कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

उपनिर्वाचनमा कांग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : देउवा

रासस

चितवन — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् ।

उपनिर्वाचनमा कांग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : देउवा

कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।


प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने, 'उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।'


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र कांग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारबाही गरिने चेतावनी दिए । अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा कांग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको उनले बताए ।


स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनले संघ र प्रदेशमा हुने निर्वाचनका लागि आइतबार साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने बताए । जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उनको जिकिर थियो ।


कांग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै सभापति देउवाले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गरे । भ्रातृ संगठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक १७, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?