१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेडियोलोजीमा ठगी : योग्यताबिनै काम गर्छन् अल्ट्रासोनोग्राफर

अयोग्य र मेडिकल काउन्सिलमा दर्तासमेत नभएका अल्ट्रासोनोग्राफरले व्यावसायिक रुपमा अल्ट्रासाउन्डलगायत रेडियोलोजीसम्बन्धी काम गरेर बिरामी ठगिरहेका छन् 
फातिमा बानु

काठमाडौँ — गत वैशाखमा पुतलीसडकस्थित शुभ अल्ट्रासाउन्ड क्लिनिकबाट ४१ वर्षीया सीता अधिकारीको पेटको अल्ट्रासाउन्ड भयो । उनको रिपोर्टमा पी बिदारी नाम गरेका व्यक्तिको हस्ताक्षर छ । रिपोर्टमुनि उनको योग्यता ‘वरिष्ठ मेडिकल सोनोग्राम अफिसर’ उल्लेख छ । 

रेडियोलोजीमा ठगी : योग्यताबिनै काम गर्छन् अल्ट्रासोनोग्राफर

स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार सोनोग्राम अफिसरलाई अल्ट्रासाउन्ड खिच्ने अनुमतिमात्रै छ, रिपोर्ट लेख्न पाउँदैनन् । चिकित्सा शास्त्रमा स्नातक तह गरी रेडियोलोजी विषयमा तीनवर्षे अध्ययन स्नातकोत्तर (एमडी) गरेकाले मात्रै रेडियोलोजी र इमेजिङको रिर्पोटिङ गर्न पाउने उल्लेख छ ।


गत फागुनमा काभ्रे पाँचखालका ७६ वर्षीय भीमसेन श्रेष्ठले धुलिखेलको पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड हस्पिटलबाट अल्ट्रासाउन्ड गराए । कलेजो, मिर्गौला र मूत्रनलीको विस्तृत अवस्थाको रिपोर्ट आयो । रिपोर्ट लेख्ने व्यक्ति चिकित्सक भए पनि विशेषज्ञ रेडियोलोजिस्ट होइनन् । अल्ट्रासोनोलोजिस्ट डा. विदुर श्रेष्ठको नामबाट उनको रिपोर्ट लेखिएको छ ।


फागुनमै काठमाडौंकी पवित्रा महर्जनले कालिमाटी क्लिनिकबाट अल्ट्रासाउन्ड गरिन् । क्लिनिकले उनलाई पाठेघरसम्बन्धी समस्या भएको रिपोर्ट दियो । तर उनको रिपोर्ट लेख्ने व्यक्ति सामान्य स्वास्थ्यकर्मीमात्रै हुन् । रिपोर्ट लेख्ने चेतन श्रेष्ठले चीनबाट क्लिनिकल अल्ट्रासोनोग्राफीमा तालिम लिएको भए पनि नियमअनुसार उनलाई व्यावसायिक रूपमा अल्ट्रासाउन्ड गर्ने र रिपोर्ट लेख्ने अनुमति छैन ।


गत वर्ष असोजमा ३५ वर्षीया सुकुमाया पौडेलले कुपन्डोलस्थित डाइबेटिज, थाइराइड एन्ड इनक्राइनोलोजी केयर सेन्टरबाट पेटको अल्ट्रासाउन्ड गराइन् । गर्भवती अवस्था जटिल भएको रिपोर्ट आयो । उनको रिपोर्ट लेख्ने व्यक्ति योग्य चिकित्सक होइनन, अल्ट्रासोनोग्राफरमात्रै हुन् ।


राजधानीका गल्लीगल्लीमा खुलेका क्लिनिकबाट रेडियोलोजी गराउने बिरामी अयोग्य व्यक्तिबाट ठगिइरहँदा उनीहरूलाई पत्तोसमेत छैन । विशेषज्ञता नभएका र मेडिकल काउन्सिलमा दर्तासमेत नभएका अयोग्य व्यक्ति अल्ट्रासोनोग्राफरले व्यावसायिक रूपमा अल्ट्रासाउन्डलगायत रेडियोलोजीसम्बन्धी काम गरेर बिरामी ठगिरहेका छन् ।


सोनोग्राफर भनिने व्यक्तिले विदेशबाट केही महिना तालिम लिएकै भरमा क्लिनिक खोलेर व्यवसाय गरिरहेका छन् ।


विशेषगरी सोनोग्राफर र रेडियोग्राफरले पैसा कमाउने लोभमा यस्ता गैरकानुनी काम गरिरहेका हुन् । कतै सर्टिफिकेट लेभल पास गरेका प्राविधिक र आयुर्वेद चिकित्सकले समेत सिटी स्क्यानको काम गरिरहको पाइएको छ ।


नेपाल रेडियोलोजी संघका अध्यक्ष डा. दानबहादुर कार्कीका अनुसार रेडियोलोजिस्टबाहेक तालिमप्राप्त व्यक्तिले कुनै अस्पतालभित्र वरिष्ठ चिकित्सकको निगरानीमा बसेर मात्रै अल्ट्रासाउन्ड र रिपोर्टिङ गर्न मिल्छ । ‘तालिम लिए पनि बाहिर क्लिनिकबाट व्यावसायिक रूपमा यस्ता काम गर्न मिल्दैन,’ उनले भने, ‘रेडियोलोजी विशेषज्ञ नभएको दुर्गममा यस्तो काम भएको भए फरक हुन्थ्यो, राजधानीमै यस्तो भइरहेको छ ।’ उनका अनुसार अयोग्य व्यक्तिले रेडियोलोजीको काम गर्दा बिरामीको रोगको ठोस पहिचान हुन सक्दैन वा पहिचान नै गलत हुन सक्छ ।


अल्ट्रासोनोग्राफी नेपालमा पढाइ हुने विषय भए पनि विदेशमा केही महिने तालिम लिएको भरमा नामको अगाडि अल्ट्रासोनोलोजिस्ट लेखेर अवैध काम भइरहेको डा. कार्कीले बताए ।


चिकित्सा विधामा रेडियोलोजी भित्रिएसँगै उपचार प्रक्रिया सजिलो भएको छ । रेडियोलोजीमा एक्स–रे, सीटी स्क्यान, मेमोग्राम, फ्लुरोस्कोपी, एन्जियोग्राफी, अल्ट्रासाउन्ड, एमआरआई उपकरणबाट रोग पत्ता लगाएर निदान गरिन्छ । शल्यक्रिया गर्दा शरीर चिरेर ठूला घाउ बनाउनुपर्ने बिरामीको समस्या पनि रेडियोलोजीले कम गरिदिएको छ । यसैको दुरुपयोगका कारण बिरामीको स्वास्थ्यमाथि खेलवाड पनि उत्तिकै हुँदै गइरहेको छ ।


रेडियोलोजीमा भइरहेका गैरकानुनी कामबारे जिम्मेवार निकायले कारबाही अघि बढाएका छैनन् । खबर भए पनि यसलाई न्यूनीकरण गर्न कुनै कदम चालेको पाइँदैन । संघले मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय र अख्तियार

दुरुपयोग अनुसन्धान आयोगमा समेत बारम्बार चिठी लेखेर यसबारे ध्यानाकर्षण गराए पनि बेवास्ता गरिरहेको अध्यक्ष कार्कीले बताए ।


प्रकाशित : कार्तिक २२, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?