गोली प्रहार गरी अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लियो, बालकको सकुशल उद्धार

भूषण यादव

(वीरगन्ज) — १० दिन अगाडि काभ्रेको बनेपाबाट अपहरणमा परेका १४ वर्षीय बालकको फिरौती रकम लिने क्रममा पर्सा प्रहरीले अपहरणकारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

गोली प्रहार गरी अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लियो, बालकको सकुशल उद्धार

वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलामा मंगलबार राति करिब एक बजेको समयमा अपहरित बालकका बुवासँग १२ लाख रुपैयाँ फिरौती लिने क्रममा पेस्तोल देखाएर झोला लिएर भाग्न खोज्दा सादा पोसाकमा खटिएका प्रहरीले गोली प्रहार गरी राजकुमार दासलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।


पोखरीया नगरपालिका ६ सोनवरी निवासी दासको दाहिने खुट्टाको घुँडामुनी गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ । अपहरणमा संलग्न अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ ।


अपहरणकारीले प्रयोग गरेको बीआर२२जे ०८०३ नम्बरको भारतीय मोटरसाइकल, कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ५ राउण्ड गोली बरामद भएको प्रहरी प्रवक्ता गौतम थापाले जनाए ।


सीमावर्ती रक्सौलको हरैया थानाको सहयोगमा प्रहरीले अपहरित बालकको उद्धार गरेको थियो । गत कात्तिक १० मा बनेपा बस्ने अम्जद खानको १४ वर्षीय छोराको अपहरण भएको थियो । वीरगन्ज सिर्सिया निवासी अम्जद विगत दुई दशकदेखि बनेपामा राजगीर (घर बनाउने मिस्त्री) को काम गर्दै आएका थिए । उनले परिवार पनि आफूसँगै राखेका थिए । ‘छोरा वीरगन्ज घर आउने क्रममा बाटोबाटै अपहरणमा परेको थियो,’ बुवा अम्जदले भने, भोलिपल्ट अपहरणमा परेको जानकारी भयो ।’


घर हिँडेको भोलीपल्ट उसैको मोबाइलबाट अपहरणकारीले फोन गरि पैसाको माग गरेका थिए । उनका अनुसार दुई वर्ष अगाडि देखि सँगै काम गर्ने फिरोजले अपहरण गरेका थिए ।

‘शनिबार घर हिँडेको छोरोको मोबाइलबाट आइतबार तेरो छोरा चाहियो भनेर १५ लाख रुपैयाँको माग गरे,’ बुधबार जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा भेटिएका अम्जदले भने, ‘मैलै एकैचोटि एकलाख रुपैयाँ त हेरेको छैन्, म गरिबले १५ लाख रुपैयाँ कसरी दिन्थें ।’


त्यसको दुई दिन पछि फेरि फोन गरेर १२ लाख रुपैयाँ मागे । पैसा नदिए ज्यान मार्ने धम्की दिएका थिए । छोरा अपहरण परेको भन्दै अम्जदले बनेपा प्रहरीलाई जानकारी गराएका थिए । अपहरणकारीले प्रयोग गर्ने फोन नम्बरको लोकेशन पर्साको सीमावर्ती क्षेत्र देखाएपछि अम्जद गत शुक्रबार वीरगन्ज आएका थिए ।


‘पर्सा प्रहरीलाई छोरा अपहरणमा परेको जानकारी गराए,’ उनले भने, ‘उता अपहरणकारीसँग पनि सम्पर्कमै थिएँ ।’ उनका अनुसार पैसाको सट्टा कागज राखिएको झोला बोकेर उनी पहिलोपटक अपहरणकारीले बोलाएको ठाउँसम्म पुगेका थिए । ‘रक्सौल भेलाही नहर रोडमा आइतबार पहिलोपटक झोला बोकेर गएको थिएँ, तर अपहरणकारी आएनन्,’ उनले भने ।


मंगलबार साँझ दोस्रो पटक पनि बोलाएको ठाउँमा उनी झोला बोकेर गएका थिए । ‘रेल्वे फाँट निर ब्याग राख्न भने,’ उनले भने, ‘धेरै समयसम्म पनि ब्याग लिन नआएपछि म निराश भएर फर्किंदै थिएँ । फर्केने क्रममा मोटरसाइकलमा आएर गोली पड्काउँदै झोला खोस्न खोजे । म सडकमै लडेको थिएँ, त्यही बेला प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो ।’


प्रकाशित : कार्तिक २०, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?