१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नयाँ नक्साबारे देउवाद्वारा भारतीय राजदूतसित आपत्ति प्रकट

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएकोमा भारतीय सरकारसमक्ष आपत्ति जनाएका छन् ।

नयाँ नक्साबारे देउवाद्वारा भारतीय राजदूतसित आपत्ति प्रकट

सभापति देउवाले बिहीबार नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीलाई फोन गरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको उल्लेख गर्दै भारतीय अतिक्रमणप्रति आपत्ति जनाएका हुन् ।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा देउवाले ‘भारतको नयाँ नक्साबारेमा बिहीबार भारतीय राजदुत पुरीसँग टेलिफोन संवाद गरेको र कालापानी तथा लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएको’ उल्लेख छ ।


कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा आफ्नो प्रस्ट अडान रहेको उल्लेख गर्दै नेपाली भूमिमाथि हुने कुनै पनि किसिमको अतिक्रमण पार्टीलाई स्वीकार्य नहुने जनाएको छ ।


‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’ कांग्रेसको विज्ञप्तिमा छ ।


कांग्रेसले नेपाली भू-भाग अतिक्रमण भएकोजस्तो महत्वपूर्ण सवालमा समग्र मुलुकको साझा दृष्टिकोण बनाई कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकारलाई आग्रह गरेको छ । ‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने कांग्रेसको दृष्टिकोण छ’ विज्ञप्तिमा छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?