कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भक्कानिइरहन्छन् डा. केसी

डीआर पन्त

(डडेलधुरा) — दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा. गोविन्द केसी अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए । त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी, कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए ।

भक्कानिइरहन्छन् डा. केसी

भेट्न आउनेहरूसँग कुरा गरिरहँदा डा. केसी बेलाबेला भक्कानिन्छन् । यो देखेर आउनेहरूको मन थामिँदैन । उनीहरूका आँखा रसाइहाल्छन् । शुक्रबार पनि त्यस्तै भयो, ऐर र बलायरसँगको भेटमा । ‘म आफू र आफन्तका लागि या कुनै माफियाको फाइदाका लागि अनशन बसेको हुँदै होइन,’ डा. केसी भन्दै थिए, ‘बाजुरादेखि ओखलढुंगासम्मका गरिब जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भनेर अनशन बसेको हुँ ।’


डडेलधुरा अस्पताल नजिकैको एउटा चिसो कोठामा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका डा. केसीलाई भेट्न आउने जोसुकैलाई पनि उनी भन्न छुटाउँदैनन्, ‘संविधानले दिएको अधिकार माग्दा सरकारले अपराधी जस्तो व्यवहार गर्‍यो । राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी भएन ।’ जुन अधिकार जनताका नाममा नेताले सहजै उपभोग गरिरहेका छन्, त्यो अधिकार सर्वसाधारणले नपाएको डा. केसीको आरोप छ । ‘स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्रबाट हुने अवैध आम्दानीका कारण यसको सुधारका लागि कुनै पनि सरकारले उत्साह देखाएनन्,’ उनले गुनासो गरे । विगतका सरकारले आफूसँग के कस्ता सम्झौता गरे ? प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका कस्तो रह्यो ? आफ्ना मागप्रति दलका शीर्ष नेताले कस्तो व्यवहार गरे भन्नेलगायत विवरण सुनाउँदा उनी आफैंलाई सम्हाल्न सक्दैनन् । र, भक्कानिन्छन् ।


अनशन बसेको पाँचौं दिनसम्म राज्यका निकाय र जनप्रतिनिधिले डा. केसीका मागमा चासो देखाएका छैनन् । ‘यति पवित्र भावना बोकेर जनताका लागि लड्ने अभियन्ता मैले कमै देखेको छु,’ भाटले भने, ‘डा. केसीका विचार सुनेर सेवाको परिभाषा के हो भन्ने बुझ्न पाएँ ।’ उनको आफ्नो भन्नु कोही छैन । जे छ गरिब जनताका लागि हो । जीवनभरि उनले जे गरे, सबै सेवाभावबाट गरेको गरेको भाटको बुझाइ छ ।


डा. केसीका माग सम्बोधनमा सरकारको चासो गएको छैन नै, उसले ‘माथिको आदेश’ का नाममा सरकारी कर्मचारीलाई भेटमा समेत अघोषित प्रतिबन्ध लगाएको छ । डोटी, बैतडी, दार्चुला र अछाम, बझाङबाट समेत विभिन्न सामाजिक क्षेत्रमा कार्यरत व्यक्ति डा. केसी भेट्न आउने गरेका छन् । डडेलधुरा प्रशासन, सत्तारूढ राजनीतिक दलका नेता कार्यकर्ता, उनी अनशन बसेको स्थान अमरगढी नगरपालिकाका जनप्रतिनिधिलगायत दलको ह्वीप लाग्ने संघसंस्थाका प्रतिनिधिले समेत डा. केसीलाई भेटेका छैनन् । सत्तारूढ नेकपालगायत दलका नेताकार्यकर्ता भने डा. केसी जस्ता व्यक्तिको मानमर्दन हुने गरी चोकचौराहमा आलोचना गरिरहेको अवस्थामा भेटिने गरेको स्थानीय लक्ष्मी पाण्डेयले बताए । ‘दलका कार्यकर्तामा सही कुरालाई सही र गलत कुरालाई गलत भन्न नसक्ने दास मानसिकताका कारण गोविन्द केसीहरूले अनशन बस्नुपरेको हो,’ उनले भने ।


डा. केसीका मागप्रति आफ्नो भावनात्मक समर्थन रहे पनि उनलाई सहयोग गर्न सक्ने अवस्थामा आफूहरू नरहेको एक जना सरकारी अधिकारीले बताए । ‘केसीको स्वास्थ्य स्थिति र सुरक्षाका विषयमा प्रशासनले समन्वय गरिरहेको छ । सरकारबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन,’ डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने, ‘डा. केसीका माग सबै राज्यले गर्नॅपर्ने सम्बोधनका विषय हुन् । त्यसैले मेरो तर्फबाट हुनुपर्ने सबै कुरा हेरिरहेको छु ।’ अनशनको समर्थनमा सुदूर पहाडका प्राय: सबै जिल्लाका नागरिक अगुवा र नागरिक संघसंस्थाले ऐक्यबद्धता जनाउँदै आएका छन् । डडेलधुरामा पनि विभिन्न संघसंस्थाको आयोजनामा शुक्रबार र्‍याली निकालिएको छ । यसअघि नागरिक समाज डडेलधुराले उनका मागप्रति सचेत हुन प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।


डा. केसीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ उनलाई डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

प्रकाशित : कार्तिक २३, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?