सामूहिक बलात्कारमा चारलाई ११ वर्ष कैद

कान्तिपुर संवाददाता

चितवन — सामूहिक बलात्कारको पीडा बेहोरेकी एक महिलाको पक्षमा चितवन जिल्ला अदालतले दुई वर्षपछि फैसला गरेको छ । बलात्कारमा संलग्न चार जनालाई अदालतले बुधबार ११ वर्ष कैद हुने सजाय सुनाएको हो ।

सामूहिक बलात्कारमा चारलाई ११ वर्ष कैद

न्यायाधीश अवनी मैनाली भट्टराईले उनीहरूलाई सजाय निर्धारण गरेको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले बताए ।


०७४ कात्तिक १२ गते दायर भएको मुद्दामा अदालतले अभियुक्तहरूविरुद्ध दाबी पुग्ने ठहर गर्दै सजाय तोकेको हो । स्रेस्तेदार गिरीका अनुसार सजाय तोकिएकामा भरतपुर–१२ का निसान गुरुङ, सागर गौतम, भरतपुर बसपार्क चोकका विजय सुनार र भरतपुर–८ का सुजन पौडेल रहेका छन् । बलात्कार मुद्दामा पाँचदेखि सात वर्ष कैद हुन्छ । सामूहिक बलात्कारमा थप पाँच वर्ष कैद हुने व्यवस्था छ । ६/६ वर्ष कैद निर्धारण गरी सामूहिक बलात्कार भएको हुँदा सबैलाई पाँच वर्ष पनि कैद थप भएको स्रेस्तेदार गिरीले बताए ।


औषधि किन्न घरबाट निस्केकी महिला रातभर घर नफर्केपछि परिवारले खोजी थालेका थिए । उनको साथमा भएको मोबाइल पनि चोरी भएको थियो । उक्त मोबाइल निसान गुरुङले बेचेको पत्ता लागेपछि सुरुमा उनी पक्राउ परे थिए । अदालतले मोबाइल चोरेर बेचेको अभियोग लागेका गुरुङलाई ११ वर्षमाथि थप एक महिना कैद र ७ हजार १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको स्रेस्तेदार गिरीले बताए ।


औषधि किन्न जाँदा ती महिलाले म्याजिक भ्यान चढेकी थिइन् । चालकले पछि दुई युवालाई चढाएर भरतपुर गोन्द्राङ आडको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पछि चालकले ती महिला र दुई युवालाई भरतपुरको सुनसान क्षेत्रमा छाडेर हिँडेका थिए । त्यहाँ अर्का एक युवक आएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । मुद्दा दायर हुँदा निसान गुरुङ र सुरज पौडेल मात्रै समातिएका थिए । फरार रहेका अन्य दुईमध्ये विजय सुनारले मुद्दा दायर भएपछि अदालतमा हाजिर भई बयान दिएका थिए । आरोपितमध्ये सागर गौतम अझै फरार छन् ।


हत्या अभियोगमा दाबी नपुग्ने फैसला

चितवन जिल्ला अदालतमा कायम रहेको पुरानो मुद्दा पनि बुधबार किनारा लागेको छ । ०७४ जेठ २० मा माडी रामराज्यपुरमा १० वर्ष र ११ वर्षका दुईजना बालिका पोखरीमा मृत फेला परेका थिए । ती बालिकालाई बलात्कारपछि हत्या गरेको भन्दै चितवन जिल्ला अदालतमा सोही वर्षको असार १८ गते मुद्दा दायर भएको थियो ।


यो मुद्दामा १८ वर्षका एकजना, १७ वर्षका दुईजना र त्योभन्दा पनि कम उमेरका दुईजना नाबालिगहरू गरी पाँचजनालाई अभियुक्त कायम गरिएको थियो ।


अदालतमा २६औं पटक पेसी चढेका बेला यो मुद्दाका सबै अभियुक्तले सफाइ पाएका हुन् । अदालतमा मुद्दा दायर भएपछि सामान्यतः दुई वर्षभित्र फैसला हुने परिपाटी छ । तर पेशीमा चढे पनि २१ पटकसम्म सुनुवाइ स्थगित भएको यो मुद्दा दायर भएको दुई वर्ष पाँच महिनापछि बल्ल फैसला भएको छ । जिल्ला न्यायाधीस हेमन्त रावलले मुद्दाको फैसला गरेका हुन् ।


प्रकाशित : कार्तिक २२, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?