३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘पक्रने आधार छँदै गोली हान्नु गल्ती’

कुमार घैंटे इन्काउन्टरबारे राष्ट्रिय मानवअधिकार आयोग अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले गुन्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ) माथिको प्रहरी इन्काउन्टरबारे प्रश्न उठाएको छ । घटनाको चार वर्षपछि आयोगले अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । 

‘पक्रने आधार छँदै गोली हान्नु गल्ती’

आयोग उच्चस्रोतका अनुसार घैंटेलाई पक्रेर अनुसन्धान गर्न सकिने आधार हुँदाहुँदै गोली प्रहार गरिनु गल्ती भएको प्रतिवेदनमा उल्लेख छ । घटनाको केही दिनअघि मात्रै घैंटेले आफूलाई प्रहरीले पिछा गरेको भन्दै ज्यानको सुरक्षा मागी आयोगमा निवेदन दिएका थिए । २०७२ भदौ ३ गते कपुरधारामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रहार गरेको गोलीले उनको मृत्यु भएको थियो । प्रहरीले घैंटे इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ । त्यति बेला महाशाखा प्रमुख सर्वेन्द्र खनाल (हाल महानिरीक्षक) र महानिरीक्षक उपेन्द्रकान्त अर्याल थिए ।


‘प्रहरीको गोलीबाट कुमार श्रेष्ठको मृत्यु भएको सम्बन्धमा छिट्टै अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ,’ उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘केही प्राविधिक समस्याले प्रतिवेदन तयार पार्न ढिलाइ भएको हो । अब बस्ने आयोगको पूर्ण बैठकबाट सत्यतथ्य बाहिर ल्याउने तयारीमा छौं ।’ प्रहरी प्रधान कार्यालयसँग समेत जवाफ मागेको आयोगले अनुसन्धान क्रममा मृतकका परिवार, प्रत्यक्षदर्शीसँग भेट्नुका साथै पोस्टमार्टम र अन्य फरेन्सिक जाँच प्रतिवेदन झिकाएको थियो ।


सम्बन्धित निकायले आवश्यक सहयोग नगर्दा प्रतिवेदन ल्याउन ढिलाइ भएको स्रोतले जनाएको छ । आयोगका सदस्य प्रकाश वस्तीले घैंटेको मृत्युसम्बन्धी विषय छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिए । अनुसन्धानकै क्रममा रहेकाले यसबारे आफूले थप बोल्न नमिल्ने उनले बताए ।


२०५५ सालबाटै विभिन्न अपराधमा पक्राउ पर्दै छुट्दै आएका घैंटे इन्काउन्टरअघि पनि प्रहरीको निगरानीमा थिए । उनी २०५५ कात्तिक ५ गते प्रेम गुरुङमाथि खुकुरी प्रहार, २०६० साउन १४ गते बस व्यवसायी संघको कार्यालय तोडफोड, २०६२ असार १८ गते सामाखुसीको भन्ज्याङ दोहोरी साँझमा म्याग्दीका कुमार पौडेललाई कुटपिट तथा २०६३ भदौ १६ गते गोंगबुमा विष्णु लामालाई गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका थिए । त्यस्तै २०६३ असार १८, फागुन २६, २०६५ कात्तिक २४ मा पनि ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए । धम्क्याएर र हतियार देखाएर जबर्जस्ती चन्दा असुली, घरजग्गा कारोबार र ठेक्कापट्टामा उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।


२०७१ साउन २१ गते पेप्सीकोलाका ११ वर्षीय निसान खड्का अपहरण र हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङमाथि भएको भनिएको इन्काउन्टर पनि विवादित नै छ । यो विषयमा पनि आयोगले अनुसन्धान अघि बढाएकोमा प्रतिवेदन सार्वजनिक गरेको छैन । लागूऔषध दुर्व्यसनमा संलग्न प्रवीण खत्री र ‘गुन्डा नाइके चरी’ भनिने दिनेश अधिकारी पनि इन्काउन्टरमै मारिएको प्रहरीको दाबी छ ।


गत कात्तिक ४ गते आयोगले प्रतिबन्धित चन्द समूहका नेता कुमार पौडेललाई गोली हानी हत्या गरिएको भन्दै प्रहरी निरीक्षक कृष्णदेव (केडी) प्रसाद साहसहित ३ प्रहरीलाई तत्काल निलम्बन गरेर फौजदारी अपराधमा कारबाही गर्न सिफारिस गरेको थियो । असार ५ गते प्रहरी प्रधान कार्यालय विशेष ब्युरोबाट खटिएको सादा पोसाकको टोलीले पौडेललाई ९ वटा गोली प्रहार गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २०, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?