महराले गल्ती गरेकै हुन् : दाहाल

दुर्गालाल केसी

दाङ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् । प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा व्यक्त गरे ।

लामो सयमसम्म महराबारे सार्वजनिकरुपमा नबोलेका दाहालले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो । महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो,’ उनले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो । आफैंले पनि स्विकार्नुभयो ।’

जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको उनले बताए । ‘पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो । चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन,’ उनले भने, ‘आफ्नो नेतृत्वलाई त्यसरी ढाँट्नु उचित भएन । झन् गल्ती भयो ।’

महराले गरेको गल्तीका बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको दाहालले बताए ।

यस घटनाले अन्य गलत काम गर्नेहरुलाई पनि सजग गराउने धारणा दाहालले व्यक्त गरे ।

‘यो गम्भिर नैतिक गल्ती हो । यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन,’ उनले भने, ‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन । स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ ।’ महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै दाहालले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गरे ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कौसीमै २ सय केजी तरकारी

विना थापा

(कास्की) — पर्यटकीय सहर पोखराको शिवालय चोककी सरस्वती थापाले एक वर्षमा २ सय केजी तरकारी कौसीमा फलाइन् । मौसमअनुसारका तरकारी लगाउने भएकाले उनले बाहिर खासै किन्नु पर्दैन ।

‘१५ वर्षदेखि कौसीमा तरकारी फलाएर खाँदै आएका छौ,’ उनले भनिन्, ‘अहिले तरकारीसँगै विभिन्न जातका फलफूल पनि फलाएको छु ।’ पोखरा–८ कृषि सञ्जालकी संयोजकसमेत रहेकी उनी औषधि व्यवसायी भए पनि फुर्सदको समय सदुपयोग गर्दै कौसीमा खेती लाग्छिन् ।

पोखरामा पछिल्लो समय कौसी खेतीतर्फ स्थानीय आकर्षित भएका छन् । जमिन घरघडेरीमा परिणत भएपछि खेतीयोग्य जमिन घट्दै गएको छ । यसकारण पनि स्थानीय कौसी खेतीमा लागेका हुन् । ‘एकातिर कौसीको सदुपयोग, अर्कोतर्फ अर्गानिक खान पाउने,’ थापाले भनिन्, ‘घरको फोहोरमैलाको व्यवस्थापन पनि भएको छ ।’ थापाले आँप, कागती, स्ट्रोबेरी, अम्बालगायत फलफूलसमेत कौसीमा लगाएकी छन् ।

गत वर्ष वडाले दिएको तालिमपछि खेती लगाउन थालेको पोखरा–८ का डम्बर सुवेदी बताउँछन् । उनले पहिला तरकारीमा धेरै पैसा खर्च हुने गरेकोमा अहिले स्वाट्टै घटेको बताए । पुराना नचाहिने भाडाहरू संकलन गरेर घरको छतमा तरकारी लगाएर घरमा खाना पुगेको उनको भनाइ छ । पोखरा–८ नागढुङ्गा विकास समाजका अध्यक्षसमेत रहेका सुवेदीले सामूहिक रूपमा कौसी खेती गर्दै आएको बताए । वडावासी कृषि खेतिमा निकै उत्साहित देखिएको पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताए । उनका अनुसार गत वर्ष २ लाख रुपैयाँ र चालु वर्ष ३ लाख वडाले बजेट विनियोजन गरेको छ । वडाबाट गत वर्ष ६ सय जनालाई तालिम दिइएकोमा ७५ प्रतिशत सफल भएको उनको दाबी छ । अहिले कृषकहरूले एड्भान्स तालिमको माग गरेको अध्यक्ष बरालले बताए ।

यसैगरी पोखरा–९ मा समेत कौसी खेती गर्नेको संख्या बढेको अध्यक्ष रामराज लम्सालले बताए । कोसी खेतीका लागि वडाले १ लाख रुपैयाँ विनियोजन गरेको छ । पोखराका घना बस्ती भएको विभिन्न वडामा जग्गा थोरै भएको र फोहोरमैला व्यवस्थापनका लागि कौसी खेतीको अभियान चलाइएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार यसले पोखरालाई सफा र सुन्दर बनाउनुका साथै तरकारी आयातमा न्यूनीकरण हुन्छ । महानगरले कौसी खेतीका लागि चालु वर्ष ९ लाख रुपैयाँ विनियोजन गरिएको छ । घना बस्ती भएका १, २, ३, ४, ६, ७, ८, ९, १० र १७ गरी १० वटा वडालाई खेतीका लागि लक्षित गरिएको कडरियाले सुनाए ।

पोखरामा दैनिक ५० टन तरकारी भित्रिन्छ । जसमा १५ प्रतिशत मात्र कास्कीले धान्छ । बाँकी भारत, धादिङ, मकवानपुर, काठमाडौं, चितवनलगायतका जिल्लाबाट भित्रिन्छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT