाट बाहिरिनुपर्ने सर्त तेर्‍याईरहका बेला निष्कर्षमा पुग्न बैठक बस्न लागेको हो । आगामी बिहीबारदेखि हुने तीनदिने बैठकले समाजवादीको नेकपासँगको सत्तायात्राको भविष्य निर्धारण गर्नेछ । 

समाजवादी पार्टी दोधारमा

केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको १७ महिना बितिसक्दा पनि संविधान संशोधनमा सरकार उदासीन बनेको भन्दै नयाँ शक्ति पार्टीबाट जोडिएको समाजवादीको एउटा समूह तत्काल सरकारबाट बाहिरिनुपर्ने अडानमा छ । पूर्वसंघीय समाजवादी पार्टीको समूह भने प्रधानमन्त्रीले संविधान संशोधन हुँदैन नभनेसम्म बाहिरिन नहुने अडानमा छ ।


तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरणपछि औपचारिक रूपमा पहिलोपटक सरकारमा रहने वा नरहने भन्ने विषय बैठकको एजेन्डा बनेको महासचिव गंगानारायण श्रेष्ठले बताए । ‘समाजवादी पार्टी ससर्त सरकारमा गएको हो । सरकारले संविधान संशोधन नगर्नेर् भइसकेपछि सरकारमा बस्नुको औचित्य छैन,’ उनले भने, ‘यसको अर्थ केटाकेटी पाराले सरकार छाड्ने भन्ने पनि होइन । संघीय परिषद् र केन्द्रीय समितिको बैठक बस्दै छ । त्यहाँ यसबारे छलफल हुन्छ ।’


तत्कालीन फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुँदा पनि संविधान संशोधन नभए सरकार छाड्ने सहमति भएको नेताहरूले बताएका थिए । त्यहीअनुसार नयाँ शक्ति समूहले सरकार छाड्न बारम्बार दबाब दिँदै आएको छ ।


अध्यक्ष बाबुराम भट्टराईले सत्ताको साझेदार नभई संविधान संशोधन गर्नका निम्ति तत्काल दुई तिहाइ बहुमत पुर्‍याउन सरकारलाई साथ दिएको बताउँदै आएका छन् । डेढ वर्ष नाघिसक्दा पनि सरकारले संविधान संशोधन गर्न कुनै चासो नदिएको अवस्थामा सत्ता साझेदारी गरिहनुको औचित्य नभएको भनाइ उनले गोरखामा एउटा कार्यक्रममा व्यक्त गरेका थिए ।


सरकारबाट बाहिरिने अभिव्यक्ति अध्यक्ष उपेन्द्र यादवले दिने गरे पनि तत्काल सरकारबाट बाहिरिन नहुने मनसायमा यादव नरहेको उनी निकट एक नेताले बताए । ती नेताले भने, ‘संविधान संशोधनमा प्रधानमन्त्री ओली उदासीन देखिए पनि तत्काल सरकारबाट बाहिरिन हुँदैन भन्ने पक्षमा उहाँ (यादव) हुनुहुन्छ ।’


समाजवादीकी उपाध्यक्ष रेणु यादवले आउँदो बैठकबाटै सरकारमा बस्ने वा छोड्ने निर्णय हुने बताइन् । ‘संविधान संशोधन गर्नुपर्छ भन्ने हाम्रो कुरा हो, त्यसमा सरकारले पहल गर्नुपर्छ,’ उनले भनिन्, ‘अब के गर्ने भन्ने बैठकले निर्णय गर्छ ।’ अर्कोतर्फ, राजपा र समाजवादी पार्टीबीच पार्टी एकीकरणको छलफल अगाडि बढ्दै गर्दा राजपाले सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव राखेपछि एकीकरण प्रक्रिया रोकिएको छ । राजपाले राखेको सर्तमा समाजवादी पाटीभित्रै विवाद छ ।


एउटा पक्ष सरकार छाडेर राजपासँग पार्टी एकता गर्नुपर्ने र अर्को पक्ष भने सर्त मानेर पार्टी एकताका लागि हतार गर्न नहुने अडानमा छन् । १८ जेठ २०७५ मा ओली सरकारमा सहभागी समाजवादीबाट अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री, सुरेन्द्रकुमार यादव स्वास्थ्य राज्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् ।


उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीलाई गत पुस २२ मा बालुवाटारमा ११ बुँदे स्मरणपत्रका बुझाएका थिए । सरकारको कार्यशैली सुधार्ने र संविधान संशोधन गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने त्यसमा उल्लेख थियो ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?