३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आलमलाई बयानका लागि अदालत लगियो 

शिव पुरी

रौतहट — रौतहटको राजपुर फरदहवा बमकाण्डमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बयानका लागि अहिले जिल्ला अदालतमा उपस्थित गराइएको छ । आलममाथि ३ वटा अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दर्ता गराएपछि बयानका लागि अदालत लगिएको हो ।

आलमलाई बयानका लागि अदालत लगियो 

उनको बयान सकिएपछि थुनछेक बहस सुरु हुने भएको छ । अहिले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवामा भएको बम बिस्फोटको घटनामा आलम विरुद्ध कर्तव्य ज्यान, ज्यानमर्ने उद्योग र बिस्फोटन भण्डारणको मुद्दामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो । त्यसपछि उनि माथि अभियोग अनुसारको सजायको मागसहित ३९ पृष्ठ लामो अभियोगपत्र अदालतमा दर्ता भएको छ ।


उनलाई जिल्ला अदालतका न्यायशधीश दिपक ढकालले बयान लिने तयारी भइरहेको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले जनाए । ‘केही बेरमा आलमसित बयान लिने काम सुरु हुन्छ,’ उनले भने, ‘न्यायाधीश ढकालले उनीसँग बयान लिनुहुन्छ । र बयान सकिए पछि बहस सुरु हुन्छ ।’


राजपुर बमबिस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नीभट्टामा हालेर मारेको आलम माथी आरोप छ । विभिन्न व्यक्तिले घटना बारे बयान दिए पनि उनले अहिलेसम्म आरोप स्विकारेका छैनन् ।


अदालतको नियमित प्रक्रिया अनुसारको गोलाप्रथा गर्दा आलमको मुद्दा इजलाश नम्बर ४ का न्यायाधीश ढकालको बेञ्चमा परेको हो । आलमलाई अदालत लगिँदा सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आलमको मुद्दामा पीडित तथा वादीको पक्षमा दुई वरिष्ठ अधिवक्तासहित १२ कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ । आलमको बयान सकिएपछि जिल्ला सरकारी वकिल जिल्ला न्यायाधिवक्ता कटुवालले बहस सुरु गर्ने जानकारी गराइएको छ । आलमको पक्षमा रौतहटका २८ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

लोगो लगाउन छाडेनन्

कर्तव्यज्यान मुद्दामा पक्राउ परेका आलमले अहिलेसम्म सांसदको लागो लगाइरहेका छन् । प्रहरीले उनलाई लोगो नलगाउन अनुरोध गरे पनि उनले टेरेका छैनन् । फौजदारी अभियोग लागेकाले सांसदको लोगो लगाउन पाइँदैन ।


उनी असोज २६ गते पक्राउ परे पछि संसद सचिवालयले निलम्बनको जानकारी प्रहरीलाई गराईसकेको छ । उनि अदालतमा पटकपटक उपस्थित हुँदा लागो लगाएरै आउने गरेका छन् । हिरासतमा बस्दा समेत उनले लागो छाडेका छैनन् ।


प्रकाशित : कार्तिक १९, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?