कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विश्व रेन्जर सम्मेलन चितवनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — वन्यजन्तु संरक्षणमा खटिने विश्वभरका संरक्षणकर्मी रेन्जरहरूको नवौं सम्मेलन चितवनको सौराहामा हुने भएको छ ।
कात्तिक २६ देखि चितवन राष्ट्रिय निकुञ्जमा हुने पाँचदिने वर्ल्ड रेन्जर कंग्रेसमा करिब ७१ देशका ५ सय ५० संरक्षणकर्मी सहभागी हुनेछन् ।

विश्व रेन्जर सम्मेलन चितवनमा

इन्टरनेसनल रेन्जर फेडेरेसन (आईआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा हुने उक्त सम्मेलन एसियामा पहिलो पटक हो ।


सम्मेलनले नेपालले वन्यजन्तु संरक्षण र अनुसन्धानमा हासिल गरेको उपलब्धिका साथै वन्यजन्तु पर्यटनमा पुर्‍याएको योगदानले विश्वभर सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । चितवन निकुञ्ज वन्यजन्तु सफारीका लागि मुलुककै पहिलो गन्तव्य हो । एकसिंगे गैंडा, बाघ, हात्तीलगायतका वन्यजन्तु चितवनका मुख्य आकर्षण हुन् । सम्मेलनको तयारीमा खटिएका निकुञ्ज विभागका संरक्षणकर्मी रूपक महर्जनका अनुसार आईआरएफले वन्यजन्तु संरक्षणका सिकाइ, अनुभव साटासाट गर्न र मानव–वन्यजन्तु हितका बारेमा छलफल गर्ने उद्देश्यले हरेक तीन वर्षमा सम्मेलन आयोजना गर्ने गरेको छ ।


आठौं सम्मेलन सन् २०१६ मा अमेरिकाको कोलोराडोमा भएको थियो । त्यसले नवौं सम्मेलन नेपालमा गर्ने घोषणा गरेको थियो । सम्मेलनलाई वन्यजन्तु संरक्षणमा लागेका विश्वभरका हिरोहरूको भेलासमेत भन्ने गरिन्छ । रेन्जरका हित, स्थानीय समुदाय र रेन्जर, इन्डिजिनियस रेन्जर, क्षमता अभिवृद्धि, महिला रेन्जर, प्रविधि र रेन्जर एसोसिएसनको भूमिकालगायत विषयमा छलफल हुनेछ ।


सम्मेलनका दौरान वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा अनुभव बटुलेका विज्ञहरूले आ–आफ्ना मुलुकका सफल उदाहरण प्रस्तुत गर्नेछन् । सम्मेलनपछि ‘सौराहा घोषणापत्र’ जारी गरिनेछ ।

प्रकाशित : कार्तिक १९, २०७६ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?