अकुपाई टुँडिखेल : टोलटोलमा घन्कियो धिमे र भुस्या

दामोदर न्यौपाने

काठमाडौँ — कक्षा ८ मा पढ्ने सितास्मा राम्जेत धिमेबाजा बजाउँदै वसन्तपुरको तल्लो सहर (दक्षिण कोलिग्राम) का बस्ती बस्ती घुमिन् । ११ कक्षामा पढ्ने मुकान स्थापितले पनि  भुस्या बाजा बजाउँदै टोल परिक्रममा गरे ।

अकुपाई टुँडिखेल : टोलटोलमा घन्कियो धिमे र भुस्या

भुस्या र धिमे बोकेका युवायुवतीदेखि बालबालिकाको समूहले बिहीबार र शुक्रबार प्राचीन सहर संगितमय बनाए ।

पहिलो दिन तल्लो टोल र दोस्रो दिन माथिल्लो टोल परिक्रमा गरेका थिए । ‘सांस्कृतिक रुपमा तल्लो टोल र माथिल्लो टोलमा विभाजित छ यो प्राचीन सहर,’ सांस्कृतिक बाजा व्यवस्थापन गर्ने दुलाक्षी परिवार क्लबका अध्यक्ष श्याम महर्जनले भने, ‘अकुपाइ टुँडिखेल अभियानलाई सफल बनाउन आहृान गर्दै हामीले बस्ती/बस्ती उत्सवमय बनाएका छौं ।’

खुला ठाउँ यहाँका नेवार बस्तीको सम्बन्ध जोडिएकाले हामी पनि सहभागी छौं है भनेर सन्देश दिन टोलटोल घुमेको फेगधिमेबाजा खलका अनुप श्रेष्ठले बताए । ‘बाजाले संस्कृति जोगाउँछ,’ उनले भने, ‘टुँडिखेल पनि हाम्रो एक किसिमको संस्कृति हो । त्यही भएर त्यहाँ पनि बाजा जोडेका हौं । शनिबार हुने अकुपाइ टुँडिखेलमा पनि हामी नेवारी बाजा घन्‌काउँछौं ।’

अकुपाइ टुँडिखेलका नाममा राजनीति : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘अकुपाई टुँडिखेल’ राजनीतिक रंगको संज्ञा दिएका छन् । शंखधर दिवसको अवसर पारेर विष्णुमति किनारामा निर्माणधिन पार्कमा आयोजित कार्यक्रममा मेयर शाक्यले भने, ‘अकुपाइ टुँडिखेल अभियानलाई राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्र बनाउनु हुदैन ।’

अकुपाई टुँडिखेल अभियानमा सहभागी हुन सम्पदा संरक्षण अभियानले निम्ता दिन खोजेपनि मेयर शाक्यले समय दिएनन् । ‘हामीले भेट्न खोज्यौं, भेट दिनुभएन । फोन गर्‍यौं, फोन पनि उठाउनु भएन,’ अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने । मेयर शाक्यले भेट नदिएपछि उनीहरुले यही कार्यक्रमस्थलमा गएर निम्ता दिएका थिए । निम्ता ग्रहण गरेपछि मेयर शाक्यले मञ्चबाट राजनीतिक रंग नदिन आग्रह गरेका थिए ।

‘अकुपाई टुँडिखेल अभियान सञ्चालन गर्ने कुरा आएको छ,’ शाक्यले भने, ‘टुँडिखेल खोल्नु पर्छ भन्ने मागमा महानगर सकारात्मक छ । खुलामञ्चमा चिनियाँ ठेकेदार केही समयलाई बसेका हुन् । उनीहरुले त्यहाँ छाड्छन् । महानगरको संस्कृति जोगाउने दायित्व महानगरको पनि हो । तर अभियानको नाममा राजनीतिक उद्देश्य पूरा गर्ने र जस लिने काम गर्नु हुँदैन ।’ अकुपाइ टुँडिखेलमा कांग्रेस सांसद भीमसेनदास श्रेष्ठ लगायतको सक्रियता बढेपछि मेयर शाक्यले उनलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

जनताको अभियान हो, म सहभागी हुन्छु : उममेयर खड्गी

महानगरका मेयर शाक्यले अगुपाईँ टुँडिखेलको नाममा राजनीती भएको अभिव्यक्ति दिए लगत्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भने यो अकुपाई टुँडिखेलमा राजनीतिक नभएको बताएकी छन् । यो जनताको अभियान भएकाले जनतालाई साथ दिनुपर्ने उनले बताइन् । ‘हामी जनताबाटै चुनिएका हौं । जनताले प्रयोग गर्न पाउनु पर्ने टुँडिखेल अतिक्रमण भएकै हो । यसलाई हटाउन जनताले हाम्रो साथ खोजेका छन् । जनताले बोलाएको ठाउँमा म सहभागी हुन्छु,’ खड्गीले भनिन्, ‘म मात्र होइन, मैंले अरुलाई पनि सहभागी हुन आहृवान गरेको छु ।’

के हुँदैछ अकुपाई टुँडिखेलमा ?

काठमाडौंको स्वच्छ हावाको स्रोत टुँडिखेल भएकाले यसलाई अतिक्रमणबाट जोगाउन अभियान सञ्चालन गरेको आयोजकले बताएका छन् । भूमिगत जलभण्डारको स्रोत, महांकाल, दुइमाजु तथा रैथानले स्टदेवताको लगायत अन्य कैंयौ मूर्ति छन् यहाँ । ‘यो सांस्कृतिक सम्पदाले भरिएको क्षेत्र हो,’ अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘यहाँ पाहाचार्य, घोडेजात्रा, गुरुमार्पालाई भात खुवाउने रुख जस्ता कैंयौं सांस्कृतिक गतिविधि हुन्छन् ।’

राजनीतिक परिवर्तनको बेला अभिव्यक्ति दिने ठाउँ, दैविप्रकोपको बेला आश्रय लाग्ने ठाउँ, सर्वसाधारणको खेलकुद व्यायाप गर्ने ठाउँ समेत हो यो । यहाँ अहिले अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क बनाउनु, अनधिकृत रुपमा पसल सञ्चालन, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ, विभिन्न बहानामा ढलान गर्ने क्रम बढ्नु, खुला ठाउँमा जनताको पहुँच नहुनु जस्ता समस्या छन् ।

‘यस्तो अवस्थाबाट मुक्त गराउन सरोकारवाला निकाय र जनप्रतिनिधिलाई हामीले जस्तै तोकेको कर्तव्य पालना गराउन घचघच्याउने उद्देश्यले विश्व स्वतन्त्रा दिवसको अवसरमा टुँडिखेल मानव सांगलोले घेर्ने कार्यक्रम राखेका हौं,’ तुलाधर भन्छन्, ‘यो अभियानले अरु ठाउँका पनि खुला क्षेत्र जोगाउन जागरण ल्याउने विश्वास लिएका छौं ।’ तीन महिनाको अवधि तोकेर अल्कपकालीन र दिर्घकालीन कार्यक्रम घोषणा समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्:

अतिक्रमणको चपेटामा ‘गुरुमार्पा वृक्ष’

प्रकाशित : कार्तिक २२, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?