१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

द्रुतमार्ग अनियमितताको आन्तरिक छानबिन प्रतिवेदन प्रधानसेनापतिको टेबुलमा

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले निर्माण हुनु अगावै अनियमितताको आरोप खेपेको बहुचर्चित ‘काठमाडौं–मधेश द्रुतमार्ग’ निर्माण प्रक्रियाको आन्तरिक छानबिन टुंगाएको छ ।

द्रुतमार्ग अनियमितताको आन्तरिक छानबिन प्रतिवेदन प्रधानसेनापतिको टेबुलमा

मुलुकको राजधानी काठमाडौं उपत्यकाबाट दक्षिणी भेग मधेशमा एक घन्टामै पुग्न सकिने करिब ७३ किलोमिटर लामो द्रुतमार्ग निर्माण प्रक्रियाको सुरूआतमै अनियमितताको उजुरी परेपछि सेनाले अन्तरिक छानबिन थालेको थियो ।


प्रधानसेनापति पूर्ण चन्द्र थापाले बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा एक छानबिन टोली गठन गरेका थिए । उक्त टोलीले प्रधानसेनापति थापालाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ । ‘प्रधानसेनापतिको कार्यालयमा रिर्पोट पुगिसकेको छ, त्यस बारेमा केहि दिनमै हामी जानकारी दिने छौं,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने ।


छानबिनका क्रममा सेनाले सुरूआतमा काठमाडौं–मधेश द्रुतमार्गका आयोजनाको नेतृत्व गरेका अवकाश प्राप्त प्राविधिक उपरथी योगेन्द्र खाँडलाई पनि अनुसन्धानको लागि बोलाएको थियो । खाँडले असार १३ मा नियमित अवकाश पाएका हुन् ।


सैनिक स्रोतका अनुसार उक्त टोलीले खाँडपछि आयोजना सम्हालेका सहायक रथी शरदलाल श्रेष्ठलाई अनुसन्धानको अवधिभर कुनै जिम्मेवारी दिइएको छैन । खाँड आयोजना प्रमुख हुँदा श्रेष्ठले द्रुतमार्गको डिजाइन बनाएका थिए ।


खाँडले अनुसन्धानका दौरान श्रेष्ठको पनि नाम लिएपछि श्रेष्ठमाथि पनि अनुसन्धान गरिएको सैनिक स्रोतले बतायो । ‘श्रेष्ठ दोषी नदेखिए फेरि काममा फर्कने छन् । दोषी देखिए कारबाहीको भागीदार हुने छन्,’ स्रोतले भन्यो ।


नेपाल सरकारको २०७४ साउन २७ को मन्त्रिपरिषद्को निर्णय अनुसार सेनालाई द्रुतमार्ग बनाउने जिम्मेवारी दिइएको हो । मुलुकको रणनीतिक पूर्वाधार सेनालाई दिनुपर्ने भन्दै सरकारले सेनालाई निर्माणको जिम्मेवारी दिइएको थियो ।

चार वर्षमा निर्माण सक्नु पर्ने उक्त आयोजनाको लागत करिब एक खर्ब ७५ अर्ब रहेको सेनाले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन आएसँगै सेना परामर्शदाता खोज्ने प्रक्रियामा छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?