'सिरसोप्ता' उठाएको विषयमा विवाद हुँदा बारामा  प्रहरी र स्थानीयबीच झडप, २२ बढी घाइते  

पवन यादव

सिमरा — बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरस्थित छठीघाटबाट प्रहरीले जबरजस्ती सिरसोप्ता (छठी माताको प्रतिक चिन्ह) उठाएको विषयमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच बिहीबार झडप भएको छ । 

'सिरसोप्ता' उठाएको विषयमा विवाद हुँदा बारामा  प्रहरी र स्थानीयबीच झडप, २२ बढी घाइते  

झडपमा परी प्रहरी निरीक्षक रुद्र शाही सहित ८ जना प्रहरी , सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकद्वय चन्द्र बहादुर क्षेत्री, दिनेश खडकासहित ५ जना र स्थानीय २२ जना बढी घाइते भएका छन् ।


स्थितीलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । अहिले घाइते सबै अस्पतालबाट डिस्चर्ज भइसकेको उनले जानकारी दिए ।


स्थानीयले प्रहार गरेको ढुंगामुढाबाट सशस्त्र प्रहरीको ना १ ग ५५१ नम्बरको र नेपाल प्रहरीको ना १ ग २५८२ नम्बरको गडीमा क्षति पुगेको छ । राति साढे १२ बजे देखि तनावग्रस्त बनेको गाउँको अवस्था बिहान साढे ४ बजे सामान्य बनेको थियो । गाउँलेले वडा कार्यालयमा सिरसोप्ता राख्न ल्याएपछि अवस्था सामान्य बनेको स्थानीयले बताए ।


राति करीब १२ बजे विवादित स्थानबाट सुरक्षाकर्मीको टोलीले छठीघाटबाट सिरसोप्ता उठाएर सशस्त्र प्रहरीको गाडीमा लोड गरी कलैयातर्फ आउने क्रममा स्थानीय बासिन्दाले सडकमै ट्याक्टर तेर्स्याएर अवरुद्ध पुर्‍याएका थिए ।


छठीमाताको प्रतिमा किन लग्न थालेको भन्दै स्थानीयले विरोध गर्दै प्रहरीलाई अवरोध पुर्‍याएका थिए ।


झन्डै २ घण्टा गाउँलेको घेरामा परेको सुरक्षाकर्मी जिल्लाबाट थप मद्दतसहित डीएसपी रंजितसिंह राठौरको नेतृत्वमा गाउँमा टोली आइपुगेको थियो । टोलीले एक्कासी लाठी चार्ज गरेको स्थानीय हरिन्द्र सहनीले बताए ।


‘पहिला प्रहरीले अन्धाधुन्द लाठी बर्साउन थाल्यो,’ उनले भने, ‘त्यपछि प्रतिकारमा आक्रोशित गाउँलेले ढुंगामुढा गरेका हुन् ।’ रातको समयमा महिला, बालबालिका, वृद्धवृद्धा माथि प्रहरीले लाठी बर्साउन थालेपछि गाउलेले धैर्यता गुमाएर प्रतिकार गरेको उनको भनाई छ ।

पूजा गरिएको स्थानबाट सिरोप्ता अन्य स्थानमा सारेर राखिसकेको अवस्थामा प्रहरीले गत वर्ष जस्तै सिरसोप्ता चोरशैलीमा लग्न थालेपछि गाउँलेले त्यसको विरोध गरेको अर्का स्थानीय रामअशिष सहनीले बताए । विवादित जग्गाको विषयमा छलफल राखेर छलफल गर्नुभन्दा अगाडीकै रातमा सिरसोप्ता उठाउने कार्य गलत भएको उनले जिकिर गरे ।


‘सहमतिको आधारमा विवादित जग्गा भन्दा अलग सिरसोप्ता हटाइसकेको अवस्थामा प्रहरीले झमेला खडा गर्नु र रातको समयमा गाउमा डाँकाशैलीमा आतंक मच्चाउनु प्रहरीको गलत काम हो,’ उनले भने, ‘सिरसोप्ता लग्न प्रहरीले बलमिच्याई गर्दै देखाएको व्यवहार उदण्डपूर्ण थियो ।’प्रहरी विपक्षीहरुको दबाबमा परेर आफूहरुलाई दुर्व्यवहार गरेको उनले आरोप लगाए ।


विवादित जग्गामा छठ पूजा गरेर सिरसोप्ता हठाउन सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए । ‘विवादित स्थानबाट गाउँलेले सिरसोप्ता नहटाएपछि प्रहरी मार्फत हटाउन लगाएका हौं,’ प्रजिअ पोखरेलले भने, ‘गाउँलेले पूजा गरेको स्थानबाट सिरसोप्ता हटाएको थिएनन् ।’


सिरसोप्ता अन्यतिर सारेको उनीहरु नाटकमात्र गरेको उनले दाबी गरे । गाउँमा जातीय विवाद हुन नदिन सिरसोप्ता हटाएको उनले जिकिर गरे ।


सुकुम्बासी आयोगबाट गाउँका १४ जनाले उक्त सार्वजनिक जग्गालाई टुक्राटुक्रा पारेर आफ्नो नाममा गराएर कब्जा गर्न खोजेपछि विवाद उत्पन्न भएको हो । ती व्यक्तिहरुकै दबाब प्रभावमा प्रहरी प्रशासनले दमन गरेको स्थानियले आरोप लगाए ।

प्रकाशित : कार्तिक २१, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?