ठोक्किए दुई जहाज

रासस

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जथाभावी पार्किङका कारण दुई जहाज ठोक्किका छन् । प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो दुई जहाज ठोक्किएका छन् । 

आन्तरिक उडानका दुई ठूला वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स र श्री एयरलाइन्सका जहाज आपसमा ठोक्किएका छन् । श्री एयरलाइन्सको सिआरजे ७०० जहाजले अवतरणपछि पार्किङतर्फ लैजाने क्रममा पार्किङमा रहेको यती एयरलाइन्सको एटिआर–७२ जहाजलाई ठक्कर दिएको हो ।

श्रीको जहाजको दायाँतर्फको पखेटाले रोकिरहेको यतीको जहाजको पछाडितिर ठक्कर दिएको थियो । सामान्य मर्मतपछि जहाज सञ्चालनमा आउने विमानस्थलले जनाएको छ ।

यो घटनालाई एयरलाइन्सका सञ्चालकहरु साँघुरो व्यवस्थापनले गर्दा समस्या आएको बताउँछन् । तर, विमानस्थलको प्रशासनले जहाजको चाप बढे पनि उडान व्यवस्थापनलाई सहज र प्रभावकारी बनाइएको जिकिर गरेको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले साँघुरो पार्किङमा जथाभावी जहाज पार्किङ गरेका कारण विमानस्थलको आन्तरिक उडान अव्यवस्थित बनेको बताए । विमानस्थल र एयरलाइन्सका प्राविधिकले ठोक्किएको जहाजको निरीक्षण गरी आवश्यक मर्मत गरिसकेको बताइएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले श्रीएयरको जहाजले अवतरणपछि पार्किङमा लैजाने क्रममा पार्किङमै रहेको यतीको जहाजको पछाडी सामान्य ठक्कर दिएको र मर्मतपछि सञ्चालनमा आउने बताए ।

विमानस्थलको आन्तरिकतर्फ पार्किङमा १८ देखि २० वटा जहाजको क्षमता रहे पनि ३० वटाभन्दा बढी जहाज पार्किङ गरिँदै आइएको छ । विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन । आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति नौ बजेसम्म उडान हुने गरेको छ । आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रकाशित : कार्तिक २२, २०७६ १८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वडाध्यक्ष सहित २८ जुवाडे पक्राउ

आश गुरुङ

लमजुङ — प्रहरीले कौडा (जुवा) खेल्दै गरेको अवस्थामा वडाध्यक्षसहित २८ जनालाई पक्राउ गरेको छ । राइनास नगरपालिका ७ का वडाध्यक्ष माधव पराजुलीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

धमिलिकुवाको पाँचभाइ चौताराबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर राजेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति साढे १२ बजेदेखि पौने १ बजेको समयमा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । ‘गोप्य सूचनाको आधारमा हामी खोज्दै गयौं । पाँचभाइ चौताराको गणेश गुरुङको घरमा खेल्दै गरेका रहेछन् । हामीले सबैलाई पक्राउ गर्न सफल भयौँ’ उनले भने ।

पक्राउ पर्नेहरु मध्ये राइनास नगरपालिका ७ का ७ जना र वडा नम्बर ६ का १० जना छन् । सुन्दरबजार बजार नगरपालिका र मध्यनेपाल नगरपालिकाका १/१ जना छन् । छिमकी गोरखाको पालुङटार नगरपालिकाका ९ जना रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्तबहादुर रानाले बताए । गणेश गुरुङ आफैं प्रहरीमा आउने भनेकाले उनलाई भने पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ । जुवाको २ खालबाट ८३ हजार २ सय ३५ रुपैयाँ र उनीहरुका साथबाट ८८ हजार ३ सय ७७ रुपैयाँ बरामद गरिएको उनले बताए ।

यस्तै, ३२ वटा कौडा समेत बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार ८ दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको इन्सपेक्टर रानाले बताए ।

प्रकाशित : कार्तिक २२, २०७६ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT