कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्ष सहित २८ जुवाडे पक्राउ

आश गुरुङ

लमजुङ — प्रहरीले कौडा (जुवा) खेल्दै गरेको अवस्थामा वडाध्यक्षसहित २८ जनालाई पक्राउ गरेको छ । राइनास नगरपालिका ७ का वडाध्यक्ष माधव पराजुलीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष सहित २८ जुवाडे पक्राउ

धमिलिकुवाको पाँचभाइ चौताराबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय भोटेओडारका इन्सपेक्टर राजेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति साढे १२ बजेदेखि पौने १ बजेको समयमा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । ‘गोप्य सूचनाको आधारमा हामी खोज्दै गयौं । पाँचभाइ चौताराको गणेश गुरुङको घरमा खेल्दै गरेका रहेछन् । हामीले सबैलाई पक्राउ गर्न सफल भयौँ’ उनले भने ।


पक्राउ पर्नेहरु मध्ये राइनास नगरपालिका ७ का ७ जना र वडा नम्बर ६ का १० जना छन् । सुन्दरबजार बजार नगरपालिका र मध्यनेपाल नगरपालिकाका १/१ जना छन् । छिमकी गोरखाको पालुङटार नगरपालिकाका ९ जना रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बसन्तबहादुर रानाले बताए । गणेश गुरुङ आफैं प्रहरीमा आउने भनेकाले उनलाई भने पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।


उनीहरुको साथबाट १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ । जुवाको २ खालबाट ८३ हजार २ सय ३५ रुपैयाँ र उनीहरुका साथबाट ८८ हजार ३ सय ७७ रुपैयाँ बरामद गरिएको उनले बताए ।


यस्तै, ३२ वटा कौडा समेत बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार ८ दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको इन्सपेक्टर रानाले बताए ।

प्रकाशित : कार्तिक २२, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?