कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

यस्ता छन् नयाँ प्रदेश प्रमुखहरु

शपथ आज
बिनु सुवेदी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

यस्ता छन् नयाँ प्रदेश प्रमुखहरु

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ भण्डारीले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३, म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचनलाई गण्डकी, सिरहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।


नेकपाको सक्रिय राजनीति गरिरहेका उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले मंगलबार शपथ गराएपछि उनीहरूले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सात जनाको नाम छनोट गरेको थियो । नियुक्त भएकामध्ये ४ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी पक्षका छन् । अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्वएमालेका हुन् भने परियार, शेरचन र पन्त पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।


मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ती कांग्रेस सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार साँझ राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी थिइन् ।


को हुन् नयाँ प्रदेश प्रमुख ?

अमिक शेरचन

गण्डकी प्रदेश प्रमुख नियुक्त भएका शेरचन २००६ सालमा म्याग्दीको ओखरबोटमा जन्मिएका हुन् । २०१७ सालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । १६ वर्ष भूमिगत र ३ वर्ष जेल जीवन बिताएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । २०६३ सालमा तत्कालीन नेकपा माओवादीसँग पार्टी एकता हुनुअघि उनी तत्कालीन नेकपा एकता केन्द्रको चुनावी मोर्चा जनमोर्चा नेपालका अध्यक्ष थिए ।


२०६३ को राजनीतिक परिवर्तनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरचन उपप्रधानमन्त्री बनेका थिए । २०६४ को संविधानसभा चुनावमा चितवन क्षेत्र ५ बाट विजयी भएका थिए । उनले तत्कालीन संविधानसभाको राष्ट्रिय हित संरक्षण समिति सभापतिको भूमिकामा काम गरेका थिए । त्यसबेला उनले प्रत्येक नागरिकलाई सैन्य तालिम दिनुपर्ने भनी गरेको प्रस्ताव विवादमा परेको थियो । सरकारले प्रदेश प्रमुखमा सिफारिस गर्नुअघिसम्म उनी पार्टीमा भूमिकाविहीन जस्तै थिए । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि शेरचनलाई आमन्त्रित स्थायी समिति सदस्य बनाइएको थियो । त्यसप्रति उनले असन्तुष्टि जनाउँदै आएका थिए ।


तिलक परियार

प्रदेश २ का प्रमुख परियार नेकपाका केन्द्रीय सदस्य एवं पुराना वामपन्थी नेता हुन् । २०२८ सालदेखि राजनीति सुरु गरेका उनले लामो समय भूमिगत राजनीति गरेका थिए । २०६४ सालको संविधानसभा चुनावमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट बाँके क्षेत्र नम्बर १ मा निर्वाचित भएका थिए ।


दोस्रो संविधानसभा चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा लागेर उनले संविधानसभा चुनाव बहिष्कार गरे । पछि रामबहादुर थापाहरूसँगै पुनः पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा फर्किए । स्नातकसम्म अध्ययन गरेका परियार रोल्पामा जन्मिएका हुन् । लामो समय भारत बसेको उनको परिवार पछि बाँकेमा बसाइँ सरेको थियो । उनी तत्कालीन माओवादीनिकट दलित मुक्ति मोर्चाका अध्यक्ष पनि बनेका थिए ।


गोविन्द कलौनी

कर्णाली प्रदेश प्रमुख कलौनी पूर्वएमालेमा रहेर सक्रिय राजनीति गरेका नेता हुन् । दोगडाकेदार गाउँपालिका बैतडीमा जन्मिएका उनी २०५१ को मध्यावधि चुनावमा डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । २०५६ मा तत्कालीन नेकपा मालेबाट बैतडीमा र २०६४ मा एमालेका तर्फबाट कञ्चनपुरमा उम्मेदवार बने तर कुनै पनि चुनावमा विजयी हुन सकेनन् । विज्ञान विषयका शिक्षक कलौनी शिक्षण पेसा छाडेर राजनीतिमा लागेका हुन् ।


सोमनाथ अधिकारी ‘प्यासी’

कास्कीका अधिकारी प्रदेश १ प्रमुखमा नियुक्त भएका छन् । २००७ सालमा जन्मिएका अधिकारी २०१८ देखि कम्युनिस्ट राजनीतिमा लागेका हुन् । नेकपाको आमन्त्रित स्थायी समिति सदस्य उनले बारम्बार जेलजीवन बिताएका छन् । बीएडसम्म अध्ययन गरेका अधिकारी राजनीतिसँगै साहित्यमा पनि रुचि राख्छन् । २०४३ मा तत्कालीन मालेको तर्फबाट राष्ट्रिय पञ्चायत सदस्य जितेका उनले २०४८ सालको चुनावमा कास्की ३ बाट चुनाव जितेका थिए । यस पटक मंसिर १४ गते कास्की २ मा हुन लागेको उपचुनावमा गण्डकी प्रदेश कमिटीले उनको नाम पनि सिफारिस गरेको थियो । तर पार्टीले विद्या भट्टराईलाई टिकट दिएर उनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।


धर्मनाथ यादव

प्रदेश ५ को प्रमुखमा नियुक्त भएका यादव सिरहाका नेता हुन् । एमाले पृष्ठभूमिका ७६ वर्षीय यादव लामो समयसम्म शिक्षण पेसामा आबद्ध थिए । २०२७ देखि २०४८ सम्म स्थानीय विद्यालयमा पढाएका उनी २०४८ को संसदीय निर्वाचनमा सिरहा १ मा उम्मेदवार थिए तर चुनाव हारे । तत्कालीन एमालेको अनुशासन आयोगको सदस्य रहेका उनी प्रदेश प्रमुखहरूमध्ये सबैभन्दा ज्येष्ठ हुन् ।


विष्णु प्रसाईं

प्रदेश ३ को प्रमुख प्रसाईं पञ्चायतकालमा कम्युनिस्टहरूले सञ्चालन गरेको झापा आन्दोलनमा सक्रिय थिए । २०१० साउन २१ गते जन्मिएका उनले एसएलसी उत्तीर्ण गरेका छन् । उनी अहिले नेकपा प्रदेश १ कमिटीका सदस्य थिए । २०५६ सालको संसदीय चुनावमा उम्मेदवार रहे पनि उनी पराजित भएका थिए । तत्कालीन एमालेले उनलाई झापाको मेचीनगर नगरपालिकाबाट चुनावमा उठाएको थियो । उक्त चुनाव पनि उनले जित्न भने सकेनन् ।


शर्मिलाकुमारी पन्त

५१ वर्षीया पन्त सुदूरपश्चिम प्रदेशको प्रमुख नियुक्त भएकी छन् । उनी बेपत्ता पारिएका परिवारकी सदस्य हुन् । उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई २०६० असोज ९ गते तत्कालीन सेनाले काठमाडौंको शान्तिनगरबाट बेपत्ता पारेको थियो ।


२०२५ साल पुसमा जन्मिएकी उनले स्नातकसम्मको अध्ययन गरेकी छन् । उनले २०५७ बाट तत्कालीन माओवादीको सदस्यता लिएर राजनीति सुरु गरेकी हुन् । उनी तत्कालीन एमाओवादीनिकट राज्यले बेपत्ता पारेका व्यक्तिको परिवार समाजको अध्यक्ष पनि थिइन् ।



प्रदेश प्रमुख हटाउनु सरकारको प्रतिशोध : देउवा


सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश प्रमुख हटाएर सरकारले प्रतिशोधपूर्ण काम गरेको आरोप लगाएका छन् । सुनकोसी गाउँपालिका–१ थोकर्पास्थित बागभैरव माविको भवन सोमबार उद्घाटन गर्दै उनले सरकारले निर्णय नसच्याए आन्दोलन थाल्ने बताए ।


‘पूर्वाग्रही मानसिकताबाट ग्रस्त भएर प्रदेश प्रमुख हटाइएको छ, यो कहाँको नीतिसंगत हो,’ उनले भने, ‘अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्दै जाने हो भने मुलुक समृद्धि होइन, दुर्गतितर्फ धकेलिनेछ ।’ प्रदेश प्रमुख हटाएर सरकारले गलत नजिर बसाएको उनको भनाइ छ । प्रदेश प्रमुख संवैधानिक पद भएकाले पूर्ण कार्यकाल सञ्चालन गर्न दिनुपर्ने तर्क गर्दै देउवाले नेकपा नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको बताए ।


‘चुनाव जित्नु र हार्नु सामान्य कुरा हो तर जित्ने दलले हार्ने पार्टीलाई अनावश्यक दुःख दिने काम राम्रो होइन,’ उनले भने । विभिन्न समयमा र द्वन्द्वकालमा अन्यायमा परेकालाई न्याय दिलाउन सरकार चुकेको देउवाको भनाइ छ । कार्यक्रममा संघीय सांसद अग्नि सापकोटा, कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकार सच्चिएर जान आवश्यक भएको बताए ।

प्रकाशित : कार्तिक १९, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?