कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रमुख दलले टुंग्याए उम्मेदवारी, नेकपा–कांग्रेस नै प्रतिस्पर्धी

राजेश मिश्र

काठमाडौँ — प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन स्थानहरूमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएका छन् । समाजवादी पार्टी र राजपाबीच संयुक्त उम्मेदवारी दिने सहमति भएको छ ।

प्रमुख दलले टुंग्याए उम्मेदवारी, नेकपा–कांग्रेस नै प्रतिस्पर्धी

बिहीबार उम्मेदवारी दर्ताअघि उनीहरूले नाम टुंगो लगाउने छन् । भक्तपुरमा नेमकिपाले पनि बिहीबारै टुंगो लगाउने जानकारी दिएको छ ।


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारको मनोनयनपत्र दर्ता र अन्य तयारीहरू पूरा भइसकेको बताए । आयोगले उपनिर्वाचनमा १ सय १ वटा राजनीतिक दलले भाग लिन सक्ने जनाएको छ । ०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका दलले उपनिर्वाचनमा स्वतः भाग लिन पाउँछन् । त्यसबाहेक ०७४ को निर्वाचनपछि एकीकरण भएका र नयाँ गरी उपनिर्वाचनमा सहभागी हुन १६ दल दर्ता भएका छन् । उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ९५ तथा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ७८ दल योग्य रहेको आयोगले जनाएको छ ।


निर्वाचनमा भाग लिन पाउने दलको संख्या धेरै भए पनि अघिल्लो निर्वाचनको मत परिणामको तथ्यांक केलाउँदा उपनिर्वाचनमा पनि मुख्य दुई शक्ति नेकपा नेतृत्वको वाम गठबन्धन र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । भक्तपुरमा भने नेमकिपा पनि प्रतिस्पर्धी हुन सक्छ । गत निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा सम्मिलित वाम गठबन्धनले चुनावी तालमेल गरेर सबैतिर उम्मेदवारी दिएका थिए । त्यसमध्येका एमाले र माओवादी केन्द्र यतिबेला एकीकृत भएर नेकपा बनेको छ । दुई वर्षपछि हुन लागेको उपनिर्वाचनमा बलियो शक्तिका रूपमा अन्य दल उदाइसकेको अवस्था छैन ।


तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदै छ । नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसले खेमराज पौडेललाई उठाएको छ ।


अघिल्लो निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र प्रतिस्पर्धी चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको ८ सय ४३ मत थियो । । यतिबेला विवेकशील र साझा छुट्टाछुट्टै दल बनेका छन् । विवेकशीलले जमुना शर्मा र साझा पार्टीले रजनी केसीलार्ई उम्मेदवार बनाएका छन् । संघीय समाजवादी फोरम नेपालका रत्न भट्टचनले ३ सय ४० र नयाँ शक्ति पार्टी नेपालका दीपक भण्डारीले २ सय ८३ मत ल्याएका थिए । उक्त दुई दल एकीकृत भएर अहिले समाजवादी पार्टी बनेको छ ।


दुई वर्षअघिको भन्दा कास्की २ मा १ हजार २ सय २० मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतदातामध्ये ४९ हजार ९ सय १३ जनाले मतदान गरेका थिए ।


त्यसमध्ये १ हजार ४ सय ६४ मत बदर भएको थियो । कुल सदर मत ४८ हजार ४ सय ४९ को ५६ दशमलव १६ प्रतिशत मत अधिकारीले प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार चालिसेले प्राप्त गरेको मत ३८ दशमलव ५२ प्रतिशत थियो ।


उपनिर्वाचन हुने प्रदेशसभातर्फ गण्डकी प्रदेशको बागलुङ २ (ख) सत्तारूढ दल नेकपा नेतृत्वको गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार तय भएका छन् । यसअघि पनि उक्त क्षेत्रबाट वाम गठबन्धनबाट जनमोर्चाकै टेकबहादुर घर्ती विजयी भएका थिए । बिरामी परेर उनको निधन भएको थियो । कांग्रेसले यस क्षेत्रमा गत चुनावमा हारेका जित शेरचनलाई नै उम्मेदवार बनाएको छ ।


त्यतिबेला घर्तीले ११ हजार ८ सय ८४ मत पाउँदा शेरचनको ८ हजार ६ सय २४ मत आएको थियो । ३ हजार २ सय ६० मत अन्तरले शेरचन पराजित भएका थिए । अन्य उम्मेदवारहरूको मत २ सयभित्र सीमित थियो । कुल ३३ हजार २ सय ४० मतदाता रहेको उक्त क्षेत्रमा २२ हजार ३७ मत खसेकोमा १ हजार १ सय ४० मत बदर भएको थियो । यस पटक उक्त क्षेत्रमा ३ हजार ६ सय ८६ नयाँ मतदाता थपिएका छन् ।


प्रदेशसभातर्फको प्रदेश नम्बर ५ को दाङ ३ (ख) मा तत्कालीन एमाले उम्मेदवार उत्तरकुमार वलीले जितेका थिए । वलीको निधनपछि त्यहाँ हुन लागेको चुनावमा नेकपाले उनकै श्रीमती विमला वलीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले तत्कालीन प्रतिस्पर्धीलाई परिवर्तन गरी केशव आचार्यलाई टिकट दिएको छ ।


दुई वर्ष अगाडिको चुनावमा वलीले ६ हजार ४ सय ३५ मत अन्तरले कांग्रेस उम्मेदवार बुद्धिराम भण्डारीलाई पराजित गरेका थिए । वलीले २३ हजार ९ सय ७० र भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए । तेस्रो स्थानका नेकपा (माले) का टोपबहादुर डाँगीले ९ सय १० मत ल्याएका थिए । अन्य उम्मेदवारहरूको मत एक सयभन्दा कम थियो । त्यतिबेला ६५ हजार ८ सय २ मतदाता रहेको उक्त क्षेत्रमा ४४ हजार ६ सय ५१ मत खसेको थियो । २ हजार २ मत बदर भएको थियो । उक्त क्षेत्रमा ७ हजार ३ सय ७० नयाँ मतदाता थपिएका छन् ।


प्रदेश ३ को प्रदेशसभा निर्वाचन क्षेत्र भक्तपुर १ (क) मा नेकपाले देवीप्रसाद ढकाललाई र कांग्रेसले कृष्ण भँडेललाई उम्मेदवार तोकेको छ । ढकाल यसअघि पनि उक्त क्षेत्रमा प्रतिस्पर्धी थिए । उम्मेदवारी दर्तापछि वाम गठबन्धनले उक्त क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ढकाललाई आधिकारिक उम्मेदवार तोकेको थियो । तर, तत्कालीन नेकपा (एमाले) का उम्मेदवार हरिशरण लामिछाने आफ्नो उम्मेदवारी कायम राखेर विजयी भएका थिए । लामिछानेको निधनका कारण त्यहाँ उपनिर्वाचन हुँदै छ । त्यतिबेला लामिछानेले १२ हजार ७ सय ८९ प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए । दुईजना बीचको मत अन्तर २ हजार ८ सय १२ थियो ।


नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नीरज लवजूले ७ हजार १९ मत ल्याएर तेस्रो स्थानमा थिए । वाम गठबन्धनका आधिकारिक उम्मेदवार ढकाल ७ सय ८४ मत ल्याएर चौथो स्थानमा सीमित हुन पुगेका थिए । त्यस क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवारले ७ सय ८३ र राप्रपा उम्मेदवारले ४ सय ८५ मत ल्याएका थिए । अन्य उम्मेदवारको मत एक सयभित्र थियो । ४३ हजार ५ सय ५२ मतदाता रहेको उक्त क्षेत्रमा ३२ हजार ८ सय ३८ मत खसेको थियो । ८ सय ७५ मत बदर भएको थियो । उक्त क्षेत्रमा १ हजार ४ सय ६३ जना नयाँ मतदाता थपिएका छन् ।


प्रकाशित : कार्तिक २१, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?