प्रधानमन्त्रीको स्वास्थ्य : चाहिएका बेला मात्रै डायलसिस

बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ । अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलसिस गर्नुपर्ने बताएका थिए । दुईपटकको डायलसिसपछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रोपटक गर्नुपरेको छैन । 

प्रधानमन्त्रीको स्वास्थ्य : चाहिएका बेला मात्रै डायलसिस

उपचारमा संलग्न चिकित्सकहरूले अहिले उनको स्वास्थ्य अवस्था ‘ठीकठाक’ रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेकाले थप डायलसिस गरिएको छैन,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले भने । डा. शर्माका अनुसार प्रधानमन्त्रीको थप उपचार पद्धति कस्तो हुने भन्ने पनि टुंगो लागिसकेको छैन । ‘थप उपचारका विषयमा हामीबीच विस्तृतमा छलफल भइरहेको छ,’ उनले भने ।


प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि तत्कालका लागि डायलसिस गर्दै अघि बढ्ने कुरा भएको जनाएको छ । ‘प्रधानमन्त्री ओलीलाई मैले मंगलबार साँझ भेटें । अहिले नियमितभन्दा पनि आवश्यक परेका बेला मात्रै डायलसिस गर्नुपर्ने सुझाव डाक्टरहरूले दिएका रहेछन्,’ नेकपाका एक स्थायी समिति सदस्यले भने ।


प्रधानमन्त्री ओलीको स्वास्थ्यको नियमित ‘फलोअप’ गर्न डाक्टरहरूको निगरानी बढाइएको छ । ‘एक जना डाक्टर स्ट्यान्डबाई हुनुहुन्छ,’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने ।


उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेकाले बालुवाटरमै डायलसिस मेसिन पनि तत्काल जडान गरिने छैन । ‘नियमित डायलसिस गर्नुपर्ने भए बालुवाटरमै मेसिन राख्ने कुरा भएको थियो । तर आवश्यक परेका बेला अस्पतालमै जाने कुरा भएको छ,’ उनले भने ।


१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत साता उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल गएका थिए । गत बुधबार र बिहीबार दुईपटक डायलसिस गरेर उनी निवास फर्किएका थिए । शुक्रबार दिनभर आराम गरेका ओली शनिबारदेखि सक्रिय भए । उनले शनिबार बिहान नेकपा सचिवालय बैठक बोलाएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । आइतबार मन्त्रिपरिषद् बैठकबीचबाटै अस्पताल पुगेर फोक्सोको एक्सरे गराएका थिए । ‘एक्सरे गर्दा फोक्सोको पानी सुकेको रिपोर्ट आएपछि आफ्नो स्वास्थ्यलाई लिएर उहाँ केही उत्साहित हुनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो । त्यही रिपोर्ट र प्रधानमन्त्रीको स्वास्थ्य उपचारका अन्य रिपोर्ट पनि हेरेपछि डाक्टरले तत्कालका लागि आवश्यक परेका बेला मात्रै डायलसिस गरे पुग्ने निष्कर्ष निकालेका हुन् ।


प्रधानमन्त्री ओलीले यसअघि साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । अहिले प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरूले सिंगापुरमा उपचार गरेका डाक्टरहरूसँग पनि समन्वय गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?