कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोशीमा बस खस्यो, तीन महिने शिशुसहित १७ जनाको मृत्यु, ५२ घाइते

१४ को सनाखत, अझै केही हराएको अनुमान

काठमाडौं,काभ्रे,सुकुटे,सिन्धुपाल्चोक, — दोलखाको शैलुङ गाउँपालिका बागखोरबाट काठमाडौंका लागि छुटेको यात्रु बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोशी नदीमा खस्दा तीन महिने शिशुसहित १७ जनाको बढीको मृत्यु भएको छ । कम्तिमा ५२ जना घाइते भएका छन् भने केही हराइरहेका अनुमान छ । 

सुनकोशीमा बस खस्यो, तीन महिने शिशुसहित १७ जनाको मृत्यु, ५२ घाइते

अधिकांस घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बा २ ख ७२४५ नम्बरको उक्त बस सडकबाट करिब ७० फिट तल नदीमा खसेको थियो । स्थानीय उद्धारकर्मी रमेश खड्काका अनुसार यात्रुहरुलाई डुबेको, बगाइरहेको र थिचिएको अवस्थामा उद्धार गरिएको थियो । घटनास्थलमा ५ जना र बगाउँदै गरेको अवस्थामा नदीको विभिन्न स्थानबाट १० जनाको शव निकालिएको छ ।


बसमा कम्तिमा ७० जना यात्रु रहेको अनुमान छ । उद्धारका लागि सेना, प्रहरी र सर्वसाधारणले स्थानीय रिसोर्टका बोटहरुको प्रयोग गरेका थिए । बस के कारणले दुर्घटना भयो यकिन भएको छैन । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले घाइतेलाई उदृत गर्दै भने, ‘बस अनियन्त्रित भएको र दुर्घटना हुनु अघि ख्याट्–ख्याट् आवाज आएको थियो । थप अनुसन्धान भइरहेको छ,’ उनले भने । बसको पांग्रामाथि र सिटहरु तल परेकाले यात्रुहरु धेरै पानीमा डुबेको अनुमान प्रहरीको छ ।


डीएसपी काफ्लेका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत, ३ की वर्ष ३२ की निर्मला खड्का, ६ की वर्ष ७० की उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन् । तीन जनाको भने सनाखत हुन सेकेको छैन ।


स्थानीय खाडिचौर स्थित सदाबहार अस्पतालमा २ जना घाइते लगेकोमा उपचारका क्रममा बालिका साइरानीको मृत्यु भएको थियो । उपचारका लागि धुलिखेल अस्पताल लगिएका ५० जना घाइते मध्ये चेतकुमारीको मृत्यु भएको हो ।


काभ्रे प्रहरीका अनुसार उक्त अस्पतालका ४९ जना घाइते मध्ये २ जनालाई डिस्चार्ज गरिएको छ भने ६६ वर्षीय गोमा श्रेष्ठ र अन्दाजी ३५ वर्षीय एक महिलालाई थप उपचारको लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।

यसैगरी सिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा ३ जना लगेकोमा बालिका सलिनाको मृत्यु भएको हो । दुई जनाको उपचार भइरहेको छ । उनीहरु दम्पत्ति हुन् । प्रहरीका अनुसार खाडिचौरमा उपचार गराएका बस चालकलाई राजधानीतिर गरिएको छ । बसलाई नदीबाट निकालिएको छ ।


इलाका प्रहरी कार्यालय मागदेउरालीका प्रहरी नायब निरीक्षक जयप्रकाश पाण्डेका अनुसार बागखोर बसपार्कबाट बिहान ९ बजे छुटेको उक्त बसको लामोसाँघु–जिरी सडकको मुडे भन्ने स्थानमा पत्ता भाँचिएको थियो । भाँचिएको पाता मर्मत गरेर उक्त बस राजधानीतर्फ गएको थियो । बस छुटेको स्थान शैलुङ मुडेबाट दक्षिण करिब १० किमिको दुरीमा रहेको छ ।


उक्त बसमा अधिकांश शैलुङ– ३, ४ र ५ नम्बर वडा अन्तर्गतका काटाकुटी, बागखोर र देउराली गाउँका बासिन्दा सवार थिए । शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालका अनुसार वडा नम्बर ५ काटाकुटीका मात्र ७ जानको मृत्यु भएको छ ।


तिहारका लागि गाउँ गएकाहरु काठमाडौं फर्कने क्रममा बसमा यात्रुको खचाखच थियो । बसले ३४ सिटको टिकट काटेको भएपपछि त्यहाँबाट छुट्ने बेलामा कम्तिमा ४० जना यात्रु भएको अनुमान उनको छ । उक्त स्थानबाट दैनिक ९ र १० बजे २ वटा बस राजधानीका लागि छुट्ने गरेको छ । 'पहिलो बस भएकाले धेरैले यात्रा गरेका थिए' अध्यक्ष दुलालले भने । गाउँका केही मान्छे अझै सम्पर्क बाहिर रहेको अनुमान उनको छ । शैलुङ पर्यटकीय स्थल भएकाले घुम्न आउने मान्छेपनि हुन सक्ने उनले अनुमान गरे ।

प्रकाशित : कार्तिक १७, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?