१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चितुवाबाट जोगिन पूजा

सम्झना रसाइली

(तनहुँ) — सबै उपाय लगाउँदा पनि संकट नटरे मानिस भन्छन्– ‘भगवान् सम्झनुस् ।’ भानुनगरका बासिन्दाले सोमबार त्यसै गरे । ठूलो संख्यामा भेला भएर उनीहरूले कालिकादेवी र भीमसेन थुम्की मन्दिरमा पूजाआजा गरे । चितुवाको आक्रमणबाट जोगिन दर्जन बोकाको बलि दिए । 

चितुवाबाट जोगिन पूजा

देवी रिसाएकाले चितुवा आतंक बढेको आशंकामा भानुका चारवटा वडाका बासिन्दाले कालिकादेवी मन्दिरमा पूजा लगाएका हुन् । ‘देवी रिसाएर पो हो कि भनेर खुसी पार्न पूजा गरेका हौं,’ सीता अधिकारीले भनिन्, ‘जोगिने सबै उपाय लगाए पनि हामीले देवता सम्झनैपर्छ । त्यो पो छुट्यो कि भन्ने भएर पूजामा जुटेका हौं ।’ ती वडामा दुई वर्षयता चितुवाको आक्रमणमा ६ बालबालिकाको मृत्यु भइसकेको छ । अन्य ७ घाइते भएका छन् । चितुवाले ७० घरपालुवा जनावर खाइसकेका छन् । पूजामा २ सय ५० घरधुरीका बासिन्दा सहभागी भए । दुइटा बोका पनि बलि दिए । अन्य वडाका स्थानीय पनि पूजामा सहभागी भए । ‘प्रायः चैतेदसैंमा पञ्चबलिसहित मन्दिरमा गाउँलेले पूजा गर्छन्, तर पुरेत बोलाएर चण्डीपाठ भने गरिएको थिएन,’ अधिकारीले भनिन्, ‘चैतेदसैंमा पूजा गर्दा विधि नपुगेर देवीले श्राप दिएकी हुन् कि भनेर अहिले तीन जना पुरेत बोलाएर चण्डीपाठ र हवन पनि गर्‍यौं ।’


१ नम्बर वडाका बासिन्दाले भीमसेन थुम्की मन्दिरमा छुट्टै भँयेरको पूजाअर्चना गरे । ‘भँयेर हाम्रा जंगलका देवता हुन् । चितुवाको आक्रमण रोकिने विश्वासले पूजाआजा गरेका हौं,’ प्रेमबहादुर थापाले भने, ‘पूजापछि चितुवा आतंक रोकिने आशामा छौं ।’


भीमसेन थुम्की सामुदायिक वन समूहमा आबद्ध १० वटा टोल सुधार समितिले प्रतिटोल एक/एकवटा बोका बलि दिएर भँयेरको पूजा गरेको उनले बताए । ‘देवीदेवतालाई खुसी बनाउन पूजाआजा गरियो, बोकाको बलि दिइयो,’ भन्सारका ठाकुर अधिकारीले भने, ‘पूजा गर्दैमा रोकिन्छ नै भन्ने होइन । धर्मप्रति एउटा विश्वास हो, आस्था हो । पूजा त गरियो, तर ढुक्क भएर बस्ने स्थिति भने छैन ।’ चितुवा नियन्त्रणको भरपर्दो प्रयास हुन जरुरी रहेको उनले बताए ।


बाक्लो वन क्षेत्र र पातलो बस्ती भएकाले चितुवा दिउँसै पनि निस्कन्छ । आक्रमणका घटना बढेपछि नियन्त्रणका लागि विभिन्न प्रयास जारी छ । सामुदायिक वन क्षेत्रमा काठका नौवटा परम्परागत खोर बनाई तिनमा बाख्रासहितको पासो थापिएको छ । यसरी थापिएको पासोमा दुइटा भाले चितुवा परिसकेका छन् । तैपनि चितुवाको त्रास घटेको छैन । वनमा चितुवा कति संख्यामा छन् भन्ने वनकर्मीलाई पनि यकिन छैन । प्रायः साँझको समयमा चितुवाले आक्रमण गर्ने भएकाले अहिले यी गाउँ साँझ ५ बज्दा नबज्दै सुनसान हुने गरेको भानु–२ की माया मानन्धर बताउँछिन् । ‘घाम अस्ताउनेबित्तिकै घरको मूलढोका र झ्याल बन्द गरेर बस्छौं,’ उनले भनिन्, ‘घर वरपर चितुवा नआओस् भनेर रातभरि बत्ती बालेर राख्ने गरेका छौं ।’


लामो समयदेखि नरभक्षी चितुवाको खोजी भइरहे पनि मान्छेमाथि आक्रमणका घटना नियन्त्रणमा आउन सकेको छैन । जंगलमा फुट ट्र्याप, क्यामेरा ट्र्यापिङ, विशेष सुरक्षा दस्ता परिचालन र बाख्रासहितको परम्परागत काठको खोरमा पासो थाप्ने काम भइरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए । उनले भने, ‘चितुवा नियन्त्रणको प्रयास जारी छ तर यहाँ कति संख्यामा छन् भन्ने कसैले टुंगो गर्न सकेको छैन ।’ पासोमा परेका दुई भाले चितुवालाई जीवितै जिल्ला बाहिर पठाइएको उनले बताए ।


यस क्षेत्रमा चितुवा आतंक बढ्दै गएपछि नियन्त्रणको कामका लागि गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘चितुवा चलाख वन्यजन्तु हो, सजिलै समात्न सकिँदैन,’ गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले भने, ‘त्यसको आनीबानी बुझेर नियन्त्रणमा लिनका लागि वन्यजन्तु विज्ञको टोली पनि परिचालन गर्ने तयारीमा छौं ।’


प्रकाशित : कार्तिक २०, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?