कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपनिर्वाचनमा ६५ उम्मेदवार

नेकपा नेतृत्वको वाम गठबन्धन, कांग्रेस र समाजवादी पार्टी सबै क्षेत्रमा भिड्दै
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन निर्वाचन क्षेत्रका लागि ६५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको कास्की–२ र प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२) र दाङ ३(२) निर्वाचन क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचनमा ६५ उम्मेदवार

ती क्षेत्रका लागि बिहीबार सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । चारवटै निर्वाचन क्षेत्रमा तत्कालीन एमाले–माओवादीसहितको वाम गठबन्धनले जितेको थियो ।


प्रतिनिधिसभाको कास्की–२ मा २२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ । २०७४ को निर्वाचनमा एमालेका रवीन्द्र अधिकारीले उक्त क्षेत्रमा चुनाव जितेका थिए । नेकपाबाट त्यहाँ अधिकारीपत्नी विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् ।


कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार छन् । साझा पार्टीका रजनी केसी र विवेकशील पार्टीका तर्फबाट जमुना शर्माको स्वतन्त्र उम्मेदवारी परेको छ । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने ११ जना छन् ।


प्रदेशसभातर्फ भक्तपुर १(१) मा नेकपाबाट देवीप्रसाद ढकाल, कांग्रेसबाट कृष्णलाल भँडेल प्रतिस्पर्धामा छन् । नेमकिपाबाट नीरज लवजूको उम्मेदवारी दर्ता भएको छ । त्यहाँ समाजवादीका सुदर्शन मुनकर्मी र साझा पार्टीका सुरज प्रधानको उम्मेदवारी परेको छ । त्यस्तै राप्रपाका श्यामप्रसाद नेपाल र नेकपा (माले) का सुदर्शन लामिछाने उम्मेदवार छन् । उक्त क्षेत्रमा १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।


बागलुङ २(२) मा १० जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ वाम गठबन्धनबाट त्यहाँ राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार छन् । यसअघि पनि त्यहाँबाट जनमोर्चाले चुनाव जितेको थियो । कांग्रेसबाट जितबहादुर शेरचन र समाजवादी पार्टीबाट अशोककुमार विकको उम्मेदवारी परेको छ । राप्रपाका गणेशबहादुर कुँवर र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई उम्मेदवार बनेका छन् ।


दाङ ३(२) मा नेकपाले विमलाकुमारी खत्री र कांग्रेसले केशवराज शर्मालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । विमला यसअघि त्यहाँबाट चुनाव जितेका उत्तरकुमार वलीकी पत्नी हुन् । समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, नेमकिपाका सुरेश परियार, राप्रपाका भूपाल रावत र जनमुक्ति पार्टीका धनराज विश्वकर्माले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


उम्मेदवारमाथि दाबी विरोधका लागि शुक्रबार बिहान ११ देखि ५ बजेसम्मको समय तोकिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए । २४ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन सक्ने उनले बताए ।

प्रकाशित : कार्तिक २१, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?