सांसदको सरकारलाई आग्रह : भारतले सार्वजनिक गरेको नक्साबारे तत्कालन कूटनीतिक पहल गर

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपाली भू–भाग समेटिपछि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल कूटनीतिक पहल गर्दै नक्सा खारेज गर्न आग्रह गरका हुन् । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस सांसद डिला संग्रौलाले नेपालको भूमिलाई अतिक्रमण गरेर नक्सा प्रदर्शन गर्ने कुनै अधिकार भारतलाई नभएको भन्दै सरकारलाई कूटनीतिक पहल गर्न भनेकी छन् । उनले नेपाली भूमिमाथि अतिक्रमण गरेर नक्शा प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको भन्दै सरकारलाई यस विषयमा प्रष्ट पार्न आग्रह गरेकी छन् ।


गृहमन्त्रीलाई यस विषयमा प्रश्न गरेको बताउँदै उनले नेपाली भूमिमाथि आक्रमण र सीमा मिचेर भारतले नक्सा सार्वजनिक गर्दा सरकार मौन रहँदा प्रश्न उठेको बताएकी छन् ।


उनले राष्ट्रिय सवालको विषय भएकाले तत्काल राष्ट्रिय सहमतिको वातवरण बनाएर सबै दलको बैठक बोलाउन आग्रह गरिन् । यस विषयमा सरकारले संसदको विशेष अधिवेशन पनि बोलाउनुपर्ने उनको भनाइ छ ।


नेकपाका सांसद झपट रावलले सरकारलाई तत्काल कूटनीतिक पहल गरेर आफ्नो भूमि तरुन्तै फिर्ता ल्याउन आग्रह गरकेा छन् । उनले भने,'लामोसमयदेखि भारतीय विस्तारवादी नीति विरुद्ध राष्ट्रवादी देशभक्तहरुले आवाज उठाइरहेको बेला भारतले नेपालको ३७० वर्ग किलोमिटर भू–भाग आफ्नो नक्शाभित्र राखेको छ । यो कदम विरुद्ध लाग्न सबै देशभक्तहरुलाई लाग्न अपिल गर्छु । '


नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले भारतले नेपाली भू-भाग गोभेर निकालेको नक्सा खोरेजीको माग राखे । उनले नेपालले तत्काल कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए । उनले भने,‘यो नक्सा नेपाल सरकारले खारेज गर्न सकेन भने नेपाल सरकार भारतीय दलाल सावित हुन्छ । यहाँका नेताहरु लेन्डुप दोर्जेको नयाँ संस्करण हुनेछन् । ’


राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले लिपुलेक र कालापानीको विषयमा मंगलबारको बैठकमा पनि उठेको बताइन् । उनले भनिन्,‘आज(बुधबार) समितिको बैठकमा पनि गम्भीर रुपमा यो विषय उठेको छ । हामीले यस विषयमा छलफल गर्न सम्बन्धित मन्त्रालयलाई बोलाएर जानकारी लिने र यो विषयलाई गम्भीरता पूर्वक लिएका छौँ । ’


उनले नेपाली भूमि मिचिएको विषय राष्ट्रियता, संवेदशनीलता र सार्वभौमिकतासँग जोडिएकाले समितिमा गम्भीर छलफल गर्ने तयारीमा रहेको बताइन् ।

प्रकाशित : कार्तिक २०, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्

नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुवास विडारी

मकवानपुर — प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेशको अस्थायी मुकाम हेटौंडामा बुधबार दिउँसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, बसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । यसअघि प्रदेश ३ की प्रदेश प्रमुख रहेका अनुराधा कोइरालालाई बर्खास्त गरेर संघीय सरकारले प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो । 

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले सबैपक्षलाई समेटर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘सबै पक्षको सहयोग र सद्भावबाट राष्ट्रको उन्नति र प्रगति हुन सक्छ । सवैसँग सदभाव कायम गर्दै प्रदेशको समग्र विकासमा अगाडि बढ्ने छु,' उनले आफू संविधानको दायरमा रहेर आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । ‘सबै क्षेत्रको सहयोगबाट अगाडि बढ्न सहज हुन्छ । त्यसका लागि काम गर्नेछु,’ उनले भने ।

उनलाई प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्वागत गरेका थिए । प्रदेश ३ का मुख्यमन्त्री हेटौंडामा नभएका कारण जम्मकट्टेलले उनलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, विभिन्न मन्त्रालयका सचिव तथा विभिन्न सरकारी कार्यालयहरुका कर्मचारीले स्वागत गरेका थिए ।

प्रकाशित : कार्तिक २०, २०७६ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×