कांग्रेस बैठक : पौडेल र सिटौला बाहिरिए

खेमराज पौडेलको सम्भावना
कुलचन्द न्यौपाने

काठमाडौँ — कास्कीमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयले विवाद बढेपछि संस्थापन इतरपक्षीय नेताहरु उम्मेदवार चयन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई सुम्पेर बैठकबाटै बाहिरिएका छन् । चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गर्न मंगलबार बिहानदेखि बसेको बैठकमा कास्कीको २ नम्बर क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मुख्य विवाद देखिएको हो ।

कांग्रेस बैठक : पौडेल र सिटौला बाहिरिए

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र कोषाध्यक्ष सीतादेवी यादव बैठकबाट बाहिरिएपछि सभापति देउवाले कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएका छन् । तर, औपचारिक रुपमा अहिलेसम्म उनीसहित कसैको नाम पनि सार्वजनिक गरिएको छैन ।


कास्कीमा वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौलाले देवराज चालिसेलाई उम्मेदवार बनाउनु पर्ने अडान राखेका थिए । उनी यसअघिका उम्मेदवार भएकाले उनैलाई दिनुपर्ने पौडेल र सिटौलाको अडान थियो । तर, सभापति देउवाले चालिसेलाई रोक्नका लागि सुरुमा धनराज गुरुङको नाम अघि सारेका थिए ।


गुरुङको नाम अघि सारेपछि पौडेल समेत सकारात्मक देखिए । तर, देउवा गुरुङको नामबाट पछि हट्दै खेमराज पौडेलको पक्षमा उभिएपछि उनीहरु बैठबाट बाहिरिएका हुन् । विवाद बढेपछि गुरुङले पदाधिकारी बैठकमै गएर आफूलाई उम्मेदवार नबनाउन आग्रह गरेका थिए ।


बैठकमा पौडेलले हार र जितको जिम्मेवार सभापतिले नै लिनेगरी जसलाई उम्मेदवार बनाउनु छ बनाउनुहोस् भन्दै बैठकबाट बाहिरिएका थिए । त्यसअघि सिटौलाले आन्तरिक शक्ति सन्तुलन र आम सहमति जुटाएर उम्मेदवार चयन गर्ने सभापति देउवालाई सुझाएका थिए । ‘कहाँ-कसलाई उम्मेदवार बनाउँदा चुनाव जित्न सकिन्छ भन्ने हामीहरुको धारणा तपाईंले सुनिसक्नु भएको छ । छलफल मात्रै गर्ने तर निर्णय नहुँदा पार्टीभित्रै अन्यौल खडा भयो,’ सिटौलाको भनाई थियो ,‘हामी सार्वजनिक रुपमा केही भन्दैनौं, तपाईले जसलाई निर्णय गर्नुछ गर्नुहोस । हामी बैठकमा बस्दैनौं ।’


पदाधिकारी बैठकमा पौडेल र सिटौलासहित दश जना सहभागी थिए । संस्थापन इतरपक्षका चार जना बाहिरिएपछि पदाधिकारी बैठकमा संस्थापन पक्षीय ६ जना मात्रै सहभागी छन् । कास्कीमा पौडेलको नाममा टुंग्याएपनि बागलुङ, भक्तपुर र दाङको प्रदेश निर्वाचन क्षेत्रको उम्मेदवार भने अझै टुंगो लागिसकेको छैन ।

प्रकाशित : कार्तिक २०, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?