टुँडिखेल नै रहेन भने ?

हिमेश

काठमाडौँ — टेबहाल, संकटा मन्दिरमा शनिबार दर्शनार्थीको निकै भीड लागेको छ । त्यहीँ एक छेउमा केही स्थानीय बूढापाका गफ गरिरहेका छन् । विषय रहेछ, खुम्चिइरहेको टुँडिखेल । उनीहरूको चिन्ता थियो, संकटासँग सिधा सम्बन्ध रहेको टुँडिखेल दिनदिनै खुम्चिँदै छ । अतिक्रमणले थिलथिएको छ । कुनै दिन टुँडिखेलकै अस्तित्व हरायो भने ? मन्दिरमा भीड लागेर मात्र के मजा, टुँडिखेल नै रहेन भने ?

प्रश्न संकटाको मात्र होइन । टुँडिखेलबिना समग्र काठमाडौंकै कल्पना गर्न सकिएला ? अहिले जसरी टुँडिखेलको जग्गामा अतिक्रमण भइरहेको छ, यो क्रम यसैगरी जारी रह्यो भने एक दिन टुँडिखेल हराएर जाने निश्चित छ । त्यतिबेला यो काठमाडौं वास्तवमै काठमाडौं रहनेछ त ? संकटाका स्थानीय बूढापाकाले यही प्रश्न उठाए । उनीहरू भन्छन्, ‘टुँडिखेललाई पुरानै स्वरूपमा ल्याउन सक्ने हो भने मात्र काठमाडौं वास्तविक काठमाडौं हुनेछ ।’

यसमै जोडिन्छन्, गुरुमापा पनि । यी राक्षसी पाराका थिए । केशचन्द्रले नै उनलाई आफ्नो घरमा ल्याएका थिए । त्यहाँ गुरुमापाको ज्यादती बढेपछि उनलाई टुँडिखेलमा राख्ने निर्णय भयो । भद्रकाली नजिकको रूखमा उनको बासस्थान बनाइयो र त्यहाँ उनलाई प्रत्येक दिन खाना पुर्‍याइने वचन दिइयो । त्यो रूख अझै छ, प्रत्येक वर्ष फागुपूर्णिमाका दिन इटुम्बहालबाट त्यहाँ खान पुर्‍याउने चलन कायम छ ।

टुँडिखेल पुर्‍याइएपछि गुरुमापाले सोधेछन्, ‘यहाँ मेरो के काम त ?’ उनलाई काम दिइयो, इँटाका तीन टुक्रा कतै जोडिएको देखियो भने त्यसलाई अलग पार्ने । अझै पनि विश्वास छ, टुँडिखेलमा राति तीन टुक्रा इँटा जोडेर राखियो भने भोलि बिहान ती सँगै हुँदैनन् । विश्वास के पनि छ भने, गुरुमापा रहेको रूखको छेउछाउ बच्चाहरू जानु हुन्न ।

फेरि संकटामै फर्कने हो भने त्यहाँ १२ वर्षमा एकपटक गथु प्याखँ (नाच) हुन्छ र त्यसक्रममा ‘देवगण’ का लागि भनेर टुँडिखेलमै बोका छोडिन्छ । देवगणको भूमिकामा रहेकाले त्यो बोकालाई समात्ने गर्छन् । घोडेजात्राको भोलिपल्ट मनाइने ‘पाँहाचह्रे’ पर्वको अवसरमा यही टुँडिखेलमा देवगणबीच चिराग आदानप्रदान गरिन्छ ।

धेरैअगाडि होइन, केही दशकअघिसम्म पनि टुँडिखेल अहिलेको रत्नपार्कदेखि दशरथ रंगशालासम्म जोडिएको थियो भन्ने पुस्ता जिउँदै छन् । विभिन्न नाममा यो पटकपटक टुक्रिँदै आयो । सहिदगेटको बीचको बाटो बनेपछि यो फेरि एकपल्ट टुक्रियो । त्यसयता ठूलो आकारको टुँडिखेललाई ‘ठूलो टुँडिखेल’ भनियो । सेनाले लिएको अर्को छेउको भागलाई ‘सानो टुँडिखेल’ । यही सानो टुँडिखेल भएर भद्रकालीमा पूजा गर्न जाने चलन केही वर्षअघिसम्म कायम थियो । संकटकालमा रोकिएको यो क्रम फेरि सुरु भएको छैन ।

सेनाले सहयोग गर्नुपर्छ
टुँडिखेल कतै राज्यको कब्जामा त कतै माफियाको कब्जामा छ । त्यो कब्जाबाट मुक्त गर्ने महत्त्वाकांक्षी अभियानमा जुटेका हौं । पहिलो चरणमा सफाइ गर्नेदेखि पार्किङ हटाउनेसम्म काम हुनेछ । दोस्रो र तेस्रो चरण अलि जटिल हुनेछन् । धेरै भौतिक संरचना सेनाले बनाएको छ । सेना पनि जनता नै हो । भोलि रिटायर्ड भएपछि सेना जनता नै हुने हो । त्यही भएर जनताको खुला ठाउँ खाली गर्न सेना पनि लाग्छ भन्ने हामीलाई विश्वास छ ।
–विजय श्रेष्ठ
संयोजक, अकुपाई टुँडिखेल
...
हेर्नलायक बनाउनुपर्छ
टुँडिखेल बालबालिकाको खेल्ने ठाउँ र बूढाबूढीका लागि थकाइ मार्ने थलो हो । आपत्विपत् पर्दा ओत लाग्ने ठाउँ पनि यही हो । पछि आएर यो राजनीतिक थलो बन्यो । खुलामञ्च नभएको भए ठूलाठूला राजनीतिक परिवर्तन हुँदा भाषण गर्ने ठाउँ नै हुने थिएन । यो राजधानीवासीले स्वच्छ हावा लिने ठाउँ पनि हो । काठमाडौं बस्नलायक मात्र होइन, हेर्नलायक ठाउँ पनि बनाउनुपर्छ भन्ने एउटा अभियानको सुरुवात हो, अकुपाई टुँडिखेल ।
–भीमसेनदास प्रधान
सांसद, संघीय संसद्
...
बालबालिका कहाँ खेल्ने ?
काठमाडौंको सम्पदाबारे विश्वभर चर्चा छ । हाम्रा सम्पदा अध्ययन गर्न विदेशी आउँछन् । तर हामी त्यही सम्पदा मासिरहेका छौं । टुँडिखेल कामको तनावबाट मुक्त हुने र हाम्रा बालबालिका रमाउने ठाउँ हो । यही ठाउँ अहिले कुरूप भएको छ । अब कहाँ खेल्ने हाम्रा बालबालिका ? ज्येष्ठ नागरिक कहाँ सुस्ताउने ? अब बोल्नुपर्ने बेला आयो । अहिले नबोले भोलि गुनासो गरेर हुँदैन । त्यही भएर हामी अकुपाई टुँडिखेल अभियानमा जुटेका छौं ।
– विराजभक्त श्रेष्ठ
सांसद, प्रदेश–३
...
टुँडिखेल यतिमात्रै होइन
खुला ठाउँ मासिएर हामी उकुसमुकुस भइसक्यौं । यो अभियान रानीपोखरीदेखि दशरथ रंगशालासम्म खुला गर्ने अभियान हो । धेरैलाई टुँडिखेल भनेको सहिदगेटभन्दा उत्तर र खुलामञ्चभन्दा दक्षिण भन्नेमात्रै परेको छ । त्यतिमात्र होइन । रानीपोखरीदेखि त्रिपुरेश्वरसम्मको भूभाग फिर्ता ल्याएर पुरानै अवस्थामा खुला ठाउँ बनाउन हामी दबाब दिनेछौं ।
–आलोकसिद्धि तुलाधर
सम्पदा संरक्षण अभियन्ता
...
सार्वजनिक जग्गामा मनपरी
मालपोत ऐनले सरकारी जग्गा र सार्वजनिकबीच फरक भएको स्पष्ट गरेको छ । सार्वजनिक जग्गामा व्यक्तिको हक लाग्छ, सरकारी जग्गामा सरकारको । सरकारले सार्वजनिक जग्गामा मनपरी गर्न पाउँदैन । टुँडिखेल सार्वजनिक जग्गा हो । संविधानको धारा ४८ ले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु व्यक्तिको कर्तव्य हो भनेको छ । त्यहीअनुसार हामी सार्वजनिक सम्पत्ति रक्षा गर्न आएका छौं।
–सञ्जय अधिकारी
सम्पदा संरक्षण अभियन्ता
टेबहालमा संकटा देवी छन् भने भद्रकालीलाई तिनकै पीठ मानिन्छ । भद्रकालीछेउ टुँडिखेलभित्रै कुलपूजा सकेर भोज खाइरहेकाहरू अझै भेटिन्छन् । ‘टुँडिखेलसँग हाम्रो धर्म, संस्कृति सबै जोडिएका छन्,’ स्थानीय इन्द्रमान तुलाधर भन्छन्, ‘टुँडिखेल कायम भएमात्र ती बच्ने हुन्, नत्र सबै हराएर जानेछन् ।’

टुँडिखेलको सम्बन्ध काठमाडौंसँग धार्मिक र सांस्कृतिक मात्र छैन । भित्री काठमाडौंमा त्यस्तो पुरानो पुस्ता छैन होला, जसले टुँडिखेलमा गएर फुटबल खेलेको नहोस् । कुनै समय नेपाली फुटबलमा काठमाडौंका खेलाडीको वर्चस्व थियो र यसको कारण थियो, यही टुँडिखेलमा फुटबल खेलेको पुस्ता । यसमै पर्छन्, ज्ञानीराजा श्रेष्ठ । कहलिएका खेलाडीमात्र होइन, उत्तिकै नाम चलेका यी रेफ्री टुँडिखेलमै फुटबल खेलेर हुर्किएका हुन् । उनी भन्छन्, ‘हाम्रो लागि टुँडिखेल सबथोक हो ।’

अचेल नेपाली फुटबलमा काठमाडौंका स्थानीय खेलाडी छैनन् भन्दा हुन्छ । यसको एउटा कारण हो, टुँडिखेल खुम्चिँदै जानु र यहाँ फुटबल खेल्ने परिस्थिति नहुनु । त्यतिमात्र होइन, काठमाडौंमा क्रिकेटको जग बसेको पनि यही टुँडिखेलमै हो । अहिले नेपाली क्रिकेट जहाँ पुगेको छ, त्यसको एक कारण ठूलो टुँडिखेल नै हो ।

टुँडिखेल काठमाडौंवासीका लागि करसत गर्ने र शरीर तन्काएर खुलाठाउँमा सास फेर्न पाउने ठाउँ हो । साढे चार वर्षअघि भूकम्प आउँदा भित्री काठमाडौंवासीले अरू सोचेनन्, अधिकांश हतारहतार टुँडिखेलतिरै लागे । केही समय टुँडिखेल उनीहरूका लागि आश्रयस्थल बन्यो । सांस्कृतिक चाडपर्व होऊन् वा ठूला उत्सव र आयोजना, ‘कस्मोपोलिटन’ काठमाडौं टुँडिखेलकै शरण परेको हुन्छ– कहिले योग सिक्न त कहिले फुड फेस्टिभलका नाममा ।


प्रकाशित : कार्तिक २२, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

बुङमतीले लठ्यायो विदेशी मेयरलाई

सहरहरुको सञ्जाल सिटी नेटको कार्यसमिति बैठकमा सहभागी हुन विभिन्न देशका १४ नगरप्रमुखसहित ८८ जना विदेशी ललितपुरमा जम्मा भएका छन् 
प्रशान्त माली

(ललितपुर) — बुङमती मत्स्येन्द्रबहालको उत्तरपट्टिको ‘धोकासी फल्चा’ (पाटी) मा अखण्ड भजन खलकको भजनकीर्तन चलिरहेको थियो । विदेशी पाहुनाहरूलाई एक महिलाले टीका र फूल लगाएर स्वागत गरिन् । निकै प्रसन्न मुद्रामा ती विदेशीले भजन नियालिरहे । कतिपयले दक्षिणा चढाएर सम्मान व्यक्त गरे, कतिपय तस्बिर लिन थाले ।

बुङमती सहकालका देवता रातो मत्स्येन्द्रनाथ रहेको गाउँ हो । नेपाल भाषामा यसलाई ‘बुगं दे’ भनिन्छ ।

चक्रपथबाट करिब ८ किमि दक्षिणमा पर्ने गाउँको मुख्य आकर्षण रातो मत्स्येन्द्रनाथ, कुमारी, हस्तकला, चित्रकला र विभिन्न जातका नेवारहरूको बसोबास थलो हो । यही थलोमा विभिन्न देशका मेयरहरू बिहीबार पुगेका थिए ।
परम्पराअनुसार बुङमतीका जीवित देवी कुमारी रातो मत्स्येन्द्रनाथको जात्रामा मात्र बाहिर ल्याइन्छ । तर, सिटीनेटका प्रतिनिधिहरू आउने भएपछि मत्स्येन्द्रबहालको उत्तरपट्टिको ‘धोकासी फल्चा’ (पाटी) को सिंहासनमा राखिएको थियो । सिटीनेट एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिका र अन्य सरोकारवाला आबद्ध संस्था हो ।

चोहेल ननीः बुङमतीको सबभन्दा ठूलो चोकमध्ये एक हो । ननीःकी ५० वर्षीय कृष्णमाया माली पाहुनालाई बुङमतीको कला देखाउन हाकुपटासी र गुन्युचोलोमा सजिएकी थिइन् । उनले मोबाइल झुन्ड्याएर चार्ज गर्दा राख्ने खोयाको सामान, कलम राख्ने, साँचो झुन्ड्याउने, मुरा, ढकी (एक किसिमको सामान राख्ने भाँडो), मरे चरा (एक किसिमका चारा) को गुँडलगायतका सामान प्रदर्शनीमा राखेकी थिइन् ।

सिटीनेटका महासचिव जगन्नाथन त्यहाँ पुग्दा उनी कलम राख्ने भाँडो बुन्दै थिइन् । छक्क परेर महासचिवले मुसुक्क हाँसेर प्रतिक्रिया दिए । मालीसँग सेल्फी खिच्न ती विदेशी एकाएक झुम्मिए । विदेशीले एक सय रुपैयाँ पर्ने मोबाइल चार्ज गर्दा राख्ने भाँडो, बास्केट र पाँच सय रुपैयाँ पर्ने चराको गुँड खरिद गरे ।

बुङमतीवासीले मान्ने देवतामध्ये हेयगृव भैरव पनि एक हो । आँग छेँ (मनकामना मन्दिर) प्राङगणमा बुङमतीका चित्रकार सुर्जमुनि शाक्यले पौवा चित्रमार्फत भैरवको महत्व देखाउन कोसिस गरिरहेका थिए । प्रदर्शनीमा मनकामना, योगिनी, तारा, बुद्ध, बसुन्धरा गरेर १० देवीदेवताका चित्र थिए । बुङमती जावलाखेलबाट पश्चिमपट्टिको गल्लीमा प्रवेश गरेपछि गणेश मन्दिर भेटिन्छ । त्यहाँ परम्परागत वेशभूषामा सजिएकी पाँच युवतीले धिमे नाच देखाए । नजिकै भिपु माला (एक प्रकारको माला) मा सजिएकी युवतीहरूले काठको झ्यालमा बुट्टा भर्दै गरेको दृश्य देखेर पाहुनाहरू मोहित बने ।

त्यसछि उनीहरूलाई मत्स्येन्द्रबहाल लगिएको थियो । गल्लीमा उनीहरूले काष्ठकला अवलोकन गरे । त्यहाँ कल्पवृक्षमा विराजमान आकर्षक बुद्ध मूर्ति, विभिन्न ध्यानमुद्रामा बसेर बुद्ध, परालबाट बनाइएका जुट्टा, हात्ती, फ्रेम, माना, बज्र, चैत्य आर्कषक थिए ।

भूकम्पले ध्वस्त बनेको रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण भइनसकेकाले देवतालाई टहरामा राखिएको छ । पुजारीले विधिवत पूजा गर्दा पाहुनाहरू अनौठो मानेर हेरिरहेका थिए । उनीहरूलाई परम्परागत टोपी र रातो पोसाकमा सजिएका रातो मत्स्येन्द्रनाथका पुजारीहरूले टीका र फूलमाला लगाएर ‘ढोका पिनी’ टोलमा स्वागत गरेका थिए । त्यहाँबाट चोहेल ननी–कोटा टोल–बाँ छेँ–बाथः–लाछी–मत्स्येन्द्रबहाल–बहिली (प्रथमपुर महाविहार) हुँदै कार्यविनायकसम्म पुर्‍याइएको थियो । दुई जना बालिका ‘वेलकम टु अल दी डिस्टिङगुस्ट गेस्ट फ्रम सिटीनेट मेम्बर सिटिज्’ लेखेको ब्यानरमा बोकेर अग्रपंक्तिमा थिए । उनीहरू खाल्टु दाफा भजन खलबाट सहभागी भएका हुन् ।

लगत्तै बाँसुरी खलले धिमे बाजाले उनीहरूलाई स्वागत गरेको थियो । दे नामक पुखु पनि चिटिक्क देखिन्थ्यो । यो क्षेत्रमा महिलाहरूले नेवारी परम्पराअनुसार रक्सी पारिरहेको दृश्यसमेत देखाइएको थियो । लाछी टोलमा एकजना पुरुषले बारा बनाएर बिक्री गरिरहेका थिए । गल्लीका पाटीहरूमा परम्परागत भजन गाइरहेका टोली थिए । लाछी टोलको पाटीमा भने महिलाहरू भजन गाउन व्यस्त देखिन्थे ।

भ्रमणमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र ललितपुर महानगरपालिका २२ का वडाध्यक्ष अम्बिरराज शाक्यलगायत उपस्थित थिए । सहरहरूको सञ्जाल सिटीनेटको ३८औं कार्यसमितिको तीनदिने बैठकमा सहभागी हुन विभिन्न देशका १४ नगरप्रमुखसहित ८८ विदेशी ललितपुरमा जम्मा भएका छन् ।

शुक्रबारसम्म चल्नेबैठकमा नेपालका विभिन्न स्थानीय तहका ४३ प्रतिनिधिसमेत सहभागी छन् । बैठकमा सहभागी हुन आएका विदेशीलाई बुधबार ललितपुर महानगरले पाटन ढोकाबाट पिम्बाहल पोखरी हुँदै पाटन दरबारसम्म नगरको सम्पदा अवलोकन गराएको थियो ।

सिटी नेटमा आबद्ध सदस्य नगरहरूबीच सिप, प्रविधि, शिक्षालगायतका क्षेत्रमा आपसी साझेदारी गर्न बैठकले सहयोग पुर्‍याउने आयोजक ललितपुर महानगरपालिकाका मेयर महर्जनले बताए ।


प्रकाशित : कार्तिक २२, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT