२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उद्योगी रूप ज्योति पक्राउ

मातृका दाहाल

काठमाडौँ — हाउजिङ निर्माण गरिदिने भन्दै सर्वसाधारणको रकम ठगी गरेको आरोपमा पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति पक्राउ परेका छन् । सिंगापुरबाट काठमाडौं उत्रिने क्रममा बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको हो । उनी काठमाडौं प्रहरीको हिरासत छन् । 

उद्योगी रूप ज्योति पक्राउ

वीर अस्पतालमा बिहीबार राति ११ बजे ज्योतिको स्वास्थ्य परीक्षण गरिएको छ । हाउजिङका नाममा ठगी गरेको आरोपमा ०७५ मंसिर २० मा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गरी अनुसन्धान गर्न पुर्जी जारी गरेको थियो । त्यसको चार दिनपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाश ढुंगानाको इजलासले मंगलबार जिल्ला अदालतको पुर्जीलाई सही ठहर गर्दै उक्त रिट खारेज गरेपछि ज्योतिलाई समात्न प्रहरीलाई बाटो खुलेको हो ।


अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।


ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा सर्वसाधारणबाट रकम उठाएर हाउजिङ नदिएको आरोपमा गत वर्ष मंसिरमा पीडितले महानगरीय प्रहरी परिसर काठमाडौंमा सञ्चालक ज्योतिविरुद्ध उजुरी दिएका थिए । बाँसबारीमा हाउजिङ बनाएर वितरण गर्ने भन्दै ल्यान्डमार्कले सर्वसाधारणबाट रकम उठाएको थियो ।


प्रहरीमा परेको उजुरीअनुसार ज्योति समूह र त्यसकै अर्को संस्था स्याकार कम्पनीका नाममा ल्यान्डमार्कको सेयर कायम गरी हाउजिङ कम्पनी दर्ता गरिएको थियो । कम्पनी दर्तापछि सर्वसाधारणले हाउजिङ बुकिङस्वरूप लगानी गरेका थिए । तर हाउजिङ निर्माण नगरेपछि विज्ञेन्द्रकृष्ण मल्ल प्रहरीमा गएका थिए ।


‘२०७१ सालमा ज्योति समूहको हाउजिङ कम्पनीले विज्ञेन्द्रकृष्ण मल्लबाट १ करोड ३६ लाख रुपैयाँ लिएर घर नदिएको आरोपमा गत वर्ष उजुरी परेको थियो,’ डीएसपी बोगटीले कान्तिपुरसँग भने, ‘पीडितको उजुरीपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा अदालतले पक्राउ पुर्जी जारी गरे पनि सर्वोच्चको अन्तरिम आदेशका कारण उनी पक्राउ पर्न सकेका थिएनन् ।’


ज्योति तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल ०६१ मा अर्थ सहायकमन्त्री थिए ।


प्रकाशित : कार्तिक २१, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?