१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाणिज्य विभागले गर्‍यो चन्द्रगिरि केबुलकारको अनुगमन, ७ सय रुपैयाँ भाडा लिनुको कारण माग

प्रशान्त माली

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७ सय रुपैयाँ भाडा लिनुको कारण खुलाई ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ । 

वाणिज्य विभागले गर्‍यो चन्द्रगिरि केबुलकारको अनुगमन, ७ सय रुपैयाँ भाडा लिनुको कारण माग

विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के–कति कारणले निर्धारण गरेको हो, प्रमाण पेस गर्नू’ भनी निर्देशन दिएको हो । विभागको टोलीले अनुगमनलगत्तै तत्कालै लिखित पत्रमार्फत निर्देशन दिएको थियो । ‘हेल्लो सरकार’ मा एक महिनाअघि केबुलकार शुल्क महँगो भएको भन्ने उजुरी परेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुसन्धान गरी लिखित जवाफ पठाउन विभागलाई पत्राचार गरेको थियो ।


विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले हिल्सले जवाफ पेस गरेपछि विस्तृत अनुसन्धान थाल्ने बताए । ‘७ दिनसम्म कुर्छौं,’ उनले भने, ‘सरकारी निर्देशन नमानेमा फेरि अनुगमन गरी निर्देशन दिइनेछ ।’ हिल्सले केबलकारमा यात्रा गर्ने नेपालीका लागि एकतर्फी ४१५ रुपैयाँ, दुईतर्फी ७ सय रुपैयाँ लिने गरेको छ ।


सार्क देशका नागरिकका लागि एकतर्फी ६६४ रुपैयाँ, चिनियाँलाई ९ अमेरिकी डलर र अन्य देशका नागरिकका लागि १३ डलर लिने गरेको छ । सार्क देशका नागरिकले दुईतर्फी यात्रा गर्दा १ हजार १ सय २० रुपैयाँ, चिनियाँले १५ डलर र अन्यले २२ डलर तिर्नुपर्छ । हिल्सले सञ्चालन गर्दै आइरहेको परियोजनाबारे उजुरी परेको यो पहिलो पटक होइन ।


यसअघि पनि २०७३ मंसिरमा उपभोक्ता हितविपरीत बढी मूल्य लिएको र सर्वसाधारणको पहुँचभन्दा पर सेवा सुविधा रहेको भनी उजुरी परेको थियो । त्यतिबेला व्यवस्थापिका संसद्, आपूर्ति र उपभोक्ता हित समितिका संयोजक सांसद सुभाषचन्द्र शाह ठकुरीको नेतृत्वमा अनुगमन भएको थियो । २०७३ पुसमा जिल्ला वन कार्यालयले अनुगमन गरेको थियो ।


कार्यालयले हिल्सले लिएको ३६ हेक्टरमध्ये के–कति क्षेत्रमा भौतिक संरचना निर्माण गरेको छ, सोको यकिन गर्न अनुगमन गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार हिल्सले ५.८६ हेक्टरमा मात्र संरचना बनाउन पाउँछ । अहिले हिल्सले भ्यु टावर, मन्दिर, बाटो, रिसोर्ट, चिल्ड्रेन पार्कलगायत संरचना बनाएको छ ।


चन्द्रागिरि हिल्सका प्रशासकीय अधिकृत झलक पौडेलले शुल्कअनुसार सेवा सुविधा पनि राम्रो दिएको बताए । ‘पर्यटक बिरामी भएमा निःशुल्क स्वास्थ्य उपचार, बिमाको व्यवस्थ छ । पार्किङदेखि ज्यूज्यानको सुरक्षाका लागि प्रहरी खटाएका छौं,’ उनले भने, ‘पर्याप्त शौचालय र सरसफाइमा राम्रो ध्यान दिएका छौं ।’


केबुलकारमा ३ फिटभन्दा मुनिका बालबालिकालाई निःशुल्क व्यवस्था गरेको उनले बताए । ‘३ देखि ४ फिटसम्मको बालबालिकाका लागि ४० प्रतिशत छुट, शारीरिक अशक्तता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिएका छौं,’ उनले भने, ‘६० वर्षभन्दा माथिका वृद्धवृद्धा, विद्यार्थी, स्थानीय र प्रवासीका लागि २५/२५ प्रतिशत छुटको व्यवस्था गरेका छौं ।’


हिल्समा खुला खानेकुरा लैजान निषेध गरिएको छ । अवलोकनकर्ताले त्यहाँका रेस्टुरेन्टमा भर पर्नुपर्छ । अवलोकर्ताको हितकै लागि यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ‘केही गरी खुला खानेकुरा खाएर बिरामी परेमा हिल्सलाई दोष आउने भएकाले बाहिरका खानेकुरा निषेध गरिएको’ जनाइएको छ ।


डाँडामा भालेश्वर महादेवको ऐतिहासिक शिला छ । यहाँ थानकोटवासी, मकवानपुरको चखेल र चित्लाङवासीको फागुपूर्णिमामा भव्य मेला लाग्छ । अहिले मन्दिरमा एक पटक कपुर आरती गराउन ५ सय, पञ्चामृत पूजा गरेमा १०१ सय र रुद्राभिषेक पूजा गराएमा २ हजार १ सय रुपैयाँ लाग्ने पुजारी विदुर न्यौपानेले बताए ।


यहाँबाट सगरमाथा, धौलागिरिलगायत हिमशृंखला देख्न सकिन्छ । काठमाडौं सहर, मकवानपुरको चखेल, चित्लाङ एकै पटक देख्न सकिन्छ । वित्तीय, भौतिक र प्राविधिक अनुगमनका क्रममा भौतिक संरचना भने राम्रो बनाएको पाइएको विभागले जनाएको छ । केबुलकारमा यात्रु चढाउनुअघि दैनिक ‘टेस्ट रन’ गर्ने गरेको हिल्सका प्रशासकीय अधिकृत पौडेलले बताए । ‘प्रत्येक साता मर्मत गर्ने गरेका छौं,’ उनले भने । हिल्सका अनुसार यहाँ दैनिक औसतमा १२ सयदेखि १५ सय जना पर्यटक आउने गरेका छन् ।


प्रकाशित : कार्तिक १७, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?