कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बुद्ध नेपालमा पो जन्मेका रहेछन् : आइभरिकोस्टका उपराष्ट्रपति

जगदीश्वर पाण्डे

काठमाडौँ — ‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि हिजो (सोमबार) पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार स्वेदश फर्केका अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले भने ।

बुद्ध नेपालमा पो जन्मेका रहेछन् : आइभरिकोस्टका उपराष्ट्रपति

उपराष्ट्रपति डुन्कन प्लेन चार्टर गरी आइतबार काठमाडौं उत्रिएका थिए । पहिलोपटक ‘सगरमाथाको देशमा’ आउँदा उनी रोमाञ्चित भए । आइभरिकोस्टबाट करिब साढे ९ हजार किलोमिटर हवाई यात्रा गर्दै आएका उनले त्यहाँका करिब एक हजार मिटर अग्ला हिमाल र संसारकै सर्वोच्च ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको तुलना पनि गरे ।


सन् २०१७ जनवरीमा पद सम्हालेका ७६ वर्षीय डुन्कन पोषणसम्बन्धी सेवाहरूको विस्तारका लागि आयोजित विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । मंगलबार कान्तिपुरसँगको कुराकानीका क्रममा उनले आफ्नो मुलुकका चर्चित फुटबलर डिडियर ड्रोग्बा र याया टुरेको चर्चा मात्र गरेनन्, हालै ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल एक नेपालीले ६ महिनामा चढेको भन्दै प्रशंसासमेत गरे । ‘दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न अन्य विभिन्न क्षेत्र छन् । आइभरिकोस्टले नेपाललाई फुटबलमा अघि बढ्न सघाउँछ । नेपालले हामीलाई शिखर चढ्न सिकाउनुपर्छ,’ उनले भने ।


नेपालीहरूले फुटबलमार्फत आइभरिकोस्टमाथि गरेको मायाप्रति उनी खुसी भए । ‘नेपाल र आइभरिकोस्टबीच सुमधुर सम्बन्ध हुनुपर्छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा राष्ट्रपतिलाई अर्को वर्ष भ्रमणको निम्तो दिनुभएको छ,’ उनले भने, ‘कसरी दुई मुलुकबीच सम्बन्ध अघि बढाउन सकिन्छ भनेर संयुक्त राष्ट्रसंघमा रहेका दुई मुलुकका प्रतिनिधिबीच कुरा गर्न सकिन्छ ।’ दुईपटक प्रधानमन्त्रीसमेत बनिसकेका डुन्कनले नेपाल आउन पाउँदा गज्जब लागेको बताए । नेपाल संस्कृतिको धनी मुलुक रहेको र यहाँका उच्च हिमाल विकासमा सघाउने उनको भनाइ छ ।


अफ्रिकी महादेश पछाडि मात्र परिरहेको छ कि त्यहाँ विकासका परिवर्तन पनि देखिएका छन् भन्ने प्रश्नमा डुन्कनले भने, ‘तथ्यांक हेर्ने हो भने एसियापछि सबैभन्दा बढी आर्थिक वृद्धिदर गर्ने महादेश अफ्रिका हो । त्यहाँको प्रतिव्यक्ति आय (जीडीपी) मा ५ प्रतिशत वृद्धि भएको छ । आइभरिकोस्टमा सन् २०१२ देखि २०१८ सम्म लगातार ८ प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ ।’ चिनियाँ लगानीले अफ्रिकी मुलुकहरूमा खेलिरहेको भूमिकाबारे पनि उनले प्रस्ट्याए ।

प्रकाशित : कार्तिक २०, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?