कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मन्त्रीको आस सडक खन्दा खेत लिलाम

मन्त्रीले बजेटको व्यवस्था गर्ने आश्वास दिएपछि खेत धितोमा राखेर बाटो खन्न जेसीभी लगाए, बाटोको उद्घाटन तिनै मन्त्रीले गरे, तर तमसुक बनाई धितो राखेर लिएको ऋण तिर्न सकेनन् । 
प्रताप रानामगर

(दमौली) — नजिकैको छिमेकी गाउँमा मोटर बाटो पुगेपछि तनहुँ भिमाद नगरपालिका–५ च्यानभन्ज्याङका ६८ वर्षीय लोकबहादुर थापाले पनि आफ्नो गाउँमा मोटर बाटो पुर्‍याउने अठोट लिए । तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमसँग सडक खन्न बजेटको माग पनि गरे ।

मन्त्रीको आस सडक खन्दा खेत लिलाम

पूर्ववडाध्यक्षसमेत रहेका थापाले मन्त्रीसँग टेलिफोनमा मोटर बाटोका विषयमा कुराकानी गरे । ‘मन्त्रीज्यू गाउँमा मोटर बाटो पुर्‍याउनुपर्‍यो,’ उनले भनेका थिए, ‘गाउँलेले चन्दा संकलन गरेको रकम सकियो ।’ ऋषिङपाटन माझचौतारादेखि बेसारे पहरोसम्म ट्र्याक खनेको तर बजेट नहुँदा च्यानभन्ज्याङ धारुङभन्ज्याङसम्म ट्र्याक खोल्न नसकिएको भन्दै मन्त्रीसँग बजेट मागिएको थियो । मन्त्री गौतमले टेलिफोनमै बजेट व्यवस्था गरिदिने आश्वासन दिए । सोहीअनुसार सडक खनियो । ‘बाटो खन्नुहोस्, बजेट व्यवस्था गर्ने जिम्मा मेरो भयो । भोलिबाटै काम गर्नुस् भन्नुभयो,’ थापाले सम्झिए, ‘आफ्नै जिल्लाका मन्त्रीले आश्वासन दिएपछि विश्वास लाग्यो ।’


मन्त्रीको आश्वासनपछि उनी भिमादका साहु देवबहादुर ज्वारचनकहाँ जेसीभी माग्न गएर भने, ‘साहुजी गाउँमा मोटर बाटो खन्न जेसीभी चाहियो । बाटो खनेको खर्च मन्त्रीज्यूले व्यवस्था गर्छु भन्नुभएको छ ।’ विश्वास नलागे बुधुवाफाँटको खेत धितो राख्ने थापाले ज्वारचनलाई वचन दिए । लोकबहादुरलाई साथ दिँदै स्थानीय नारद गैरेले पनि वान्टेङखोलाको ४ रोपनी खेत धितो राख्न तयार भए । लालपुर्जा धितो राखी तमसुक बनाएर मोटर बाटो खन्न जेसीभी लिएर दुवै जना गाउँमा पुगे । ऋषिङपाटनको माझचौतरादेखि बूढाकोट, च्यानभन्ज्याङ हुँदै धारुङभन्ज्याङसम्म साढे ६ किमि मोटर बाटोको ट्र्याक खुल्यो ।


उक्त मोटर बाटोको ०६८ चैत १६ मा तिनै मन्त्री गौतमले रिबन काटेर उद्घाटन गरे । त्यसक्रममा उनले भनेका थिए, ‘गाउँलेलाई साक्षी राखेर मोटर बाटो खन्दा लागेको १८ लाख रुपैयाँ मन्त्रिपरिषद् बैठकबाट पारित गरी बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछु ।’ तर उक्त प्रतिबद्धता जनाएको ७ वर्ष बितिसक्दा पनि एक रुपैयाँ बजेट आएन । ‘पटकपटक सिंहदरबार, मन्त्री निवास र पार्टी कार्यालयमा धाइयो,’ लोकबहादुरले भने, ‘तर जनताका अगाडि बोलेका कुरा पनि मन्त्रीज्यूले बिर्सेर हामीलाई धोका दिनुभयो ।’


मन्त्रीले हामीलाई धोका दिए पनि आफूले भने साहुलाई धोका नदिएको थापाले बताए । त्यसैले बुदुवाफाँटको ४ रोपनी नम्बरी खेत साहुलाई दिए । सडक खन्दा लागेको खर्चमध्ये साहुलाई ७ लाख ७० हजार रुपैयाँ तिर्न बाँकी भएपछि उनले उक्त खेत दिएका थिए । अहिलेसम्म खेत फिर्ता भएको छैन । बरु साहुले उक्त खेत अर्कैलाई लाखौं रुपैयाँमा बेचिदिएका छन् । लोकबहादुरसँगै नारद गैरेको अर्को ४ रोपनी खेत पनि धितो राखिएको थियो ।


ऋण तिर्न नसक्दा थापा र नारद गैरेको नाम किटान गरी ज्वारचनले जिल्ला अदालतमा मुद्दा दर्ता गरे । तमसुकको आधारमा दुवैको ८ रोपनी खेत ज्वारचनका नाममा हुने अदालतले फैसला गरिदियो । ‘गाउँको विकास गर्न जग्गा धितो राखेको हौं,’ थापाले भने, ‘मन्त्रीको आश्वासनका पछि लाग्दा जोगी बन्ने अवस्था आयो ।’ जग्गा फिर्ताका लागि सबैसँग हारगुहार मागे पनि कसैले नसुनेको उनले गुनासो गरे । सडकले गाउँवासी खुसी भए पनि अहिलेसम्म पुर्जा फिर्ता हुन नसक्दा भने दुःखी छन् ।


‘लोकबहादुर र नारदले गाउँलेका सुविधाका लागि यत्रो सहयोग गर्नुभएको हो तर अहिले समस्यामा पर्नुभयो,’ ऋषिङपाटन, बूढाकोट धारुङभन्ज्याङ मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष रणबहादुर थापाले भने, ‘खेत धितो नराखेको भए गाउँमा गाडी गुड्ने थिएन । मोटर बाटोका कारण गर्भवती महिला तथा बिरामीले समयमा उपचार गर्न पाएका छन् । तर जग्गै लिलाम हुँदा भने दुःख लागेको छ ।’ सडक खन्दा करिब १८ लाख ऋण भएको थियो ।


तत्कालीन जिविसबाट २ लाख, गाविसबाट १ लाख र स्थानीयबाट चन्दा संकलन गरी ७ लाख ७५ हजार रुपैयाँमात्र संकलन भएको थियो । जेसीभीले सडक खन्दा ३ सय १८ घण्टा लागेको थियो । प्रतिघण्टा ५५ हजार रुपैयाँका दरले सडक खनिएको थियो ।


ज्वारचनलाई ऋण तिर्न एक वर्षअघि गाउँलेले करिब ८ लाख रुपैयाँ चन्दा संकलन गरेर राखेको भिमाद–५ का वडा सदस्य गणेश गैरेले बताए । ‘बाटो खनेको ऋण तिर्न गाउँलेले पैसा उठाएका छन्,’ उनले भने, ‘बाँकी ऋण तिरेर लालपुर्जा फिर्ता गर्न गाउँले चाहन्छन् ।’


तर थापा र गैरेले धितो राखेको खेत ज्वारचनले स्थानीय ध्रुव सुवेदीकी श्रीमती कल्पनालाई बेचेका छन् । पहिला ऋण तिरे जग्गा फिर्ता गर्छु भन्ने ज्वारचनले पछिल्लो समय ऋण तिर्न खोज्दा भेट्न नदिने र फोन गर्दा नउठाएको स्थानीयले बताए । कहिलेकाहीँ सम्पर्क गर्दा ध्रुव सुवेदीसँग कुरा गर्न पठाएर ज्वारचन पन्छिँदै आएको गैरेले बताए । सुवेदीले उक्त खेत आफूले ८० लाख रुपैयाँमा किनेको बताए । ज्वारचनलाई पटकपटक घरमा गएर भेट्न खोज्दा भेट हुन सकेन भने टेलिफोन सम्पर्क गर्दा पनि आउन चाहेनन् ।


प्रकाशित : कार्तिक १८, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?