कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नरभक्षी चितुवा खोज्न विज्ञ टोली

कान्तिपुर संवाददाता

तनहुँ — बस्ती र घरआँगनमा आएर आक्रमण गरी बालबालिकाको ज्यान लिने चितुवाको खोजीका लागि भानु नगर क्षेत्रका वनमा विज्ञसहितको टोली खटाइएको छ । १, २, ३ र ४ नम्बर वडाका बस्तीमा चितुवाले साँझ घर–आँगनमै खेल्दै गरेको बालबालिकालाई आक्रमण गर्ने क्रम बढेपछि त्रास छ ।

चितुवा नियन्त्रणका लागि तारन्तार गरिएका उपायमा पछिल्लो पटक विज्ञ टोली परिचालन भएको हो । जंगलमा फुट ट्र्याप र क्यामेरा ट्र्यापिङबाट निगरानी गर्दै काठका परम्परागत खोरमा बाख्रासहितको पासो थाप्ने र विशेष सुरक्षा दस्तासमेत परिचालित गर्दा पनि हालसम्म नरभक्षी चितुवा नियन्त्रणमा आउन सकेको छैन । प्रभावित क्षेत्रका बस्ती साँझ पर्दा नपर्दै सुनसान हुने गरेको छ ।


‘सरोकारवाला निकायबाट प्रयास भए पनि नियन्त्रण गर्न सकिएन,’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले भने, ‘त्यसपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको थियो । त्यो टोलीसँगै अब विज्ञ पनि छन् ।’ तिहार अगाडि आएर टोलीले प्रभावित क्षेत्रको अवस्था बुझेर गएको थियो । आवश्यक प्राविधिक सामग्रीसहित टोली फिल्डमा खटिएको जानकारी उनले दिए । चितवनबाट आएको वन्यजन्तु प्राविधिक टोलीले गस्तीको समयमा एउटा पनि चितुवा नदेखेको वन्यजन्तु प्राविधिक हर्कमान लामाले बताए । ‘चितुवाले विशेषगरी साँझ र झिसमिसे बिहानको उज्यालोमा मात्र आक्रमण गरेको पाइएकाले हामीहरू त्यही समय पारेर निगरानी गरिरहेका छौं,’ उनले भने, ‘निगरानी जारी राख्दा चितुवा पक्कै देखिएला ।’ विज्ञ टोलीका सदस्यले चितुवाको आनीबानी र विचरणको समय प्रस्ट्याउँछन् ।


भानु नगरपालिकामा १३ वडा छन् । ५ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा ९६ वटा सामुदायिक वन छन् । यिनमा ९ सय हेक्टरका फैलिएको वन चितुवा प्रभावित क्षेत्र छ । यही वन क्षेत्रसँगै जोडिएका बस्ती छन् । डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् । घटना हुन थालेदेखि नै वन डिभिजन कार्यालयले चितुवाको खोजी सुरु गरेको थियो ।


जिल्ला प्रशासन कार्यालयले नरभक्षी चितुवालाई गोली हानी मार्ने निर्देशन जारी गरिसकेको छ ।


प्रकाशित : कार्तिक २३, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?