२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उपनिर्वाचन कांग्रेस एकताको परीक्षा : देउवा

प्रमिता ढकाल

(भरतपुर) — कांग्रेस सभापति शेरबहादुर देउवाले अबको उपनिर्वाचनमा कांग्रेसका सबै उमेदवारको विजय भए पार्टीको आन्तरिक कहल अन्त्य हुने दाबी गरेका छन् ।

उपनिर्वाचन कांग्रेस एकताको परीक्षा : देउवा

भरतपुरमा आइतबार बिहान पार्टीका कार्यकर्तासँगको छलफलमा उनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन कांग्रेसको एकताको परीक्षा भएको बताए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका समयमा पार्टीभित्रको मतभेदका कारण थिलिएको कांग्रेसलाई पुनः जगाउन उपनिर्वाचन महत्वपूर्ण रहने उनको भनाइ छ । ‘अरु दुई पार्टी मिलेर एक भएका थिए हाम्रो एउटै पार्टी दुइटा देखिएको जगजाहेर छ,’ उनले भने ,‘यो उपनिर्वाचनको नतिजा हाम्रो एकताको परीक्षा बन्नेछ ।’


कांग्रेसभित्र गुट-उपगुटको अन्त्य गर्न आफ्ना उमेदवारलाई जिताउनुपर्ने उनले औंल्याए । स्थानीय तहहरुमा हुने उपनिर्वाचनका लागि कांग्रेसले जिल्लाबाट उम्मेदवार तोकिसकेको छ । संघ र प्रदेशमा हुने निर्वाचनका लागि आइतबार साँझ बस्ने केन्द्रीय समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय नेतालाई छान्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । सहमतिमा चुनिएका उम्मेदवारलाई नै उपनिर्वाचनमा उठाइने पार्टी सभापति देउवाको दाबी छ ।


पार्टीका भ्रातृसंगठनहरुको विवादलाई समेत सम्बोधन गर्ने गरी केन्द्रीय समितिको बैठकबाट निर्णय आउने देउवाले दाबी गरेका छन् । ‘पार्टीलाई बलियो बनाउने बेला आफैंबीचका विवादमा अल्झिएर समय खेर फाल्नु हुन्न,’ देउवाले भने,‘अब केन्द्रीय समिति बैठकले सबै निर्णय गरी साम्य गर्नेछ ।’ केन्द्रीय समिति निर्णय नमान्नेलाई कारबाही हुने उनले चेतावनी दिए ।


चितवनका ३ वटा वडामा उपनिर्वाचन हुँदैछ । भरतपुर महानगर- १६, खैरहनी नगरपालिकाको ४ र ५ नम्बर वडामा अध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : कार्तिक १७, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?