आँगनमै सीमास्तम्भ

कान्तिपुर संवाददाता

काँकडभिट्टा — वयोवृद्ध वीरबहादुर सुब्बा त्यसबेलादेखि मेचीनगर–११ भान्साखोलामा छन्, जब जंगल फडानी गरेर बसोबास सुरु भयो । जंगलले ढाकेको क्षेत्रमा खोरिया फाँडेर बस्ती बसाउनेमा उनी अगुवा हुन् ।

२०३२ देखि उनले बसाएको बस्ती अहिले भारतको जमिन बनेको छ । भारतले करिब ३५ वर्षअघि जमिन अतिक्रमण गरेर रातारात सीमास्तम्भ गाडेको थियो । २०४२ सालतिर यहाँ नापी भएको स्थानीय पाकाहरूको भनाइ छ । त्यही क्रममा भारतले एकलौटी रूपमा नेपाली भूभाग मिचेर सीमास्तम्भ गाडेको सुब्बाले दाबी गरे । ‘रातारात पिलर गाडेछन्,’ उनले भने, ‘आफ्नो माटो भारतले लगेको पत्तै पाइएन ।’

भूमि अतिक्रमण भएको थाहा पाएपछि स्थानीयले विरोध गरे । कतैबाट सुनुवाइ भएन । वीरबहादुरसँगै करिब १५ घरधुरी भारतीय जमिनमा परेको छ । भारतले आफ्नो दाबी गरेको यो जमिनलाई नेपालीहरूले नै कमाइरहेका छन् । तर, मेचीनगरपालिकाले विवादित यो जमिनमा स्थानीयका लागि पानी, बिजुली, सडक आदि पूर्वाधारमा भने लगानी गरिरहेकै छ । स्थानीय अमृत लिम्बू अतिक्रमित भूमि फिर्ता हुनुपर्छ भन्ने पक्षमा छन् ।

स्थानीयका अनुसार करिब ६० बिघा जमिन भारतले अतिक्रमण गरी सीमास्तम्भ गाडेको पाइएको छ । नापी भएका बेला भारतले ५० र ५१ नम्बरका स्तम्भ साविकको नेपाली जमिनभन्दा करिब ५ सय मिटर वरै गाडेको हो ।

स्थानीय कृष्णप्रसाद उप्रेतीका अनुसार नेपाल र भारतको संयुक्त टोलीले यो क्षेत्रको नापी गरेको थियो । ‘भारतीय टोलीले एकपक्षीय रूपमा सिमाना मिचेर स्तम्भ राख्दा नेपाली अधिकारीको टोली दार्जिलिङ घुम्न गएको थियो । पहिला नेपालको सिमाना मेची खोलासम्म थियो,’ उनले भने, ‘अहिले मेचीभन्दा ५ सय मिटर वरसम्म मात्रै सिमाना कायम छ ।’

पुराना बासिन्दा भजन चौधरीका अनुसार ०२९ सालताका भेषबहादुर थापा आयोगले अस्थायी धनीपुर्जा उपलब्ध गराएको थियो । तर, ०४२ सालमा भारतको अतिक्रमणपछि धनीपुर्जा स्थायी बन्ने प्रक्रिया अलपत्र छ । ‘हामी हिजो आएर बसेका होइनौं,’ चौधरीले भने, ‘५० वर्षदेखि बस्दै आएका छौं ।’

प्रकाशित : कार्तिक २२, २०७६ २१:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रंगशाला रुँग्दै मन्त्री(तस्बिरहरु)

कुशल तिमल्सिना, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — मन्त्रालयमा मुस्किलले भेटिन्छन्– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । अचेल उनको दिनचर्या फेरिएको छ– मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै दशरथ रंगशाला पुग्नु र राति १०/११ बजेसम्म त्यहीँ रहेर प्रत्यक्ष निगरानी गर्नु । कात्तिक १४ देखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नवनिर्मित खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको भवनमा सचिवालय स्थापना गरी मन्त्री विश्वकर्माले साग तयारीलाई नजिकबाट निगरानी सुरु गरेका हुन् ।

मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै परिषद् आउने र राति १०/११ बजेसम्म रंगशालामै रहेर सम्पूर्ण तयारीमा प्रत्यक्ष अनुगमन गर्नु मन्त्रीको दिनचर्या बनेको हो । सागको १३ औं संस्करण मंसिर १५ देखि २४ सम्म नेपालमा हुँदै छ । प्रतियोगिताको उद्घाटन र समापनसहितको मुख्य खेलस्थल दशरथ रंगशाला नै तयार हुनसकेको छैन । निर्धारित समयमै प्रतियोगिता गर्नुपर्ने बाध्यात्मक अवस्थाबीच पछिल्लो केही सातादेखि रंगशाला बनाउने कामले उल्लेख्य गति लिएको छ । त्यसमा एउटै कारण हो, निर्माणस्थलमा खेलकुद मन्त्रीको ‘धर्ना’ ।

राष्ट्रको प्रतिष्ठासँग जोडिएको १३ औं साग आयोजनाको मिति दुई पटक सरेर मंसिरका लागि तय भएको हो । यसपालि पनि निर्धारित समयमै प्रतियोगिता आयोजनाप्रति ढुक्क नभएपछि युवा तथा खेलकुदमन्त्री विश्वकर्मा आफैं निर्माणस्थलमा खटिएका हुन् ।

सरकारको बहालवाला मन्त्रीबाटै प्रत्यक्ष निगरानी भएपछि ठेकेदार कम्पनीलाई दबाबमात्र भएको छैन, उसले स्रोतसाधनको आपूर्ति पनि सहज रूपमा पाएको छ । साग आयोजनाका लागि २२ दिनको समय बाँकी छँदा अहिले दशरथ रंगशाला तयार गर्न सय बढी कामदारले दुई सिफ्टमा काम गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७६ २१:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×