२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कालापानी र लिपुलेक हाम्रै हो, भारतको नयाँ नक्सा हामीलाई मान्य छैन : अध्यक्ष दाहाल

प्रतिक्षा काफ्ले

गण्डकी — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको कुरा नेपाललाई सह्य नहुने बताएका छन । लिपुलेक, कालापानी नेपालकै भएको उनले दाबी गरे ।

कालापानी र लिपुलेक हाम्रै हो, भारतको नयाँ नक्सा हामीलाई मान्य छैन : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा आफूले विरोध जनाउँदै आएको बताए । आगामी मंसिर १४ मा कास्की क्षेत्र नम्बर २ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनलाई सम्बोधन गर्न पोखरा आएका दाहालले पत्रकार सम्मेलनमा बोल्दै लिपुलेकको विषयमा सरकारले पनि सम्बोधन गरिसकेको बताए ।


‘नेकपा पार्टी र सरकार दुवैले आपत्ति जनाएको छ । दुवैको धारण आइसक्यो,’ दाहालले भने, ‘हिजो मात्रै पनि मैले नेपालगञ्जमा गरिएको पत्रकार सम्मेलनमा यही विषयमा बोलेको थिए । आज त सरकारले पनि कुटनीतिक रुपमा बोलिसकेको छ । तत्कालीन अवस्थामा पनि भारत र चीन दुई मुलुकबीच भएको सम्झौतामा लिपुलेक भारतको भन्ने जानकारी आएको थियो । त्यसबेला म भारत भ्रमणमा नै थिए । तत्काल मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हाम्रो आपत्ति छ । कुनै हालतमा पनि हामीलाई मान्य छैन । तत्काल पुर्नविचार गरियोस भनेको हुँ । अहिले फेरि नयाँ नक्सामा कालापानीसहित समेटेर निकालेको रहेछ । हाम्रो घोर आपत्ति छ ।’


उनले नेपाल नै भारतभित्र पार्नु कदापी मान्य हुने दोहोर्‍याए । ‘यो विषय सच्याउनुपर्छ भन्ने हो,’ उनले थपे, ‘अहिले सिंगो राष्ट्र एक ढिक्का छ । कही कसैको विमती पनि हुँदैन । यो नक्सामा हामी नरम भएर लचिलो बन्दैनौं । सरकारले निकालेको विज्ञप्ति कार्यान्वयन हुने छ ।’ सरकारले बोलीसकेपछि भारत र नेपालबीच संवाद हुने उनले बताए । कुटनीतिक तवरमा कुरा गर्ने र सरकार चुप नबस्ने उनको भनाइ छ ।


यसो त दाहालले कास्की-२ को उपनिर्वाचनको नतिजा नेकपाकै हातमा रहेको बताएका छन् । स्वर्गीय तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सपना नेकपाले नै पूरा गर्ने बताउँदै उनले नेकपा जिल्ला, प्रदेश र संघले निर्विरोध चयन गरेको उम्मेदवार विद्या भट्टराईलाई विजयी गराउन एक ढिक्का भएर कार्यकर्तालाई लाग्नसमेत निर्देशन दिएका थिए । ‘अहिले देशको परिस्थिति भनेको उपनिर्वाचन हो,’ उनले पुनः भने, ‘मुख्यतः प्रदेश र प्रतिनिधिसभाको स्थान रिक्त छ । प्रतिनिधिसभाको एकमात्र उपनिर्वाचन हुने भनेको कास्की २ नै हो ।’


प्रदेशको ३ र एउटा महानगरपालिका गरी ५ स्थानमा उपनिर्वाचन हुने बताउँदै उनले कास्कीमा गरिएको मनोनयन दर्ता सफल भएको बताए । ‘दिनको संकेत बिहानले दिन्छ भनेजस्तै निर्वाचनको सन्देश मनोनयनले दिएको छ,’ उनले थपे ।


लोकप्रिय नेता अधिकारीप्रति सम्मान प्रकट गर्दै उनले उपनिर्वाचन गम्भीर भएर जिम्मेवारी निभाउन पनि पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे । नेकपाको मिसन भव्य रुपमा सफल हुने बताउँदै उनले मनोनयन दर्तादेखि परिणम निनिस्कने बेलासम्म रातदिन खटिएर काम गर्न पनि उनले अनुरोध गरेका छन् ।


‘हामी नमूना बन्नु छ,’ उनले दोहोर्‍याए, ‘कास्की २ बाट देशभर सन्देश दिनु छ । नेकपाको एकता र जनताको नेकपाप्रतिको विश्वास अझै छ । स्थायी राजनीति, समृद्धिको यात्रा बुझाउने दिन आएका छन् ।’


केन्द्रीय सचिवालयमा पनि कास्कीलाई प्राथमिकता दिएको उनले बताए । गम्भीर भएर विचार गरिएको र सोहीअनुसारको निर्णय भएको उनले बताए । भयरहित, स्वच्छ र इमान्दरीताका साथ लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार उपनिर्वाचनले लोकतान्त्रिक अभ्यासको नयाँ आयाम स्थापित गर्ने छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?